आध्यात्मिक संस्कारमा महिला स्वतन्त्रता – Janadesh Daily | ePaper

आध्यात्मिक संस्कारमा महिला स्वतन्त्रता


नेपालमा हरितालिका तीज र पञ्चमी पर्व लिच्छविकालदेखि नै चलेको कुरा विद्वान बताउँछन् । समयानुसार यसमा मनाइने विधि विधान तथा शैली र मान्यता फरक हुँदै आए तापनि यसभित्र लुकेको तात्विक गुण जीवितै रहेको विश्वास गरिन्छ । ठाउँअनुसार यसमा केही तलमाथि भए तापनि यो व्रत भगवान शिव–पार्वतीसँग गाँसिएको छ ।

नेपाली जनजीवनमा चाडपर्वको ठूलो भूमिका छ । यी चाडपर्वमध्ये कुनै नारीका पर्व छन् । कुनै पर्व नारी–पुरुष दुवैले मान्नु पर्ने पनि छन् । त्यसमध्ये प्रत्येक वर्ष भाद्र शुल्क तृतीयाका दिन मनाइने तीज स्त्रीजातिका लागि महत्वपूर्ण चाड मानिन्छ ।

धार्मिक तथा संस्कृति दृष्टिले पनि नित्यकर्म सकेर निराहार भई शिवजीको आराधना गर्नाले जन्म जन्मान्तरको पाप नाश हुने, भाग्यको बृद्धि, सन्तानको कल्याणका साथै इहलोकदेखि परलोकसम्म कल्याणकारी मानिने यो पर्व सामाजिक सन्दर्भका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ ।

अतः हरितालिका पर्व नेपाली नारीहरुको अत्यन्त ठूलो पर्व हो । तीजको अधिल्लो दिनलाई दरखाने दिनले चिनिन्छ । जसमा मीठा–मीठा तागतदार दरिलो र गर्विलो भोजन तयार गरेर खाइन्छ । मूलतः विवाह गरेर माइति घर छोडेर आफ्नो घरमा पठाएका चेलीलाई दाजुभाइ वा बुबाले छोरीका सासुससुरासँग अनुमति मागी लिनजाने चलन रहेको छ ।

त्यसरी ल्याइएको छोरी चलीहरुलाई माइती घरमा छोरीचेलीलाई बडो सत्कार तथा सम्मानसाथ खुवाएर भोलिपल्टको हरितालिका तीजको निराहार व्रत बस्न आवश्यक शक्ति आर्जन गर्न सक्ने वातावरण बनाउने गर्दछन् । दर केवल तीजको दर खाने दिनमा मात्र माइतीले छोरीचेलीलाई दूधबाट बनेका स्वादिष्ट परिकार खुवाउने हँुदा यसको पौराणिक महत्व रहेको छ ।

यसर्थ तीजको अगिल्लो दिन दरखाने चलन रहेको छ । यो भनेको व्रत बस्नको लागि दरिलो तथा स्वदिलो खाद्यवस्तु समावेश भएका विभिन्न प्रकारका खाद्यान्नका परिकार खाएको खण्डमा व्रत वस्न सक्ने हुन्छन् ।

यसमा खासगरी दूधबाट बनेका परिकार खीर, ढकने, सेल रोटी, दूध, दही र घीउसँग मुछेर भात खाने, स्थानीय उत्पादित अर्गानिक आलुको कवाफ र झुरुमझुरुम बनाई साँझमा छोरी चेलीसँगै बसेर स्वादले खाने, केही घण्टा सुतेर १२ बजे आसपासमा राति खीर वा ढकनेसँग आलुको कवाफ खाएर सुत्ने सनातनदेखिको चलनलाई दर खाने भनिन्छ ।

आजकाल यो दरखाने दिनको समय बढेर तीज आउनुभन्दा १५/२० दिन अगाडि दिनदेखि चेलीबेटीहरु एवं आफन्तलाई डाकेर ख्याउने प्रचलन काठमाडौंमा बढि देखिएको थियो । तर, यो साल भने कोरोनाको कहरले गर्दा यो पर्वलाई बिथोलि दिएको छ ।

यसै समयमा आएर सरकारले सात दिनको लागि बन्दाबन्दी भएको हुँदा आ–आफ्नै घर–घरमा बसेर यो पर्व मनाउनु पर्ने अवस्था रहेको छ । महिलाको लागि यो पर्व ज्यादै कठिन मानिन्छ । यस पर्वका दिन बिहान महादेवको पूजाआजा गरी नजिकको शिव मन्दिरमा गएर पूजाअर्चना गरेर सम्पन्न गरिन्छ ।

यस दिनमा प्रत्येक विवाहित, नारीले आआफ्नो पुरुषको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछन् भने अविवाहित स्त्रीले राम्रो पति पाइयोस् भन्ने कामनाका साथ यो व्रत बस्ने गर्दछन् । सकेमा त पुरुषहरुले पनि यो व्रत बस्न नहुने त होइन । यसबाट धार्मिक तथा शाररिक स्वास्थ्यको लागि पनि लाभदायक नै हुन्छ ।

शास्त्रीय विधानअनुसार तीज पर्वका दिनमा नारीले पानीसमेत नखाई उपवास बस्छन् । यस दिन कुनै नारीले पानी खाएमा उसले आफ्नो पतिको रगत पिएको बराबर पाप लाग्छ भन्ने कुरा धार्मिक ग्रन्थमा उल्लेख रहेको किवंदन्तीे रहेको पाइन्छ ।

