कसरी रोक्न सकिन्छ चीन-अमेरिका युद्धः यस्तो छ हेनरी किसिन्जरले अघि सारेको कूटनीतिक समाधान – Janadesh Daily | ePaper

कसरी रोक्न सकिन्छ चीन-अमेरिका युद्धः यस्तो छ हेनरी किसिन्जरले अघि सारेको कूटनीतिक समाधान


जनादेश अन्तर्राष्ट्रिय वाच।

बेइजिङकाहरुले निष्कर्ष निकालिसके– अमेरिका चीनलाई दबाउन जेसुकै गर्न पनि तयार छ। वासिङ्टनकाहरु अडिग छन्– चीन अमेरिकालाई विस्थापित गरेर संसारको सबैभन्दा प्रमुख शक्ति बन्ने योजना बुनिरहेको छ। यी दुई मुलुकको बढ्दो दुश्मनी र त्यसबाट पैदा हुनसक्ने महाशक्तिहरुबीचको युद्धलाई रोक्ने योजनाका लागि म्यानहटनस्थित आर्ट डेको भवनको ३३ औँ तला अर्थात् हेनरी किसिन्जरको अफिसमा जाऔँ।


मे २७ मा किसिन्जर १०० वर्ष पुग्नेछन्। अन्तर्राष्ट्रिय मामिलामा उनीभन्दा धेरै अनुभव जीवित कसैसँग पनि छैन। सुरुमा उनी १९ औँ शताब्दीको कूटनीतिका जानकार थिए। पछि अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार अनि विदेशमन्त्री भए। र, पछिल्लो ४६ वर्ष उनी राजामहाराजा, राष्ट्रपति र प्रधानमन्त्रीहरुको सल्लाहकार र दूत रहँदै आएका छन्। किसिन्जर चिन्तित छन्। ‘अर्को पक्ष आफ्ना लागि रणनीतिक खतरा रहेकोमा दुवै पक्ष विश्वस्त छन्,’ अमेरिका–चीन प्रतिद्वन्द्विताबारे उनी भन्छन्, ‘हामी महाशक्ति मुलुकहरुको टक्करतिर गइरहेका छौँ।’

चीन र अमेरिकाबीचको प्रतिस्पर्धालाई युद्धमा परिणत हुनबाट कसरी रोक्ने? अप्रिलको अन्त्यमा दि इकोनोमिस्टले किसिन्जरसँग आठ घण्टाभन्दा लामो समय यही विषयमा कुरा गरेको थियो। आजभोलि किसिन्जर निकै कुप्रो परिसके। उनी मुस्किलले हिँड्छन्। तर, उनको दिमाग सियोजत्तिकै तीक्ष्ण छ। उनी आर्टिफिसियल इन्टेलिजेन्स र गठबन्धनको प्रकृतिका विषयमा आगामी दुई पुस्तकका बारेमा सोचविचार गरिरहेका छन्। यस्तो बेला उनी विगततिर फर्किनुभन्दा अगाडिको विषयमा सोच्न बढी इच्छुक छन्।

प्रविधि र आर्थिक श्रेष्ठताका लागि चीन र अमेरिकाबीच सघन हुँदै गएको प्रतिस्पर्धाबाट किसिन्जर चिन्तित छन्। यतिबेला रुस चीनको आश्रयमा गिरे पनि र पूर्वी युरोपमा युद्ध चलिरहे पनि उनको मुख्य चिन्ता एआईले चीन–अमेरिका द्वन्द्व बढाउने हो कि भन्नेमा छ। विश्वमा शक्तिसन्तुलन र युद्धकलाको प्राविधिक आधार तीव्र गतिमा फेरिइरहेको छ। थुप्रै मुलुकसँग त कुनै स्थिर सिद्धान्त पनि छैन, जसका आधारमा उनीहरु व्यवस्था स्थापित गर्न सकून्। त्यस्तो सिद्धान्त फेला नपरे उनीहरु बलप्रयोगमा भर पर्न सक्छन्।

‘हामी पहिलो विश्वयुद्धपूर्वको अवस्थामा छौँ,’ उनी भन्छन्, ‘जहाँ राजनीतिक सम्झौताका लागि कुनै पनि पक्षसँग ठाउँ छैन। जहाँ सन्तुलनमा अलिकति पनि व्यवधान आउनसाथ प्रलयकारी परिणाम देखिनसक्छ।’

युद्धको अध्ययन अझै जरुरी
किसिन्जरलाई थुप्रैले युद्धपिपासु भनेर गाली गर्छन्। भियतनाम युद्धमा उनको भूमिकालाई लिए। तर, उनी भने महाशक्ति मुलुकहरुबीचको युद्ध टार्नु आफ्नो जीवनभरको ध्येय रहेको बताउँछन्। नाजी जर्मनीले गरेको नरसंहार देखेपछि र आफ्नै नजिकका १३ नातेदारको हत्याको पीडा बेहोरेपछि उनी केमा विश्वस्त भए भने यस्ता सर्वनाशकारी द्वन्द्व रोक्ने एउटै उपाय भनेको यथार्थपरक कूटनीति नै हो। जसलाई साझा मूल्यले मजबुत तुल्याएको हुन्छ।

