सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा – Janadesh Daily | ePaper

सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा


काठमाडौँ ।

नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल)  टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न सफल भएको हो । यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससितको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

उक्त खेलमा दुवै टोली एकएक अङ्क बाँड्न बाध्य भए । तीन अङ्कमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ । उसले हालसम्म नौ खेलमा एकमा जीत तथा आठमा पराजय भोगेको छ । जमैका हालसम्म आठ खेलमा तीनमा जीतका साथ सात अङ्कसहित चौथो स्थानमा छ ।

लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्स १६ अङ्क बनाउँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ । उसले दुई खेल खेल्न अझै बाँकी छ । लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा ६ मा जीतका साथ १२ अङ्क बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।

यस्तै सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ । उसले हालसम्म आठ खेलमा पाँचमा जित निकाल्दै १० अङ्क जोडेको छ । साविक विजेता बारबाडोस ट्रिडेन्ट्स भने नौ खेलमध्ये दुईमा मात्र विजयी भई चार अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्