एजेन्सी ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार यस ट्रान्सफर विन्डोमा कुनै हालतमा बार्सिलोना नजाने उनको नजिकका साथी वाग्नर रिबिएरोले बताएका छन् ।
नेयमारको ट्रान्सफरमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएका वाग्नरले नेयमार भविष्यमा बालोन डी’ओरको दाबेदार समेत रहेको बताए । वर्तमान अवस्थामा बार्सिलोनाले नेयमारमाथि इच्छा देखेको बारेमा भने रिबिएरोले खुलेर अवस्था बयान गरे । उनले नेयमार बार्सिलोना जाने अवस्था सम्भव नरहेको तर बार्सिलोना कप्तान लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो नै पीएसजी आउन सक्ने बताए ।
बार्सिलोनाले गत वर्ष नै नेयमारलाई क्याम्प नोउमा फिर्ता लाग्न चाहेको थियो । त्यसबेला नेयमारले पनि सोहि इच्छा व्यक्त गरेका थिए । तर दुई क्लबबीच सहमति हुन नसक्दा ट्रान्सफर सम्भव हुन सकेन । पछिल्लो समय भने नेयमारले पीएसजीमै रहने बताउँदै आएका छन् । अझ कोरोना भाइरसका कारण आर्थिक मन्दीले मोटो रकमको ट्रान्सफर हुने सम्भावना देखिदैन ।
बार्सिलोनाका कप्तान मेस्सीले भने क्लबसँग एक वर्ष सम्झौता बाँकी रहँदा नयाँ सम्झौताबारे छलफल बिचमै रोएका छन् । यसले गर्दा उनको भविष्यबारे प्रश्न उठेको छ । एकतर्फ क्लबले मेस्सी बार्सिलोनामै रहने बताउँदा मेस्सी भने मौन रहेका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको आगमनपछि भने मेस्सीले केहि बोलेका छैनन् ।
यता युभेन्टसले पनि नयाँ प्रशिक्षक ल्याएपछि नयाँ स्वरूपमा क्लबलाई अगाडि बढाउन खोजेको बुझिएको छ । यसका लागि प्रशिक्षक आन्द्रीए पिर्लोले मोटो तलब बुझ्ने खेलाडीलाई बिदा गर्न खोजेका छन् । युभेन्टस आफैंले पनि युरोपका ठूला क्लबलाई रोनाल्डोको प्रस्ताव गरेको चर्चा चलेको थियो ।
रिबिएरोको अनुसार नेयमार कम्तिमा दुई वर्ष अझै पीएसजीमा नै रहनेछन् । ‘नेयमार खुसी छन् । उनी कम्तिमा दुई वर्ष पीएसजीमै रहनेछन्,’ उनले भने, ‘अहिलेको अवस्थामा म ढुक्क भएर भन्छुकी नेयमार बार्सिलोना जानुभन्दा मेस्सी पीएसजी आउन सहज छ । मेस्सी मात्र होइन, रोनाल्डो पनि । म गम्भीर रुपमा भनिरहेको छु, कतारको आर्थिक शक्तिमा प्रश्न गर्ने ठाउँ छैन ।’
नेयमारले एक समय पीएसजी छाड्ने मनसाय नै बनाएपनि अहिले भने स्थिति फेरिएको रिबिएरोले बताए । ‘ एक समय थियो जब चोटका कारण नेयमार आजित भएका थिए । त्यसबेला उनले क्लब छाड्ने र रियल म्याड्रिड वा बार्सिलोना जाने भन्ने समेत सोचेका थिए । तर अहिले त्यस्तो अवस्था छैन । उनको खुसी देखेर पनि यो भन्न सकिन्छ,’ रिबिएरोले भने ।
रिबिएरोका अनुसार नेयमार वर्तमान अवस्थामा मेस्सी र रोनाल्डोभन्दा पनि माथि छन् । ‘आजको दिनमा नेयमार रोनाल्डो र मेस्सीभन्दा माथि छन् । शारीरिक रुपमा पनि र प्राविधिक पक्षमा पनि । अबको दिनमा व्यक्तिगत उपाधिका लागि नेयमार, एमबाप्पे र लेवान्डोस्की प्रतिस्पर्धामा हुनेछन्,’ उनले भने ।
पीएसजीले इतिहासकै पहिलो पटक आइतबार हुने च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखको सामना गर्दैछ । पीएसजीको च्याम्पियन्स लिग सम्भावनाबारे पनि रिबिएरोले आफ्नो अभिव्यक्ति दिए । ‘ च्याम्पियन्स लिग फाइनलले नै विश्वको उत्कृष्ट टोली कुन भन्ने थाहा हुन्छ । फाइनल निकै कठिन हुनेछ । बायर्नले पनि राम्रो फुटबल खेलिरहेको छ,’ उनले थपे ।