‘समाधान गर्नैपर्ने समस्या यो हो,’ उनी भन्छन्, ‘र मलाई विश्वास छ मैले आफ्नो जीवन यही समाधानको प्रयासमा बिताएँ।’

उनको नजरमा मानवताको भविष्य अमेरिका र चीन मिल्न सक्छन् कि सक्दैनन् भन्नेमा निर्भर छ। खासगरी एआईको तीव्र विकासले गर्दा यी दुई मुलुकसँग शान्तिको मार्ग खोज्न पाँचदेखि दस वर्ष मात्र रहेको उनको ठम्याइ छ।

नेता बन्न इच्छुकहरुलाई किसिन्जरको पहिलो सल्लाह छ– ‘आफू कहाँ छौ, निर्क्यौल गर। निर्ममतापूर्वक।’ त्यसैगरी, युद्ध टार्ने सुरुवाती विन्दु भनेको चीनको बढ्दो बेचैनीलाई विश्लेषण गर्नु हो। हुन त किसिन्जरको छवि चीन सरकारप्रति सम्झौतावादीका रुपमा स्थापित छ। तर, उनका अनुसार थुप्रै चिनियाँ विचारकहरु अमेरिका ओरालो लागेको र ‘ऐतिहासिक उद्विकासको फलस्वरुप उनीहरुले अन्ततः हामीलाई विस्थापित गर्नेछन्’ भन्नेमा विश्वस्त छन्।

उनका अनुसार पश्चिमा नीति निर्माताहरुले नियममा आधारित विश्व व्यवस्थाको नाममा अमेरिकी नियम र अमेरिकी व्यवस्था लाद्न खोज्दा चिनियाँ नेतृत्व क्रुद्ध हुन्छ। चीनले राम्रो व्यवहार गरेको बदलामा चीनलाई सुविधा दिने कृपालु प्रस्ताव पश्चिमले गर्दा चिनियाँ शासकहरु बेइज्जती महसुस गर्छन्। केही चिनियाँहरुको आशंका छ, अमेरिकाले उनीहरुलाई कहिल्यै पनि समान व्यवहार गर्ने छैन र गर्ला भनेर विश्वास गर्नु पनि मूर्खता हो।

तथापि, चीनका आकांक्षाहरुको गलत व्याख्या नगर्न पनि किसिन्जर चेताउँछन्। ‘वासिङ्टनकाहरु भन्छन्– चीन विश्वभर प्रभुत्व जमाउन चाहन्छ। तर, चीन शक्तिशाली हुन मात्रै चाहन्छ,’ उनी भन्छन्, ‘उनीहरु हिटलरजसरी विश्वमा प्रभुत्व जमाउन अघि बढेका छैनन्। विश्व व्यवस्थाका बारेमा उनीहरु त्यसरी सोच्दैनन्, न कहिल्यै त्यसरी सोचेका छन्।’

‘नाजी जर्मनीमा युद्ध अवश्यंभावी थियो। किनभने एडोल्फ हिटलरलाई युद्ध आवश्यक थियो,’ किसिन्जर भन्छन्, ‘तर चीन अलग छ।’

उनले माओ चेतुङदेखि थुप्रै चिनियाँ नेताहरुलाई भेटेका छन्। ती नेताको वैचारिक प्रतिबद्धतामा उनलाई कुनै सन्देह छैन। तर, त्यस्तो प्रतिबद्धता सधैँ आफ्नो मुलुकको हित र क्षमतासँग जोडिने गरेको उनको भनाइ छ।

किसिन्जरको नजरमा चिनियाँ व्यवस्था मार्क्सवादीभन्दा बढी कन्फ्युसियसवादी छ। जसले चिनियाँ नेताहरुलाई आफ्नो मुलुकको क्षमताले भ्याएसम्म शक्ति आर्जन गर्न र आफ्नो उपलब्धिबाट सम्मानित हुने प्रयास गर्न सिकाउँछ। अन्तर्राष्ट्रिय व्यवस्थामा आफ्नो हितको विषयमा अन्तिम निर्णायकका रुपमा आफूहरुलाई पहिचान गरियोस् भन्ने चिनियाँ नेताहरुको चाहना छ।

‘उनीहरुले सर्वोच्चता हासिल गरे भने के उनीहरु अरुमाथि चिनियाँ संस्कृति लाद्ने विन्दुसम्म पुग्लान् त?’ उनी सोध्छन्, ‘मलाई थाहा छैन। मेरो अन्तप्रज्ञाले भन्छ– पुग्दैनन्। तर, कूटनीति र शक्तिको संयोजनमार्फत त्यस्तो परिस्थिति आउन नदिने काम हाम्रो हो।’

