अख्तियारका पदाधिकारीमाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन माग – Janadesh Daily | ePaper

अख्तियारका पदाधिकारीमाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन माग


काठमाडौँ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियारका वर्तमान र पूर्व पदाधिकारीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । भ्रष्टाचारका ठुलठुला काण्डमा संलग्नहरूलाई जोगाउन अख्तियार नै लाग्न थालेको बताउँदै पौडेलले शुक्रवार विज्ञप्तिमार्फत पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग राखेका हुन् ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएका यावत लापरवाहीहरु उपर छानबिन गर्न र त्यसका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरूलाई जिम्मेवार बनाउन’पौडेलले विज्ञप्तिमा भनेका छन्,‘एक जना पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा सबैको भरोसायोग्य न्यायिक छानबिन आयोग गठन गरियोस् भन्ने माग गर्दछु ।’

पौडेलले शुक्रवार एक राष्ट्रिय दैनिकमा प्रकाशित ‘निगमको जग्गा खरिद फाइल सुटुक्क तामेली’ शीर्षक समाचारप्रति अख्तियारको ध्यानाकर्षण गराएका छन् । ‘१ अरब ३४ करोडको खेल भनिएको उक्त चर्चित प्रकरण यसरी डिसमिस पार्ने काम सुशासनका लागि त्यत्रो भरोसा गरेर हामीले स्थापना गरेको संस्थाबाट भइरहेको छ,’ पौडेलले भनेका छन्,‘माझीले नै डुङा डुबाउन लागेपछि कसले पार लगाउने ? यस्ता काम कारबाही किन भइरहेका छन् ?’

पौडेलले यसअघिका अरबौँका भ्रष्ट्राचार काण्डहरूसमेत चर्चामा रहेको भन्दै अख्तियारको भूमिका सन्देहपूर्ण रहेको बताएका छन् । ‘तिनको तदारुकताका साथ छानबिन गरेर दोषीउपर कारबाही चलाउने र राष्ट्रमा भइरहेका ब्रमलुट रोक्ने काममा अख्तियारको ढिलासुस्ती र लापरबाही चर्चामा छन्,’ पौडेलले भनेका छन्,‘तसर्थ ती लापरबाहीको छानबिन गर्न आवश्यक छ ।’

Source: https://www.prasashan.com/2020/09/11/195807/

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्