जनादेश, काठमाण्डौं । नेपाल सुपर लिगमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले शुक्रबार गोलरहित बराबरी खेलेका छन् । दुवै टिमसामू यो खेल जितेर शीर्ष स्थानमा उक्लने अवसर थियो । तर त्यसमा दुवै टिम चुके ।
प्रतियोगिताको यो पहिलो गोलरहित बराबरी हो । दशरथ रंगशालामा भएको पहिलो खेल वर्षाले प्रभावित रह्यो । त्यसमा पोखराले काठमाडौंमाथि लगातार दबाब सिर्जना गरेको थियो । तर त्यो कुनै पनि निर्णायक सावित हुन सकेन् ।
दोस्रो हाफपछि भने काठमाडौंले खेलमा फर्कने प्रयास गरे पनि त्यो सटिक रहेन । प्रतियोगितामा अहिलेसम्म भएका खेलमध्ये प्राविधिक रूपमा कमजोर रह्यो । यसैक्रममा काठमाडौंका मेसुकी ओलुमो ८१ औं मिनेटमा गोलको राम्रो अवसरमा चुके ।
विपक्षी टिमका गोलरक्षक दीप कार्कीलाई बिट गरेर पनि गोल गर्न असफल रहे । यो खेलपछि दुवै टिमको समान चार अंक भएको छ । पोखरा तेस्रो र काठमाडौं चौथो स्थानमा रह्यो ।