चिनियाँ महत्वाकांक्षाले पैदा गरेको चुनौतीप्रति अमेरिकाको एउटा स्वाभाविक प्रतिक्रिया हो, त्यसको जाँच। दुई शक्तिबीच सन्तुलनलाई टिकाउने उपायको खोजी गर्न। अर्को तरिका हो, चीन र अमेरिकाबीच स्थायी संवाद स्थापना। ‘चीन विश्वव्यापी भूमिका निर्वाह गर्न खोजिरहेको छ। उसको रणनीतिक भूमिका उचित छ कि छैन भनेर हामीले प्रत्येक विन्दुमा परीक्षण गर्नुपर्छ। नभए शक्तिप्रयोगको प्रश्न उठ्नेछ,’ उनी भन्छन्, ‘एकअर्कासँग युद्धको खतराबेगर चीन र अमेरिकाको सहअस्तित्व सम्भव छ? मलाई लाग्छ, छ।’ तर, यसमा सफलताको ग्यारेन्टी नभएको उनको भनाइ छ। ‘यो असफल हुनसक्छ। त्यसैले त्यो असफलता झेल्न सक्नेगरी सैन्य हिसाबले हामी बलियो हुनुपर्छ।’

ताइवानको विषयमा चीन र अमेरिकाले कस्तो आचरण गर्छन्, तत्कालको परीक्षा यही हो। किसिन्जरले रिचर्ड निक्सनको १९७२ को पहिलो चीन भ्रमण स्मरण गरे। त्यतिबेला ताइवानबारे वार्ता गर्ने अधिकार माओलाई मात्र थियो। ‘निक्सनले जति पटक कुनै ठोस विषय अघि सारे, उति पटक माओले भने, ‘म दार्शनिक हुँ। यी विषयहरु म हेर्दिनँ। यसमा चाओ (एनलाइ) र किसिन्जरलाई छलफल गर्न दिऊँ।’…तर, जब ताइवानको कुरा उठ्यो, तब माओले एकदम स्पष्ट रुपमा बोले। उनले भने, ‘प्रतिक्रान्तिकारीहरुको झुण्ड हो त्यो। अहिले हामीलाई तिनको आवश्यकता छैन। हामी सय वर्ष पर्खिन सक्छौँ। कुनै दिन हामी उनीहरुलाई बोलाउनेछौँ। तर, त्यो समय निकै टाढा छ।’

निक्सन र माओबीच भएको त्यो सय वर्षको समझदारी केवल ५० वर्षपछि डोनाल्ड ट्रम्पले उल्ट्याइदिएको किसिन्जरको भनाइ छ। ट्रम्प व्यापारको विषयमा चीनलाई झुकाएर आफ्नो बलियो छवि निर्माण गर्न चाहन्थे। बाइडेन प्रशासनले पनि ट्रम्पकै नीति पछ्याएको छ तर, नरम बोलीका साथ।

ताइवान मामिलामा किसिन्जरले अमेरिकाले अपनाएको बाटो हिँड्ने थिएनन्। किनभने ताइवानमा युक्रेनको जस्तो युद्ध हुने हो भने सिंगै टापु ध्वस्त हुनेछ। त्यसले विश्व अर्थतन्त्र पनि धराशायी हुनेछ। युद्धले चीनलाई आन्तरिक रुपमा पनि कमजोर बनाउनसक्छ। चिनियाँ नेताहरुको सबैभन्दा ठूलो डर भनेकै घरमा उथलपुथल हो।

युद्धको डरले आशाका लागि ठाउँ सिर्जना गर्छ। तर, दुःखको कुरा, दुवै पक्ष पछि हट्ने ठाउँ छैन। प्रत्येक चिनियाँ नेताले ताइवान आफ्नै भएको दाबी गरेका छन्। अर्कोतिर, ‘घटनाक्रम जसरी अघि बढेको छ, त्यसले गर्दा अमेरिकालाई पनि अन्यत्र आफ्नो हैसियत नगुमाई ताइवानलाई परित्याग गर्न सहज छैन।’

यो गतिरोधबाट बाहिर निस्किने किसिन्जरको उपाय उनी मन्त्री छँदाको अनुभवमा आधारित छ। उनी यसको सुरुवात तनाव कम गरेर गर्ने थिए। त्यसपछि क्रमशः विश्वासको वातावरण र कमचलाउ सम्बन्ध निर्माण गर्थे। एकैपटक सबै गुनासो गर्नुको सट्टा अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीलाई भन्नेथिए, ‘राष्ट्रपतिज्यू, अहिले शान्तिका लागि दुई सबैभन्दा ठूला खतरा भनेको हामी दुई नै हौँ। यसहिसाबले हामीसँग समग्र मानवता नै ध्वस्त पार्ने क्षमता छ।’ चीन र अमेरिकाले बिनाकुनै औपचारिक घोषणा संयम अपनाउने लक्ष्य राख्ने थिए।

किसिन्जर कर्मचारीतन्त्रले नीति निर्माण गर्ने कुराको समर्थक कहिल्यै भएनन्। उनी एकअर्कासँग सहज पहुँच भएका सल्लाहकारहरुको सानो समूहले मिलेर चुपचाप काम गरेको मन पराउँछन्। ताइवानका विषयमा अमेरिका र चीन दुवैले आफ्नो अडान छाड्ने छैनन्। तर, अमेरिकाले आफ्नो फौज कसरी तैनाथ गर्ने भन्ने कुराको ख्याल गर्ने थियो र अमेरिका ताइवानको स्वतन्त्रतालाई समर्थन गर्छ भन्ने शंकालाई बढाउने काम गर्दैनथ्यो।

