२ करोड २८ लाख मानिसले जिते कोरोना
एजेन्सी ।
विश्वमा कोरोना संक्रमित हुने मानिसको कुल संख्या ३ करोड १२ लाख १९ हजार भन्दा बढी पुगेको छ । गत चौबीस घण्टामा २ लाख ४२ हजार कोरोना संक्रमित थपिएपछि अहिलेसम्म संक्रमित हुनेको संख्या ३ करोड १२ लाख १९ हजार ७ सय उनान्पास भन्दा बढी पुगेको छ ।
त्यस्तै गत चौबीस घण्टामा थप ३ हजार ८ सय भन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाएका छन् । योसँगै संसारमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ लाख ६४ हजार ७ सय भन्दा बढी पुगेको छ ।
कुन देशमा कति
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा गत चौबीस घण्टामा ३२ हजार विरामी थपिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ७० लाख ९ सय पुगेको छ ।
त्यहाँ २४ घण्टामा २ सय ९४ जना भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ४ हजार भन्दा बढी पुगेको छ ।
त्यस्तै सर्वाधिक संक्रमणदर रहेको भारतमा गत चौबीस घण्टामा ८७ हजार ३ सय भन्दा बढी बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ५४ लाख ८५ हजार पुगेको छ । त्यहाँ चौबीस घण्टामा १ हजार १ सय भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ८७ हजार ८ सय नाघेको छ ।
त्यस्तै ब्राजिलमा चौबीस घण्टामा १६ हजार भन्दा बढी बिरामी थपिएर कुल संक्रमितको संख्या ४५ लाख ४४ हजार पुगेको छ ।
विश्वमा दुई करोड २८ लाख मानिसले भने कोरोना जित्न सफल भएका छन् ।