जनादेश, तनहुँ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ ।
दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो ।
अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।
“तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ”, उहाँले भन्नुभयो, “शुरु शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्छौ ।”
प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाईले साथ दिएको छ । एकाईले प्रहरीलाई सचेतनामूलक चार वटा सङ्केत सामग्री हस्तान्तरण गरेको छ । सङ्केत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔँ, ओभरटेक नगराँै र हर्न नबजाऔँ भन्ने सचेतनामूलक सन्देश राखिएको छ ।
दमौली बजार क्षेत्रको सवारी व्यवस्थापनका लागि एकाईले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको एकाई सभापति राजकुमार श्रेष्ठले जानकारी दिए । रासस