नेता हुन इच्छुकहरुलाई किसिन्जरको दोस्रो सल्लाह छ– ‘त्यस्ता उदेश्य बनाऊ जसले मानिसहरुलाई सहभागी गराउन सक्छ। ती उदेश्य पूरा गर्ने माध्यम पत्ता लगाऊ।’ महाशक्ति मुलुकका लागि साझा उदेश्य फेला पार्ने अनेकौँ क्षेत्रमध्ये एक हो ताइवान।

पछिल्लो एक वक्तव्यमा अमेरिकाकी ट्रेजरी सेक्रेटरी यानेट एलेनले जलवायु परिवर्तन र अर्थतन्त्र पनि त्यस्ता साझा क्षेत्र हुने सुझाएकी थिइन्। तर, यसप्रति किसिन्जर विश्वस्त छैनन्। उनी जलवायुका क्षेत्रमा सबथोक गर्नुपर्छ भन्छन्। तर, त्यसले दुई महाशक्तिबीच विश्वास सिर्जना गर्न र सन्तुलन कायम गर्न नसघाउने उनको भनाइ छ। अर्थतन्त्रका क्षेत्रमा भने व्यापारको एजेन्डालाई उग्र चीनविरोधीहरुले कब्जामा लिएका छन्, जो चीनलाई विकासका लागि अलिकति पनि ठाउँ दिन अनिच्छुक छन्।

यस्तो कि सबै मेरो कि सबै तेरो शैली दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि बाधक हो। यदि अमेरिका चीनसँग मिलेर बस्ने तरिका खोज्न चाहन्छ भने उसले सत्ता परिवर्तनको लक्ष्य राख्नु हुँदैन। ‘जुनसुकै स्थिरताको कूटनीतिमा पनि १९ औँ शताब्दीको विश्वको कुनै तत्व रहन आवश्यक छ,’ उनी भन्छन्, ‘र, १९ औँ शताब्दीको विश्व यही प्रस्तावनामा आधारित थियो कि आपसमा प्रतिस्पर्धा गरिरहेका मुलुकहरुको अस्तित्व बहसको विषय नै थिएन।’

चीन पराजित भयो भने लोकतान्त्रिक र शान्तिपूर्ण बन्छ भन्ने केही अमेरिकीको मान्यता छ। तर, चीन लोकतन्त्र बनिदेओस् भन्ने कामना गरे पनि किसिन्जर त्यसको कुनै सम्भावना देख्दैनन्। बरु, कम्युनिस्ट शासन ढल्यो भने चीनमा गृहयुद्ध हुने र त्यसले कठोर वैचारिक द्वन्द्वको रुप लिने तथा विश्वमै अस्थिरता बढाउने उनको भनाइ छ। ‘चीनलाई विध्वंसतिर लैजानु हाम्रो हितमा छैन,’ उनी भन्छन्।

त्यसको प्रयास गर्नुभन्दा चीनको पनि स्वार्थ छ भन्ने अमेरिकले स्वीकार्नु उचित हुन्छ। यसको राम्रो उदाहारण हो– युक्रेन।

चीनका राष्ट्रपति सी चिनफिङले युद्ध सुरु भएयता पहिलो पटक हालै युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई फोन गरे। थुप्रैले यो फोनलाई युरोपेलीहरुलाई सान्त्वना दिन सीले गरेको खोक्रो नाटक भने। तर, किसिन्जर भने यसलाई गम्भीर उदेश्यको घोषणाका रुपमा हेर्छन्। जसले युद्ध सेरोफेरोको कूटनीतिलाई अझ जटिल तुल्याउनेछ। यसले महाशक्ति मुलुकहरुबीच आपसी विश्वास निर्माण गर्ने अवसर पनि सिर्जना गर्न सक्ने उनी बताउँछन्।

युक्रेनको कुरा गर्दा किसिन्जर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भर्त्सना गर्दै आफ्नो विश्लेषण सुरु गर्छन्। ‘निश्चय नै यो पुटिनले निर्णयमा गरेको प्रलयकारी गल्ती हो,’ उनी भन्छन्। तर, दोषको भागिदार पश्चिम पनि हो। ‘युक्रेनलाई नेटोको सदस्यता दिने बाटो खुला राख्ने निर्णय गलत थियो,’ उनले थपे। यो अस्थिरताको कारक थियो। किनभने युक्रेनको प्रतिरक्षालाई कमजोर छाडेर नेटोले प्रतिरक्षा गर्ने बाचा गरेको थियो।

अबको जिम्मेवारी भनेको यो युद्ध अन्त्य गर्नु हो। त्यो पनि अर्को चरणको द्वन्द्वका लागि मञ्च तयार नगरी। त्यसका लागि रुसले २०१४ मा जितेकोमध्ये अधिकतम भूमि छाड्नुपर्ने किसिन्जर बताउँछन्। तर, यथार्थ के हो भने जस्तोसुकै अवस्थामा युद्धविराम भए पनि क्रिमियाको सोवास्तोपोल रुसले नै राख्ने निश्चित छ। रुसले आफ्नो उपलब्धिमध्ये केही त्यागेर गरिने यस्तो सम्झौताले रुस र युक्रेन दुवैलाई असन्तुष्ट तुल्याउन सक्छ।

