जनादेश, बागलुङ ।
बन्दाबन्दी असर सबैभन्दा धेरै परेको यातायात क्षेत्रका मजदूरको रोजगारी गुमेको छ ।
बागलुङमा सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने बागलुङका दुई हजार मजदूर बेरोजगार भएका छन् ।
लामो समय यातायात नचलेका कारण उनीहरु रोजगारीबाट टाढिएका हुन् । यातायात मजदूरहरु बेरोजगार हुँदा उनीहरुबाट आश्रित १९ हजारभन्दा बढी मानिस अहिले आर्थिक अवस्था कमजोर भएर समस्यामा छन् ।
तत्कालीन धौलागिरि अञ्चलभित्रका बस र जीप व्यवसायी कम्पनीमा आबद्ध भएका मजदूर अहिले वैकल्पिक पेशाको खोजीमा छन् । तत्काल सार्वजनिक यातायात नचलेमा उनीहरुको परिवारमा भोकमरी लाग्नेसमेत व्यवसायीले बताए ।
धौलागिरि गण्डकी यातायात कम्पनीमा सूचीकृत भएका बस र माइक्रोबसमा काम गर्ने सबैभन्दा बढी मजदूर बेरोजगार भएका हुन् । उनीहरुको सवारी काठमाडौँ, पोखरा, नारायणगढ, सुनौली र काँकडभिट्टासम्म सञ्चालन थिए ।
सो कम्पनीमा मात्रै ३०० बस दर्ता छन् । हरेक बसमा दुई जनासम्म चालक र एक/एकजना सहचालकसमेत गर्दा ९०० जना बेरोजगार भएको कम्पनीका क्यु इन्चार्ज रामप्रसाद अधिकारीले बताए ।
लामो दूरीको यात्रा गराउने भएकाले धेरै बसमा दुई जनासम्म चालकले काम पाएका थिए । अहिले सबैजना बेरोजगार भएको उहाँले बताउनुभयो । बेरोजगार भएकाहरु कतिपयले गाउँमा गएर तरकारी खेती गरेर पनि बसेका छन् ।
अधिकांशको खेतीपाती गर्ने जमीनसमेत नभएको, बजारमा डेरा लिएर बसेकाले भाडा तिर्न पनि नसक्ने अवस्था आइसकेको उहाँले गुनासो गर्नुभयो । लामो समयदेखि थन्केका सवारी साधन मर्मत गरेर चलाउन सकेमा बैंकको ऋण तिर्न सकिने, मजदूरले रोजगारी पनि पाउने बताए ।
बागलुङका बुर्तिवाङ यातायात सेवा कम्पनी, बागलुङ भगवती कम्पनी र धौलागिरि जीप कम्पनी समेतमा गरी झण्डै ६०० भन्दा बढी सवारी साधन सार्वजनिक यातायातका रुपमा चल्दै आएका छन् ।