तसर्थ उक्त अवसरमा पानीसमेत नखाई उपवास बस्ने प्रचलन छ । प्राचीन समयमा पार्वतीले शिव वर पाऊँ’ भनी तीजको व्रत गरेको हुनाले नै पार्वतीले शिव वर पाएकी हुन भन्ने धार्मिक शास्त्रमा उल्लेख छ ।

तर आजकाल विवाहपूर्वका कन्याकेटीहरु समेत हरितालिक व्रत बस्छन्, किनकि पार्वतीले शिव वर पाएजस्तै आफूले पनि चिताएको वर या राम्रो सुयोग्य वरको कामनाका साथ उपवास बस्ने प्रचलन छ ।

विवाह गरेर आफ्नो घरमा गएको चेलीहरुले घरमा सबैको बुहातन, अपमान सहनुपथ्यो । यो क्रम अहिले पूरै सकिएको छ भन्न सकिन्न । यस्ता किसिमका विगतका तीता मनको दुःख पीडालाई पोख्ने माध्यम यस अवसरमा मिल्दछ ।

यस पर्वमा महिलाले आफ्नो जन्मघर छोडी कर्मघर जाँदा, बस्दा भोग्नुपरेका दुःख वेदनालाई लयात्मक ढंगबाट गीतको माध्यामबाट व्यक्त गरी रमाइलो गर्ने गर्दछन् । नारीलाई आफ्नो माइती प्रतिको माया, मोह र स्नेह ज्यादैनै गहिरो रहेको छ भन्ने कुरा पनि यस पर्वबाट स्पष्ट हुन्छ ।

आफ्नो माइती घरमा संगै खेलेर बसेका संगिनीसँग भेटधाट गरी विगतका मीठा–नमीठा भोगाइलाई गीतको रुपमा व्यक्त गर्दछन् । धेरैदिन सम्म छुटिृएर रहेका साथी–सँगिनी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीको मिलन हुने दिन हो तीज ।

अनि राम्रो मीठो खाने र वर्ष दिनको मनको बह पोख्ने दिन पनि हो । त्यर्सैले यो दिनलाई नारीको दुःख पोख्ने दिनको रुपमा चिनिन्छ । समग्रमा भन्नुपर्दा प्राचीनकालमा यो पर्व धार्मिक एवं सांस्कृतिक रुपमा विकसित थियो भने हाल आएर तारे होटल अरुमा तीजको दर खुवाउने र सुनको गहना प्रदर्शनको रुपमा विकसित हुन थालेको देखिन्छ ।

देश, विदेश जहाँ भए पनि समग्रमा नेपालीहरु कै प्रिय पर्र्व तीज हो । यसमा सम्पूर्ण नारीहरुले आआफ्नो शास्त्रीय विधानअनुरुप लागि परि यो पर्व मनाउने गर्दछन् । यसरी परम्परागत रुपमा चल्दै आएको हाम्रो धार्मिक पर्व तीज जसलाई आगामी भावी पुस्ताहरुमा समेत जगेर्ना तथा सम्वद्र्धन गर्नुपर्ने आजको टड्कारो आवश्यकता देखिन्छ ।

जुन किसिमले यो व्रतको उदेश्य अनुरुप विपरित दिशातर्फ जान थालेको देखिन्छ । यस्था किसिमका धार्मिक तथा साँस्कृतिक पर्वहरुलाई सहि रुपमा नभएर विकृतिको बाटोतिर लम्कीन थालेको आभाष आउँछ । यस्ता किसिमका विकृतिहरुलाई जरैदेखि हटाउनु सचेत समाजको लागि अति आवश्यक भइसकेको छ ।

तर यो नेपाली ग्रामीण जीवनका नारीहरुको जीवनकथाको सिंगो अभिव्यक्ति नै यसले बोकेको छ । अतः धेरै पहिलाको पुरानो समाजमा छोरीहरूलाई सानै उमेरमा विवाह गरेर टाढा दिने गर्दथे । उनीहरूलाई माइत जाने अहिलेको जस्तो यातायातको सुविधा थिएन ।

पितृसत्तात्मक संस्कारअनुसार उनीहरूका कलिला हात घाँस, दाउरा, पँधेरो, चुलोचौको गरेर सासू–ससुरा र श्रीमान् खुशी पार्नमै व्यस्त हुन्थे । त्यतिखेर आजकालजस्तो दिनभरि स्वतन्त्र भएर हिँड्न महिलाहरूले तीज, दशैं, तिहारजस्ता चाडबाड नै कुर्नुपथ्र्यो । अहिले हाम्रो समाजमा धेरै परिवर्तन भइसकेको छ ।

संसारसँग क्षणभरमै जोडिन सकिन्छ । यति ठूलो परिवर्तन भइसक्दा पनि हाम्रो पुरानो संस्कृतिमा कुनै परिवर्तन हुन सकेको छैन । यस्तो आधुनिक समाजमा भेटघाट र खानपानका लागि त्यस्ता अवसर कुरिरहनुपर्ने कुनै बाध्यता छैन । एक वर्षमा ३ सय ६४ दिन श्रीमानको कुटाइको पीडा बोकेर बस्ने श्रीमतीले एक दिन त्यही श्रीमानको आयु लामो होस् भनेर व्रत बस्ने भ्रमबाट महिला कहिले मुक्त हुने ?

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्