उनको दृष्टिमा त्यो भविष्यको टकरावलाई निमन्त्रणा हो।

‘अहिले युरोपेलीहरुले जे भनिरहेका छन्, मेरो विचारमा त्यो अत्यन्त खतरनाक छ,’ उनी भन्छन्, ‘किनभने युरोपेलीहरु भन्दैछन्, ‘हामी युक्रेन नेटोमा आओस् भन्ने चाहँदैनौँ। किनभने त्यो अति जोखिमपूर्ण छ। त्यसैले हामी उनीहरुलाई सकेसम्म हतियार दिन्छौँ। सबैभन्दा आधुनिक हतियार दिन्छौँ।’ उनको कठोर निष्कर्ष छ, ‘हामीले युक्रेनलाई त्यो हदसम्म हतियार दिइसकेका छौँ, जसका कारण युक्रेन सबैभन्दा गतिलो हतियार भएको मुलुक हुनेछ। तर, युरोपको नेतृत्व भने राण्नीतिक रुपले सबैभन्दा कम अनुभवी छ।’

युरोपमा शान्ति स्थापना गर्न पश्चिमले दुई वटा कदम चाल्नुपर्ने उनको भनाइ छ। पहिलो, युक्रेनलाई नेटोमा सहभागी गराउने। ताकि युक्रेनको रक्षा तथा उसलाई नियन्त्रण गर्न सकियोस्। दोस्रो, युरोपले रुससँग सम्बन्ध सुधार गर्ने ताकि पूर्वी सीमा स्थिर रहोस्।

थुप्रै पश्चिमा मुलुकहरु यी दुईमध्ये कुनै न कुनै कदम चाल्न तयार हुनेछैनन्। त्यसमाथि रुसको सहयोगी र नेटोको विरोधी चीन पनि सहभागी भएपछि त यो काम झनै कठिन हुनेछ। रुस युक्रेन युद्धबाट जस्ताको तस्तै निस्किनुमा चीनलाई ठूलो फाइदा छ। पुटिनसँग सीको असीमित साझेदारी मात्र छैन, रुसको सत्ता ढल्दा चीनलाई कठिनाइ पनि हुनेछ। किनकि त्यसले मध्य एसियामा शक्ति शून्यताको स्थिति पैदा गर्नेछ, जसको ठाउँ ‘सिरियाको जस्तो गृहयुद्ध’ले लिने जोखिम हुन्छ।

जेलेन्स्कीलाई सीको फोनपछि चीनले आफूलाई रुस र युक्रेनबीचको मध्यस्थकर्ताका रुपमा उभ्याउनसक्ने किसिन्जरको विश्वास छ। अमेरिका र चीनलाई सोभियत संघविरुद्ध भिडाउने नीतिका एक रचनाकार किसिन्जर चीन र रुस आपसमा मिल्नसक्नेमा शंका व्यक्त गर्छन्। हो, उनीहरु दुवैमा अमेरिकाप्रति साझा सन्देह छ। तर, उनी भन्छन्, ‘मैले चीनबारे राम्रो कुरा गर्ने रुसी नेता कहिल्यै भेटेको छैन। अनि रुसबारे राम्रो कुरा गर्ने चिनियाँ नेता पनि कहिल्यै भेटेको छैन। उनीहरु स्वाभाविक मित्र होइनन्।’

युक्रेनसम्बन्धी कूटनीतिमा चीनको प्रवेश उनीहरुको राष्ट्रिय स्वार्थको अभिव्यक्ति भएको उनी बताउँछन्। रुसको विनाशको समर्थन गर्न चिनियाँहरुले अस्वीकार गरे पनि उनीहरु युक्रेन एक स्वतन्त्र मुलुक रहनुपर्छ भन्ने पक्षमा छन्। त्यस्तै आणविक हतियार प्रयोग नगर्न पनि उनीहरुले चेतावनी दिएका छन्। नेटोमा सहभागी हुने युक्रेनको इच्छालाई समेत उनीहरुले समर्थन गर्न सक्छन्।

‘आंशिक रुपमा अमेरिकासँग भिडन्त गर्न नचाहेकोले पनि चीनले यस्तो गर्छ,’ उनी भन्छन्, ‘आफूले सकेको हदसम्म उनीहरुले आफ्नै विश्वव्यवस्था बनाइरहेका छन्।’

अमेरिका र चीनले कुरा गर्नुपर्ने दोस्रो क्षेत्र हो एआई। ‘हामी त्यस्तो क्षमताको सुरुवातमा छौँ, जहाँ मेसिनले विश्वव्यापी महामारी फैल्याउन सक्छ। आणविक हतियारको सवालमा मात्र होइन, विनासको जुनसुकै क्षेत्रमा,’ उनी भन्छन्।

