श्रमसम्बन्धी संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु प्रमुख कार्यभार: प्रधानमन्त्री दाहाल – Janadesh Daily | ePaper

श्रमसम्बन्धी संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु प्रमुख कार्यभार: प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रूपले लागिरहेको बताएका छन् ।

‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रूपले लागिरहेको छ ’ जारी सन्देशमा भनिएको छ ।

बुधबार विश्व श्रमिक दिवस, २०२४ का अवसरमा शुभकामना दिदै दाहालले श्रमिकको हितलाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेका छन् ।

श्रम सम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिवद्ध रहेको बताएका दाहालले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने उल्लेख गरेका छन् । संविधानमा उल्लेखित श्रमिकका हक अधिकार र व्यवस्थालाई कार्यान्वयन गर्नु नै सरकारको महत्वपूर्ण कार्यभार भएको दाहालले बताएका छन् ।

जारि विज्ञप्तिमा भनिएको छ, ‘नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो। श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।’

युवा तथा बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको जिकिर दाहालले गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्