चन्द्रप्रकाश नेपाली, घोराही ।
कोरोना संक्रमण नियन्त्रणका लागि दाङमा गरिएको निषेधाज्ञालाई थप खुकुलो बनाईएको छ । दाङमा भोली बिहान ६ बजे देखी बेलुका ७ बजे सम्म सबै पसलहरु खोल्ने र सार्वजनिक सवारीका साधनलाई जोरविजोर अनुसार चलाउने निर्णय भएको छ ।
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले अर्को निर्णय नभए सम्मका लागि बिहान ६ देखी बेलुका ७ बजे सम्म सबै व्यवसायहरु खुला गर्ने, सवारीका साधनहरु जोरविजोर चल्ने, उद्योग कलकारखाना तथा निर्माण कम्पनीका कामदार कार्य स्थलभन्दा बाहिर जान नपाउने, सबै सरकारी कार्यालय र बंैक तथा वित्तीय संस्थाहरु सिमित कर्मचारीको व्यवस्था गरि सञ्चालन गर्ने निर्णय गरेको हो ।
साथै बेलुका ७ बजे पछि पनि औषधी पसल, खाद्यबस्तु तथा अन्य आबस्यक उपभोग्य वस्तु वा सेवा खरिदको काम गर्न भने पाईने छ ।
त्यसैगरी, बेलुका ७ बजे देखी बिहान ६ बजे सम्म सञ्चालन अनुमती पास लिएका निजी तथा सार्वजनिक मालबाहक सवारीका साधन बाहेक अन्य गाडीहरुलाई चल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
साथै बैठकले कुनै पनि गोष्ठि, सभासम्मेलन, जुलुस, महोत्सव तथा जात्रा र भेलाभई पूजाआजा एवं धार्मीक कार्य गर्नमा पूर्णरुपमा रोक लगाएको छ ।
दाङमा कोरोना संक्रमितको संख्या समुदाय स्तरमै पुगेपछि यही भदौ १४ गते देखी निषेधाज्ञा लगाईएको हो । स्थानिय प्रशासनले निषेधाज्ञाको दोस्रो हप्ताबाट खुकुलो बनाउदै आएको छ ।