एआईका विज्ञहरुलाई पनि यसको शक्ति कस्तो होला भन्ने कुरा थाहा नभएको उनी स्वकार्छन् (अहिले त एआईले उनको भारी जर्मन लवजसहितको अंग्रेजी आवाजलाई उतार्न समेत सकेन)। तर, पाँच वर्षभित्रै एआई सुरक्षाको एउटा प्रमुख पक्ष बन्ने उनको विश्वास छ। यसको क्षमतालाई उनी प्रिन्टिङ प्रेससँग तुलना गर्छन्। त्यो मेसिनले त्यस्ता विचारहरु प्रवाह ग¥यो, जसले १६ औँ र १७ औँ शताब्दीका भयंकर युद्ध गराउन भूमिका खेल्यो।

‘हामी अभूतपूर्व विनाश क्षमता भएको संसारमा बाँचिरहेका छौँ,’ किसिन्जर भन्छन्। हतियार मानिसको नियन्त्रणमा हुनुपर्छ भन्ने मान्यताविपरीत मानिसको हस्तक्षेपबिनै चल्ने र रोक्न नसकिने हतियार निर्माण गरिन सक्छ। ‘सैन्य इतिहासलाई हेर्ने हो भने आफ्ना सारा दुश्मनलाई सखाप पार्न कहिल्यै सम्भव थिएन। किनभने भूगोलको सीमितता थियो, निसानामा चुक हुन्थ्यो। अहिले कुनै सीमितता छैन। प्रत्येक दुश्मन शतप्रतिशत कमजोर छ,’ उनी भन्छन्।

एआईलाई उन्मूलन गर्न सकिन्न। त्यसैले चीन र अमेरिकाले यसलाई निवारक सैन्य शक्तिका रुपमा एक हदसम्म विकास गर्नुपर्ने हुन्छ। तर, यसले उत्पन्न गर्ने खतरालाई पनि उनीहरुले सीमित तुल्याउन सक्छन्। जसरी हतियार नियन्त्रणका वार्ताहरुले आणविक हतियारको खतरालाई सीमित तुल्याएको थियो। ‘हतियार नियन्त्रणको दिशामा ससाना कदम चाल्न जरुरी छ,’ उनी भन्छन्। संवादले मात्रै पनि आपसी विश्वास निर्माण गर्ने र महाशक्तिहरुलाई संयम राख्न सघाउने उनको भनाइ छ। यसका लागि एआईलाई आफ्नो सीमासम्म धकेल्न हुँदैन भन्ने कुरा बुझ्नसक्नेगरी बुद्धिमान र बलियो नेता चाहिन्छ। ‘र, बलको भरमा जेजति हासिल गर्न सकिन्छ, त्यसैमा निर्भर हुने भने तपाईंले संसार ध्वस्त पार्नुहुनेछ,’ उनी भन्छन्।

नेता बन्न इच्छुकहरुलाई किसिन्जरको तेस्रो सल्लाह छ– ‘यी सबै कुराहरुलाई आफ्नो आन्तरिक उदेश्यसँग जोड्नुहोस्।’ अमेरिकाको कुरा गर्दा त्यसका लागि कसरी अझ व्यावहारिक बन्ने भनेर सिक्ने, नेतृत्वको गुणस्तरमा ध्यान केन्द्रित गर्ने र मुलुकको राजनीतिक संस्कृतलाई नवीकरण गर्नेमा जोड दिनुपर्छ।

व्यावहारिक सोचको सबैभन्दा राम्रो उदाहरण भारत भएको उनको भनाइ छ। एउटा कार्यक्रममा भारतका एक पूर्वप्रशासकले मुलुकलाई ठूला बहुपक्षीय संरचनाहरुमा बाँध्नुभन्दा खास मुद्दामा केन्द्रित अस्थायी गठबन्धनमा आधारित विदेश नीति हुनुपर्ने बताएको उनले स्मरण गरे। अमेरिकाका लागि यस्तो लेनदेनमा आधारित तरिका स्वाभाविक रुपमा आउँदैन। किसिन्जरकै अन्तर्राष्ट्रिय सम्बन्धको बृहत् इतिहास ‘डिप्लोमेसी’ को मुख्य विषयवस्तु नै छ– विश्वभर आफ्ना सारा हस्तक्षेपलाई अमेरिकाले संसारलाई स्वतन्त्र, लोकतान्त्रिक र पुँजीवादी समाज बनाउने प्रयासका रुपमा चित्रित गर्छ।

मुलुकको हितमाथि प्रायः नैतिक सिद्धान्तहरु हाबी हुन्छन्, भलै तिनले चाहेको परिवर्तन ल्याउन नसकून्। यो उनका लागि समस्या हो। मानव अधिकारको महत्व छ भन्ने उनी स्विकार्छन्। तर, विदेश नीतिको केन्द्रमा त्यसलाई राख्ने कुरामा उनी सहमत छैनन्।

‘हामीले सुडानमा यो लाद्न खोज्यौँ,’ उनले भने, ‘अहिले सुडानलाई हेरौँ।’ वास्तवमा सही काम गर्न घुँडा टेकेर जिद्दी गर्दा परिणामबारे गम्भीर विचार गरिँदैन, जसले खराब नीतिमा पु¥याउन सक्छ। उनी भन्छन्, संसारलाई बदल्न शक्तिको प्रयोग गर्न चाहने मान्छेहरु प्रायः आदर्शवादी हुन्छन्। जबकि यथार्थवादीहरुले बढी शक्ति प्रयोग गर्छन् भन्ने धारणा व्याप्त छ।

