ओलीसँग कड्किए प्रचण्डः ‘बैठक किन नबोलाउने ?’ प्रचण्ड-नेपाल ‘प्लान बी’ खोज्दै – Janadesh Daily | ePaper

ओलीसँग कड्किए प्रचण्डः ‘बैठक किन नबोलाउने ?’ प्रचण्ड-नेपाल ‘प्लान बी’ खोज्दै


जनादेश वाच ।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई पार्टी बैठक बोलाउन दबाब दिएका छन् ।

विहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्ड ओलीसँग कड्किएको प्रचण्ड निकट स्रोतले जनादेशलाई जानकारी दिएको छ ।

भेटको शुरुमै प्रचण्डले, ‘तपाईंको राजीनामा कसले माग्या छ र हिजो टिचिङ हस्पिटलका स्वास्थ्यकर्मी तथा कर्मचारीमाझ रोइलो गर्नुभएको ? अध्यक्ष भएर पार्टी कमिटी बैठकको सामना नगर्ने अनि असम्बन्धित क्षेत्र र बाहिर गएर राजीनामा मागियो भनी रोइलो गर्दै हिँड्नुको के अर्थ छ ? कसले माग्यो तपाईंको राजीनामा ?’ भन्दै प्रश्नमाथि प्रश्न गरेका थिए ।


प्रचण्डले अगाडि भनेका थिए, ‘अन्तरपार्टी निर्देशन (अपानि) मान्नुहोस्, पार्टी पद्धतिलाई आत्मसात गर्नुहोस् र कमिटीका बैठकहरू बोलाउनुस् भनिएको हो,अरु केही भनिएको छैन । तपाईं आफैँ आत्तिनु भयो । तपाईं आफैँ पार्टी फुटाउन उद्धत देखिनुभएको छ ।’

ओलीले भने बैठक किन राख्ने ? भन्दै प्रतिप्रश्न गरेका थिए । बैठक बोलाउनु भनेको बेकारमा आफूलाई गाली गर्नु र अप्ठेरो पार्नु मात्रै हो भन्दै उनले अहिले बैठक आवश्यक नरहेको बताएका थिए ।

राजीनामा मागिएको तर नदिने भन्दै उत्ताउलो अभिव्यक्ति दिएका ओलीले बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई साथमै राखेर प्रदेश १ का केही आफूनिकट नेताहरुसँग एक भर्चुअल बैठक गरेका थिए।

ती दुवै विषयबारे पनि बिहीबारको भेटमा प्रचण्डले ओलीलाई सोधेका थिए। पार्टी बैठक बोलाउने विषयमा छलफल गर्ने प्रस्ताव गर्ने प्रचण्ड बालुवाटार पुगेका भएपनि ओलीले बैठक राख्ने प्रस्ताव सिधै अस्वीकार गरेपछि डेढ घण्टामै उनी खुमलटार निवास फर्किएका थिए ।

प्रचण्ड-नेपाल समूहमा ‘प्लान बी’को खोजी

निरन्तर लचकता प्रदर्शन गर्दा र संवादको माध्यमबाट समाधान खोज्दा पनि ओली सहमतिमा आउनै नचाहेको प्रचण्डको बुझाइ छ । प्रचण्ड र अर्का बरिष्ठ नेता माधव नेपाल अब ओलीसँग वारपारको रणनीति तय गर्ने निष्कर्षमा पुगेका छन् ।

सोही तयारी अनुरुप प्रचण्डले बिहीबार विहान कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा वरिष्ठ नेता माधवकुमार नेपालसहित केही कानुन व्यवसायीसँग छलफल गरेका थिए ।

पेरिसडाँडामा कानुन व्यवसायीसँग गरेको छलफललाई ओलीले अविश्वासको प्रस्ताव ल्याउनका लागि गरिएको तयारीका रुपमा बुझेका छन् । त्यसैकारण प्रचण्डले बैठक राखौं भनेर गरेको प्रस्ताव ओलीले अस्वीकार गरेको प्रधानमन्त्री ओलीनिकट एक नेताले बताए।

अत्तालिएका प्रधानमन्त्री ओलीले बिहीबार विहान बसेको मन्त्रीपरिषद् बैठकमा पनि सरकारविरुद्ध बिभिन्न षडयन्त्रहरु भएको र जस्तोसुकै परिस्थितिको सामना गरिने मन्त्रीहरुसँग बताएका थिए ।

प्रचण्ड-नेपाल समूहले संवादको प्रयास जारी राख्ने तर ओलीले अटेरी गरिरहे पार्टी कमिटीको बैठक बोलाउने तयारी गरेको छ । कार्यकारी अध्यक्षको नाताले प्रचण्डले बैठक बोलाउने विकल्पबारे पनि नेताहरुबीच छलफल भएको छ।

यो पनि हेर्नुस्- 

ओलीले पार्टी निर्णय विपरित फेरि फाल्न थाले जबज मदन भण्डारी फाउण्डेसनको पासा

शितल निवास फेरि सक्रिय, ओलीको फकाउने फोन, प्रचण्डले भने- ‘नो’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्