निषेधाज्ञा तोडेर रथ तान्नेमाथि प्रहरीको अश्रुग्यास, पुल्चोकमा तनाव – Janadesh Daily | ePaper

निषेधाज्ञा तोडेर रथ तान्नेमाथि प्रहरीको अश्रुग्यास, पुल्चोकमा तनाव


जनादेश, काठमाडौं

निषेधाज्ञाबीच स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तानेपछि पुलचोकमा झडप भएको छ । स्थानीय युवासँगको झडपले उग्ररुप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको छ । रथ तान्न तम्सेका युवाहरुलाई रोकेपछि झडप भएको हो । रथ तानेर सडकको बीच भागमा पुर्‍‌याइएको छ ।

सडकमा ठूलो संख्यामा प्रहरी घेरा हालेर बसेका छन् । यसअघि रथयात्राका लागि पुल्चोकमा जम्मा भएकाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । बिहानैदेखि सयौं संख्यामा स्थानीय जम्मा भएका थिए । कुनै अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा प्रहरी उपस्थित गराइएको थियो । कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले स्थानीयलाई माइकिङ गरेर घर जान आग्रह गरेको थियो । मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार निषेधाज्ञा तोडेर रथ तानेको स्थानीय युवाहरुले बताएका छन् ।

असोज २ देखि मलमास सुरु हुँदैछ । कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबर्जस्ती तानिएको हो । मलमाअघि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा मिचेका हुन् । लकडाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित गरेको थियो ।

कोरोनाका कारण उपत्यकामा धार्मिक गतिविधि तथा जमघटमा रोक लगाइएको छ । वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्