चीनको बढ्दो शक्तिलाई सन्तुलित पार्न भारत आवश्यक शक्ति हो। तथापि, भारतमा धार्मिक असहिष्णुता बढ्दो छ, न्यायिक पक्षपात र प्रेसमाथिको दमन छ। त्यसैले, अमेरिका व्यावहारिक हुन सक्छ कि सक्दैन भन्ने विषयको परीक्षा भारत हुनेछ। भलै यसमा किसिन्जरले सिधै टिप्पणी गरेनन्। अर्को परीक्षा जापान हुनेछ। पाँच वर्षभित्रै जापानले आणविक हतियार हासिल गर्ने चेष्टा गरे सम्बन्ध खराब हुनेछ। एसियाको शक्ति सन्तुलनका विषयमा अमेरिकालाई रणनीतिक रुपले सोच्न बेलायत र फ्रान्सले सघाउनुपर्ने उनको भनाइ छ।

नेतृत्वको महत्व
नेतृत्वको पनि ठूलो महत्व हुनेछ। किसिन्जरले लामो समयदेखि व्यक्तिको शक्तिमा विश्वास गर्दै आएका छन्। फ्र्यांकलिन डिलानो रुजबेल्ट दूरदृष्टि भएका नेता थिए। जसका कारण उनले धुरी राष्ट्रविरुद्धको अवश्यंभावी युद्धका लागि अमेरिकालाई तयार पारे। चार्ल्स दे गालले फ्रान्सलाई भविष्यमा विश्वास गर्न सिकाए। जोन एफ केनेडीले एउटा पुस्तालाई नै उत्प्रेरित गरे। अट्टो भान बिस्मार्कले जर्मनीको एकीकरण गराए र निपुणता तथा संयमताका साथ शासन गरे। तर, उनी पदच्यूत भएपछि उनको मुलुक युद्धपिपासु बन्यो।

चौबीस घण्टै समाचारको प्रवाह र सामाजिक सञ्जालले उनको शैलीको कूटनीति कठिन बनाएको किसिन्जर स्विकार्छन्। ‘उतिबेला मसँग जति शक्ति थियो, त्यति शक्ति दिएर आज कुनै राष्ट्रपतिले एउटा दूत त्यसरी पठाउन सक्छजस्तो मलाई लाग्दैन,’ उनी भन्छन्। तर, अगाडि बढ्न सम्भव छ कि छैन भनेर घोरिनु नै बेकार रहेको उनको तर्क छ। ‘मैले सम्मान गर्ने नेताहरुलाई हेर्ने हो भने उनीहरु त्यो प्रश्न सोध्दैनथे। उनीहरु सोध्थे, ‘के यो आवश्यक छ?’’

उनी विन्स्टन लर्डको उदाहरण सम्झिन्छन्। निक्सन प्रशासनमा किसिन्जरकै स्टाफ थिए उनी। ‘जब हामीले कम्बोडियामा हस्तक्षेप ग¥यौँ, तब उनी पद छाड्न चाहन्थे। मैले उनलाई भनेँ, ‘तपाईं पद छाडेर यही ठाउँमा प्लेकार्ड बोकेर जुलुस गर्न सक्नुहुन्छ। अथवा, तपाईं हामीलाई भियतनाम युद्ध समाधान गर्न सघाउन पनि सक्नुहुन्छ।’ त्यसपछि उनले पदमा रहने निर्णय गरे। आफैँप्रति दुःखी हुनेभन्दा निर्णय गर्ने मानिस हामीलाई आवश्यक छ।’

नेतृत्वले कुनै पनि मुलुकको राजनीतिक संस्कृति प्रतिबिम्बित गर्छ। अरु थुप्रै रिपब्लिकनहरुजस्तै किसिन्जर पनि अमेरिकाको शिक्षा अमेरिकाको सबैभन्दा अँध्यारो क्षणमा केन्द्रित छ। ‘रणनीतिक दृष्टिकोण प्राप्त गर्न तपाईंलाई आफ्नो मुलुकमाथि विश्वास हुन जरुरी छ,’ उनी भन्छन्, ‘अमेरिकी मूल्यप्रतिको साझा धारणा गुमेको छ।’

सञ्चारमाध्यममा विवेकको कमी भएको गुनासो पनि उनी गर्छन्। उनी मन्त्री छँदा प्रेस उनीप्रति आक्रामक थियो। तथापि उनले प्रेससँग संवाद गरे। ‘उनीहरुले मलाई पागल बनाएका थिए,’ उनी भन्छन्, ‘तर, त्यो स्वाभाविक थियो। उनीहरुले पक्षपात गरेका थिएनन्।’ त्यसविपरीत आज सञ्चारमाध्यमलाई चिन्तनशील हुन कुनै प्रोत्साहन छैन।

