कैलाली ।
कैलालीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । रमेशको हत्याको आशंकामा प्रहरीले श्रीमती अमृता चौधरीसहित चार जनालाई पक्राउ गरेको छ ।
आज बिहानै घरदेखि झण्डै ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताउनुभयो । अस्ति बेलुका साथीको घरमा जान भन्दै घरबाट निस्किएका उहाँ आज बिहान मृत भेटिनु भएको हो । प्रारम्भिक रुपमा मृतककी श्रीमती, उनको केटा साथी विष्णु चौधरीले घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक अधिकारले बताउनुभएको छ । अन्य दुईजनाको बारेमा भने घटनामा संलग्न रहे नरहेको अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार रमेशकी श्रीमती र स्थानीय विष्णु चौधरीबीच प्रेम सम्बन्ध थियो । त्यही विषयमा विवाद बढ्दै गएपछि प्रेमी विष्णुसँगै मिलेर श्रीमानको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । विष्णु पनि विवाहित हुन् । प्रहरीले पक्राउ गरेका अन्यको नाम भने खुलाइएको छैन । घटनाको विवरण आजै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।