एजेन्सी ।
युएईमा जारी तेह्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले तेस्रो जित निकालेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा चेन्नाईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो ।
१६८ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदराबादले २० ओभरमा आठ विकेटको क्षतिमा १४७ रन मात्र बनायो।
हैदराबादका लागि केन विलियम्सनले ५७ रन बनाएपनि टिमलाई जिताउन सकेनन्। उनले ३९ बलमा सात चौका प्रहार गर्दै अर्धशतक बनाएका थिए।
त्यस्तै, जोनी बैरस्टवले २३ र प्रियम गर्गले १६ र राशिद खानले १४ रन बनाए। बलिङतर्फ कर्ण शर्मा र ड्वायन ब्राभोले समान २–२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। चेन्नाईका लागि शेन वाटसनले ४२, आम्बती रायुडुले ४१, साम कुरनले ३१, रविन्द्र जडेजाले अविजित २५ र कप्तान महेन्द्रसिंह धोनीले २१ रन बनाए।
बलिङतर्फ सन्दीप शर्मा, खालिल अहमद र नताराजनले समान २–२ विकेट लिए।
जितसँगै चेन्नाई छैटौं स्थानमा उक्लिएको छ। आठ खेलबाट पाँच खेलमा हार र तीन खेलमा जित निकालेको चेन्नाईको ६ अंक भएको छ। आठ खेलमध्ये पाँच खेलमा हार र तीन खेलमा जित हात पारेको हैदराबादको पनि ६ अंक नै छ। तर नेट रन रेटमा चेन्नाईलाई उछिन्दै हैदराबाद लिगको पाँचौं स्थानमा छ। लिगको शीर्ष स्थानमा भने मुम्बई इन्डियन्स रहँदा दोस्रो स्थानमा दिल्ली क्यापिटल्स रहेको छ।