सबैभन्दा खराब चाहिँ राजनीति आफैँ छ। किसिन्जर वासिङ्टनमा आउँदा दुवै पार्टीका नेताहरु नियमित रुपमा सँगै खाना खान्थे। डेमोक्रेटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार जर्ज म्याकगभर्नसँग उनको मित्रवत् सम्बन्ध थियो। उनको विचारमा अहिलेका राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि यो सम्भव छैन। निक्सनले राजीनामा दिएपछि राष्ट्रपति बनेका फोर्डले इमानदार व्यवहार गर्छन् भनेर विपक्षीहरु पनि विश्वस्त हुन्थे। आज जस्तोसुकै हर्कत पनि स्वीकार्य छ।

‘मलाई लाग्छ, ट्रम्प र अहिले बाइडेनले दुश्मनी शिखरमा पु¥याए,’ किसिन्जर भन्छन्। वाटरगेट काण्डजस्तो परिस्थिति आउने हो भने अहिले हिंसा मच्चिने र अमेरिकामा नेतृत्वको अभाव हुने डर उनलाई छ। ‘बाइडेनले आवश्यक प्रेरणा दिन सक्छन्जस्तो मलाई लाग्दैन। रिपब्लिकनहरु पनि अलि गतिलो (ट्रम्पभन्दा) नेता लिएर आउने आशा उनी गरिरहेका छन्। ‘यो इतिहासको राम्रो क्षण होइन,’ उनी विलौना गर्छन्।

अमेरिकालाई दीर्घकालीन रणनीतिक सोचको चर्को आवश्यकता छ। ‘त्यो हाम्रो ठूलो चुनौती हो, जसलाई हामीले जसरी पनि समाधान गर्नुपर्छ। हामीले समाधान गरेनौँ भने असफलताको अनुमान सत्य साबित हुनेछ,’ उनी भन्छन्।

समय छोटो छ र नेतृत्वको अभाव छ। उसोभए चीन र अमेरिकाले शान्तिपूर्ण रुपमा मिलेर बस्ने उपाय खोज्ने सम्भावना कत्तिको छ त?

‘हामी सबैले स्विकार्नुपर्छ, हामी नयाँ दुनियाँमा छौँ,’ किसिन्जर भन्छन्, ‘हामीले जे गरे पनि त्यसको नतिजा खराब आउन सक्छ। केही पनि सुनिश्चित छैन। हेर्नुस्, मेरो जीवन अत्यन्त कठिन रह्यो। तर, यसले आशाको आधार भने दिन्छ।’

उनी मानिसले ठूलो प्रगति गरिसकेकोमा जोड दिन्छ। त्यस्तो प्रगति भयानक द्वन्द्वपछि आएका हुन्। उदाहरणका लागि ३० वर्षे युद्ध, नेपोलियनको युद्ध अनि दोस्रो विश्वयुद्ध। तर, चीन र अमेरिकाबीचको दुश्मनी अलग हुन सक्छ। इतिहासले के सुझाउँछ भने प्रायः दुई महाशक्ति एकअर्कासँग जुध्या सैन्य भिडन्त हुन पुग्छ। ‘तर, यो पहिलेको जस्तो सामान्य परिस्थिति होइन। दुवैले एकअर्कालाई सिध्याउने सुनिश्चत छ, त्यसमाथि एआईको विकास भएको छ,’ उनी भन्छन्।

‘मलाई लाग्छ, युरोप, चीन र भारत सामेल हुन सक्नेगरी एउटा विश्व व्यवस्था सिर्जना गर्न सकिन्छ। यो जनसंख्याको निकै ठूलो हिस्सा हो। व्यावहारिक रुपमा हेर्दा यसको अन्त्य सुखद हुनसक्छ। कम्तीमा बिनाकुनै विनाश यो काम हुन सक्छ,’ उनी भन्छन्।

यो काम आजका महाशक्ति मुलुकहरुका नेताहरुको हो। ‘इम्यानुएल कान्टले भनेका थिए, शान्ति या त मानिसको समझदारीका कारण आउँछ, या प्रलयका कारण,’ किसिन्जर व्याख्या गर्छन्, ‘शान्ति विवेकका कारण उत्पन्न हुन्छ भनेको उनको भनाइ थियो। तर, उनले त्यसको ग्यारेन्टी दिन सकेनन्। मलाई पनि त्यस्तै लाग्छ।’

त्यसैले गर्दा विश्व नेताहरुको काँधमा ठूलो जिम्मेवारी छ। अगाडिका खतराहरुलाई सामना गर्न उनीहरुलाई यथार्थवाद आवश्यक पर्छ। दुई देशको शक्ति सन्तुलन गराउनुमा समाधान छ भनेर उनीहरुले देख्न जरुरी छ। त्यसका लागि उनीहरु संयम भएर आफ्नो शक्तिलाई आक्रमणका लागि प्रयोग गर्नबाट बच्नुपर्छ। ‘यो अभूतपूर्व चुनौती र महान अवसर दुवै हो,’ उनी भन्छन्।

यो काम सही तरिकाले हुन्छ कि हुँदैन, मानिसको भविष्य त्यसैमा निर्भर छ। संवादको चौथो घण्टा र उनको सयौँ जन्मदिनको केही हप्ताअघि किसिन्जरले आफ्नो विशेषता झल्काउँदै थपे, ‘जे भए पनि त्यो दिन देख्न म रहने छैन।’

दि इकोनोमिस्टबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्