ओली–प्रचण्डको नयाँ रणनीति : अब ‘वान अन वान’ वार्ता, प्रचण्डले आफ्नै टिम रोजेपछि नेपालको आशंका – Janadesh Daily | ePaper

ओली–प्रचण्डको नयाँ रणनीति : अब ‘वान अन वान’ वार्ता, प्रचण्डले आफ्नै टिम रोजेपछि नेपालको आशंका


शुरोजङ्ग पाण्डे

आपसी कलह सुल्झाउन पार्टी बैठक र सामूहिक छलफल स्थगित गरेर नेकपाका दुई अध्यक्षले ‘वान अन वान’ संवादको रणनीति अपनाएका छन् । सोमबार प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि ‘वान अन वान’ वार्तालाई अगाडि बढाउने रणनीति बनाएका छन् ।

शुक्रबार र शनिबार ओली र प्रचण्ड आफ्ना नजिकका नेतासहित संवादमा बसेका थिए । तर, प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार भएको छलफलमा ओली र प्रचण्डले ‘वान अन वान’ संवाद गर्ने र आवश्यक भए मात्रै अन्य नेतालाई सहभागी गराउने सहमति गरेका हुन् ।

दुई अध्यक्षबीच सहमति जुट्यो भने त्यसैका आधारमा अन्य नेतासँग संवाद गर्ने ओली–प्रचण्डको तयारी छ । तर, ओली र प्रचण्डको यो रणनीतिलाई वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने शंकाको दृष्टिले हेरेको छ ।

यद्यपि, ओली र प्रचण्डनिकट स्रोतहरूले सामूहिक संवादको गोपनीयता नबचेपछि नयाँ रणनीतिअनुसार काम गर्नुपरेको बताएका छन् ।

विषयान्तर भएर गिजोलिँदै गएको छलफल सोमबारको ‘वान अन वान’ भेटवार्तापछि भने विषयकेन्द्रित भएको उनीहरूको भनाइ छ । आइतबारको भेटवार्तामा भने राष्ट्रपतिलाई महाअभियोग लगाउने चर्चा र पार्टी विभाजन हुने गरी सरकारले ल्याउन खोजेको भनिएको अध्यादेशको विषयमा छलफल भएको थियो ।

१० असारबाट सुरु भएको स्थायी समिति बैठक १५ गतेपछि प्रधानमन्त्रीको राजीनामातिर केन्द्रित भएको थियो । दुवै पक्षको आरोप–प्रत्यारोपको शृंखला सडकमै पोखिँदै जाँदा नेकपा फुटउन्मुख भएको आशंकाबीच ओली–प्रचण्डको सोमबारको छलफल भने निकास खोज्ने उद्देश्यसहित प्रवेश भएको नेताहरूको भनाइ छ ।

अध्यक्षहरूले सहमति जुटाउने उद्देश्यसहित छलफल अघि बढाए पनि ठोस प्रगति भने नभएको बताए । ‘छलफलबाटै सहमतिको प्रयास भइरहेको छ, तर अहिलेसम्म ठोस प्रगति नभए पनि प्रयत्न जारी छ,’ नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

दुवै अध्यक्षले विषयमै प्रवेश गरेर छलफल भएको निकटस्थहरूलाई जानकारी गराएका छन् । सहमति नभएसम्म वान टु वान वार्तालाई नै निरन्तरता दिने र आवश्यकता पर्दा वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई पनि सामेल गर्ने समझदारीपछि छलफल सकिएको थियो ।

सहमतिको गृहकार्यका लागि छलफल जारी राख्ने समझदारीपछि सोमबारको स्थायी समिति बैठक २४ असारसम्मका लागि स्थगित भएको छ ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सहमतिका लागि प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एउटा पद छाड्नुपर्ने ‘बटमलाइन’ बताउँदै आएका छन् भने ओलीले दुवै पदको निरन्तरताबाहेक बाँकी विषयमा छलफल गरेर सहमति खोज्न सकिने जवाफ दिएका छन् ।

प्रचण्डले आफ्नै टिम रोजेपछि नेपालको आशंका

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँगको वार्तामा आफूनिकट दोस्रो तहका नेता मात्र संलग्न गराएपछि वरिष्ठ नेता नेपाल र उनको समूह असन्तुष्ट बनेको छ । नेपालको असन्तुष्टि र आशंकापछि ओली र प्रचण्डले सोमबारबाट दोस्रो तहका नेताहरूविनै छलफल अघि बढाउने समझदारी गरेका छन् ।

आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफलमा बसेका उनीहरूले छलफलको गम्भीरताका कारण सहयोगी नेताहरूलाई तत्काल सामेल नगर्ने निर्णय गरेका हुन् ।

पौडेल र पोखरेल ओली तथा शर्मा र पुन प्रचण्डनिकट नेताहरू हुन् । यसअघि उनीहरूलाई राखेर सहमतिको गृहकार्य गर्न अनौपचारिक कार्यदल बनाइएको बताइए पनि नेपालको असन्तुष्टिपछि त्यस्तो कार्यदल नबनेको भन्दै प्रचण्डको सचिवालयले आइतबार राति खण्डन गरेको थियो ।

‘दुई अध्यक्ष मात्र बसेर खुसुखुसु गोप्य निर्णय गर्ने, अरूले पालना गर्ने यसपटक हुँदैन । हामीलाई विश्वास छ, यसपटक प्रचण्ड कमरेडले पनि त्यस्तो गर्नुहुन्न, अहिले ६ जना सचिवालय सदस्यहरू एकातिर, तीनजना अर्काेतिर हुनुहुन्छ । हामी त दुईतिर यस्तो विभाजनको स्थिति नहोस् भन्ने चाहन्छौँ,’ नेपालनिकट स्थायी समिति सदस्य रघुजी पन्तले भने, ‘त्यसैले नेता–कार्यकर्ता सबैको चित्त बुझ्ने गरी, पार्टी एकता जोगाउने गरी निर्णय हुनुपर्छ र स्थायी समितिले पनि स्वामित्व ग्रहण गरेर निर्णय हुनुपर्छ । यो कुरा सबै नेताले बुझ्नुभएको छ भन्ने मलाई लागेको छ ।’

दुईजना मात्र लिएर जाने कुरा सन्तुलित नभएको भन्दै नेपालले आइतबारै प्रचण्डसँग आपत्ति जनाएका थिए । तर, यसको अर्थ उहाँहरूबीच अविश्वास छ भन्ने नभएको नेपालनिकट अर्का स्थायी समिति सदस्यले बताए ।

‘कार्यदल नबनाइएको प्रचण्डले प्रस्ट पारिसक्नुभएको छ, उहाँहरू मात्र होइन, सचिवालयका ६ जना नेताहरू बलियोसँग एक ठाउँमा हुनुहुन्छ, स्थायी समितिको बहुमत पनि एक ठाउँमा छ । त्यसैले सबै काम सन्तुलन मिलाएरै गर्नुपर्छ भन्ने कुरा उहाँले बुझ्नुभएकै छ,’ उनले भने ।

सोमबार बालुवाटारबाट फर्किएलगत्तै ओलीसँगको पछिल्लो छलफलबारे प्रचण्डले नेपाललाई ‘ब्रिफिङ’ गरेका थिए ।

स्रोतः नयाँपत्रिका दैनिक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्