नयाँ गठबन्धन विश्वास गर्न लायकको छैन, प्रधानमन्त्रीलाई साथ दिन्छौँ : परियार – Janadesh Daily | ePaper

नयाँ गठबन्धन विश्वास गर्न लायकको छैन, प्रधानमन्त्रीलाई साथ दिन्छौँ : परियार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले तत्कालका लागि सरकारबाट नबाहिरिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो विश्वासको मत लिन सुझाव दिएको पनि उनले बताए ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल पश्चात् उनले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्ने कुरालाई सकारात्मक रूपमा लिएको भन्दै विश्वासको मत लिने समयसम्म साथ दिने बताए ।

उनले भने, ‘जस्तो अवस्थामा अर्को गठबन्धन बनाइएको छ त्यो खासै विश्वास गर्न लायकको छैन । अहिले लोकतान्त्रिक विधि र पद्धतिमा संसदीय व्यवस्थालाई सम्मान गर्ने हो । अहिले जे अवस्था बनेको छ, त्यसमा राजीनामा दिने निर्णय नै हो । तर हिजोको साझेदारी मात्र होइन धेरै मुद्दा एकै ठाउँमा थियौँ । प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्छु भन्दा हामीले त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ र यो काममा धेरै ढिला गर्नु हुँदैन । त्यति बेलासम्म हामी तपाईँलाई साथ दिन्छौ भनेर भनेका छौँ ।’

प्रधानमन्त्रीले संसदलाई फेस गरेर जवाफ दिने समयसम्म साथ आवश्यक रहेको जनाएपछि छिटोभन्दा छिटो संसद् फेस गर्न आफूहरूले सुझाव दिएको उनले बताए ।

उनले भने, ‘राजनीतिक घटनाक्रम जसरी बढेको छ त्यसमा मैले आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु । संसदलाई फेस गर्छु । किनभने मैले संसदलाई जवाफ दिनुपर्छ । त्यो समयमा मलाई तपाईँहरूले साथ दिनुपर्छ भने प्रधानमन्त्रीज्यूले भन्नुभयो । जतिसक्दो छिटो संसदलाई फेस गर्ने काम मिलाउनु होला भन्यौँ । यसबारेमा पार्टीमा आन्तरिक छलफल गर्छौ र जानकारी दिन्छौ भनेर हामी निस्किएका हौँ ।’

उनीहरू रास्वपाको तर्फबाट सरकारमा भाग लिएका मन्त्रीहरूको राजीनामा दिन भनेर प्रधानमन्त्री निवास पुगेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्