वाग्मती ।
मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहनुभएका लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना हुनुभएको थियो । उहाँको आज बिहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिनुभयो ।
विसं २०४९ मा मकवानपुर जिविसका सभापति बन्नुभएका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । विसं २०३३ मा लामासहित सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिष्ट नेताहरु नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए ।
विसं २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्को सदस्य रहनुभएका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित हुनुभएको थियो । लामा जिविस मकवानपुरका सभापति भएपछि उहाँकै पहलमा काठमाडौँलाई तराईसँग जोड्न मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । मदन भण्डारी मार्गका रुपमा चिनिने उक्त मार्गबाट अहिले दैनिक सयौँ सवारी आवतजावत गर्ने गर्छन् ।
उत्तरी मकवानपुरको फाखेलका स्थायी बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताइन्छ । जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र तीव्र विवाद भएपछि अशोक राईको नेतृत्वमा लामासहित नेताले तत्कालीन नेकपा एमाले परित्याग गर्नुभएको थियो । रासस