भारतमा आयोजित धार्मिक सभामा भागदौड, मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो – Janadesh Daily | ePaper

भारतमा आयोजित धार्मिक सभामा भागदौड, मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो


उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या १२१ पुगेको छ ।

प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा २ लाख ५० हजारभन्दा बढी धर्मावलम्बीले भाग लिएका समय एक्कासि भागदौड हुँदा ठूलो सङ्ख्यामा हताहत भएको थियो ।

घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र हराएका जुत्ता राजमार्गको छेउमा रहेको खुला मैदानमा छरिएका भेटिएको थियो ।

अधिकारीहरूका अनुसार उपासकहरूले प्रचारकको पाइलाबाट माटो सङ्कलन गर्ने प्रयास गर्दा भागदौड सुरु भएको बताएका छन् भने कतिपयले धुलोको आँधी आउँदा मानिसहरूबीच भागदौड मच्चिएको बताएका छन् ।

‘महिला र बालबालिकासहित सम्पूर्ण भीड एकैचोटि कार्यक्रम स्थलबाट निस्किए । सभामा पर्याप्त ठाउँ थिएन र मानिसहरू एकअर्कामाथि थिचिएका थिए,’ सुरक्षा सेवामा खटिएका प्रहरी अधिकारी शीला मौर्यले भने ।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को ढलेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो । मृत्यु हुनेमा सात बालबालिका, एक पुरुष र बाँकी सबै महिला रहेका छन् ।

उत्तर प्रदेशको राज्य विपद् व्यवस्थापन केन्द्र, राहत आयुक्तको कार्यालयले बुधबार बिहान मृतकको सूची जारी गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्