राष्ट्रियसभाअध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत वोल्कले भेट – Janadesh Daily | ePaper

राष्ट्रियसभाअध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत वोल्कले भेट


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गरेकी छन् । नेपालका लागि अस्ट्रेलियाको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नु राजदूत वोल्कले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गरेकी हुन् ।

बिदाइ भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत वोल्कको प्रशंसा गरे । नेपाल र अस्ट्रेलियाबिच कूटनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमा पनि राम्रो सम्बन्ध रहेको चर्चा गर्दै अध्यक्ष दाहालले जनस्तरको सम्बन्धले दुई देशलाई सामाजिक, सांस्कृतिक तथा भावनात्मक रूपमा पनि नजिक बनाउने बताए ।

विगतमा दुई देशबिच संसदीय भ्रमण पनि भइसकेको स्मरण गराउँदै अध्यक्ष दाहालले संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशको संसदीय अभ्यास, प्रक्रिया र अनुभव आदान प्रदानमा सहयोग हुने बताए । नेपालको सङ्घीय संसद्ले नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको पनि अध्यक्ष दाहालले जानकारी दिए ।

राजनीतिक सङ्घर्ष र जनआन्दोलनको बलमा नेपालमा सङ्घीय गणतन्त्रात्मक शासन, समावेशी लोकतन्त्र स्थापना भएको चर्चा गर्दै अध्यक्ष दाहालले नेपालको सामाजिक, सांस्कृतिक परिवर्तन र जागरणमा अन्तर्राष्ट्रिय समुदायको सकारात्मक र महत्त्वपूर्ण सहयोग रहेको बताए । शान्ति प्रक्रियाका बाँकी कामहरू चाँडै टुङ्गोमा पुग्ने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको चर्चा भन्दै अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।

दुई देशबिच भएको व्यापार र लगानी सम्झौताका साथै विभिन्न माध्यमबाट अस्ट्रेलियन सरकारले गरेको आर्थिक सहायता नेपालका लागि महत्त्वपूर्ण रहेको चर्चा अध्यक्ष दाहालले आगामी दिनहरूमा अझ निकट रहेर आर्थिक तथा विकास सहायतामा वृद्धि हुने विश्वास व्यक्त गरे ।

सो भेटमा राजदूत वोल्कले नेपालमा रहँदा आफूले देशका धेरै ठाउँ पुगेको र यहाँको संस्कृति, जनजीवन नजिकबाट नियाल्ने अवसर पाएको बताइन् । राजदूतका रूपमा नरहे पनि नेपालमा रहँदाका अनुभव र न्यानो माया स्मरण गर्दै आफू सधैँ नेपालको सद्भावना दूतका रूपमा रहिरहने वोल्कले बताइन् ।

कोभिड, भूकम्प लगायतका विपद्का बेला एक आपसमा सहयोग गरेको स्मरण गर्दै उनले मानवीय सहायताका साथै विकास सहायताका रूपमा पनि अस्ट्रेलिया सधैँ नेपालको साथमा रहने बताइन् ।

लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको सङ्क्रमणकालीन न्यायको विषयमा राजनीतिक दलहरूबिच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको राजदूत वोल्कले बताइन् । सङ्क्रमणकालीन न्यायको विषय निकै संवेदनशील रहेको भन्दै राजदूत वोल्कले दलहरूबिचको सहमतिले अब चाँडै शान्ति प्रक्रियाको सबै काम टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरिन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्