✍️प्रेम प्रकाश कलौनी:
बिर्से भाषण घोषणा कबुल ती लिस्नो दिने सज्जन
चुस्नै व्यस्त रहे जुकासरि सदा पाएर आस्वादन ।।
चाँडै जीवन फेरिएछ सुनले छर्की बसे अत्तर
वर्षाले जनता बसेर रुखमा हेर्छन् डुबेका घर ।।१
पोस्दै मीत, भिना, जमाइ, ससुरा सारा भए जब्बर
हाल्ने स्वस्तिक छाप मात्र जनता रोई रहे धर्धर ।।
भन्थे देश मुहार फेर्छु जसले फेरे स्वयंका घर
बाढीले छ विपत्ति हेर जनता साह्रै छ चिन्ता डर।।२
घुम्ने मेच समीप मिल्छ सब लौ खाने कुराको सुख
बुझ्दैनन् तब यो महाविपतमा निर्धाहरूका दुख ।
निर्धाकै करमा सदैव घुसुणी खाएर खेल्छन् तिनी
छानाकै रुपियाँ उठाइ फुरुणी गर्छन् सुसेल्छन् तिनी ।।३
अड्डामा पनि छैन न्याय अहिले हुन्छन् हकार्नेहरू
त्यस्तै छन् सब ठाउँमा गरिपको खाई डकार्नेहरू ।
बाँड्छन् शासन भिन्नभिन्न दलमा आलो र पालो गरी
बाँडेका सपनाहरू भुलिरहे कालो अँध्यारो छरी ।।४
चाहे ती सुखमा रहून् कि जनता चाहे मरून् भीरमा
चाहे रोग र भोकमा रुमलिऊन् चाहे रहून् पीरमा ।
नेता मोज र भोजमा दिनदिनै भान्सा बनाई मिठो
भोका पेट अभावका विवश छन् काँचो चपाई गिठो ।।५
मिति स् २०७७/०४/२६ गते
#शिवनाथ,२ पौखर, बैतडी