लकडाउनमा इन्टरनेट खपत ३५ प्रतिशत बढ्यो – Janadesh Daily | ePaper

लकडाउनमा इन्टरनेट खपत ३५ प्रतिशत बढ्यो


काठमाण्डौ । सरकारले कोभिड–१९ न्यूनीकरणका लागि गरेको लकडाउनको समयमा इन्टरनेट खपत बढेको छ । लकडाउन अगाडिको १० दिनको तुलनामा लकडाउनपछिको १० दिनयता ३५ प्रतिशतसम्म इन्टरनेट व्याण्डविथ खपत बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । लकडाउन अगाडि व्याण्डविथ खपतमा उतारचढाव आए पनि अहिले भने सबैजसो समयमा उत्तिकै मात्रामा इन्टरनेट खपत भएको छ । बेलुका ८ देखि ९ बजेको समय इन्टरनेट खपतका दृष्टिले उच्च विन्दुमा छ ।
प्राधिकरणका निर्देशक विजयकुमार रोयले पनि लकडाउनअघिका १० दिनको तुलनामा लकडाउनपछिका १० दिनमै इन्टरनेटको प्रयोग ३५ प्रतिशतसम्म बढेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत पनि १० प्रतिशत हाराहारीमा बढेको जानकारी दिए । लकडाउनले इन्टरनेटको मागमा पनि स्थिरता ल्याएको रोयले बताए । पहिले दिनभरीमा कुनै समय अत्याधिक माग आउने र कुनै समय माग निकै घट्ने गरेको थियो । तर, अहिले त्यस्तो उतारचढाव देखिएको नदेखिएको उनले बताए । साँझ ८ देखि १० बजेको समयमा अहिले पनि इन्टरनेटको खपत उच्च विन्दुमा पुग्ने गरेको उनले बताएका छन् ।

प्रविधि पत्रकार मञ्चले गरेको वेबिनारमा नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष समीतजन थिङले मुलुकभित्रको इन्टरनेट खपत ३५ प्रतिशत र वाह्य खपत २५ प्रतिशत बढेको बताएका छन् । उनले लकडाउन सुरु हुनुअघि १४८६ गिगाबाइट प्रतिसेकेण्ड खपत हुँदै आएको इन्टरनेट लकडाउनपछि १९७१ गिगाबाइट प्रतिसेकेण्ड पुगेको जानकारी दिए । लकडाउनले नेटफ्लिक्समा सिनेमा हेर्ने र घरमै बसेर टिकटक चलाउनेको संख्या बढेको उनले जानकारी दिए । लुडोजस्ता मोबाइल गेमिङमा पनि इन्टरनेटको खपत दोब्बर बढेको उनले जानकारी दिए । गुगल, फेसबूक र अमेजनमा पनि इन्टरनेटको प्रयोग उच्च दरले बढेको तथ्यांक छ ।
अध्यक्ष थिङले नेपालमा इन्टरनेटको ब्याण्डविथ भित्र्याउने मूलबाटो भैरहवा नाका भएको बताए । त्यसपछि वीरगञ्जबाट पनि धेरै ब्याण्डविथ आयात हुने उनले जानकारी दिए । त्यसपछि ढल्केबर, दुहबी र टनकपुरबाट पनि इन्टरनेट आयात हुन्छ । रसुवागढी नाका भएर ब्याण्डविथ किन्ने चीनसँग सम्झौता भए पनि त्यहाँबाट खासै ठूलो मात्रामा ब्याण्डविथ आयात हुन नसकेको उनले बताए । रसुवागढी नाकाबाट इन्टरनेट ल्याउँदा हिमाली बाटो भएकाले प्राकृतिक प्रकोपको जोखिम बढी भएको थिङले जानकारी दिए ।
नेपालले अहिले भारतको एयरटेल र टाटा कम्पनीसँग ठूलो मात्रामा इन्टरनेट खरीद गरिरहेको छ । त्यसपछि सिफी र अरु थुप्रै कम्पनीको इन्टरनेट ब्याण्डविथ पनि नेपालले आयात गर्छ । चीनबाट भने नेपाल टेलिकमले चाइना टेलिकमसँग इन्टरनेट किनिरहेको छ । अलिबाबा र बाइडुजस्ता कम्पनीबाट पनि मर्कण्टायल र वल्ड लिंकले कमैमात्र भए पनि इन्टरनेट खपत गरेको थिङले जानकारी दिए ।
प्रयोगकर्ताको संख्याको आधारमा मोबाइलमा इन्टरनेट चलाउनेहरु बढी भए पनि ताररहित इन्टरनेट प्रयोगकर्ताले कुल खपतको ११ प्रतिशतमात्रै उपभोग गरिरहेका छन् । तारमार्फत् जोडिने फिक्स्ड इन्टरनेट (वाइफाइ) मा भने ८९ प्रतिशत ब्याण्डविथ खपत हुने गरेको अध्यक्ष थिङले जानकारी दिए । प्राधिकरण निर्देशक रोयले भने मुलुकको जनसंख्याको १२६.७० प्रतिशतमा मोबाइलको पहुँच पुगेको र इन्टरनेटको पहूँच ७२.२२ प्रतिशत जनताको पहूँचमा पुगेको बताए । त्यसमा पनि मोबाइल ब्रोडब्याण्डको पहूँच ५६.१४ प्रतिशत र फिक्स्ड ब्रोडब्याण्डको पहुँच करीब १८ प्रतिशतमा मात्रै पुगेको जानकारी दिए ।
इन्टरनेट सेवाप्रदायकहरुले अहिले ८० प्रतिशत हाराहारी गुनासो वाइफाइको गुणस्तरसँग सम्बन्धित रहेको बताएका छन् । बाँडेर उपभोग गर्ने (नेटवर्क सियरिङ)का कारण इन्टरनेटको गति सुस्त हुने, अवरोध हुनेजस्ता समस्या बोकेर ग्राहकले गुनासो गर्ने गरेको उनीहरुले बताए । तर अहिले उपभोक्ताको राउटरमा कति ब्याण्डविथ आइरहेको छ भनेर हेर्न सक्ने प्रणालीको विकास नभएकाले त्यस्तो समस्या समाधान गर्न कठिनाइ भएको अध्यक्ष थिङले जानकारी दिए ।

स्रोतः कारोबार दैनिक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्