ओलीको जुँगाको धाक, बैठक नराखे बहुमत पुष्टि गर्न चुनौति दिने इतर पक्षको तयारी – Janadesh Daily | ePaper

ओलीको जुँगाको धाक, बैठक नराखे बहुमत पुष्टि गर्न चुनौति दिने इतर पक्षको तयारी


जनादेश वाच ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओेलीले पार्टीमा पूर्वएमालेको गठजोड स्थापित गर्ने प्रयास जारी राखेका छन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्बन्ध तिक्ततापूर्ण बन्दै गएपछि ओली पूर्वएमाले फकाउने रणनीतिमा लागेका हुन् ।

यही सिलसिलामा बरिष्ठ नेता माधव नेपाललाई आइतबार बालुवाटार बोलाएर ओलीले लामै मन्त्रणा गरे । यद्यपि नेता नेपाल पक्षका नेताहरु ओलीको एकालाप सुनेपछि झनै निराश बनेर बालुवाटारबाट फर्किएको छ ।

करिब तीन घण्टा लामो बसाइमा ओलीले नेपाल पक्षलाई पार्टी फुटको संघारमा पुगेको र पहिलेभन्दा गम्भीर स्थितिमा रहेको बताए तर समस्या कसरी समाधान गर्ने भन्नेमा ओली प्रवेश गर्न चाहेनन्।

ओलीसँग पटकपटक संवादमा जोडिने तर अनावश्यक विवादमा फस्ने डरले नेता नेपालले सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्तलाई साथै लगेका थिए । सहभागी नेताका अनुसार अध्यक्ष ओलीले पार्टी विभाजन रोक्न नेता नेपालको साथ मागेपछि नेपालले पार्टी जोगाउने आधार प्रष्ट पार्न माग गरेका थिए । ओलीलाई नेपालले विगतमा झैँ समस्या ओलीमा नै रहेको जवाफ दिएका थिए ।

नेपालले पार्टी एकता सुनिश्चित गर्न निश्चित मार्गनिर्देशनका लागि केन्द्रीय सचिवालयबाट स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन उपयुक्त भएको र त्यसमा अग्रसर हुन ओलीलाई आग्रह गरेका थिए । त्यसलाई नेता पाण्डेसँगै नेपाल निकट नेताहरु रघुजी पन्त र भीम रावलले पनि अनुमोदन गरेका थिए।

ओलीले पहिले दुई अध्यक्षबीच छलफल र समझदारी हुनुपर्ने र त्यसका आधारमा महासचिवले बैठक बोलाउने व्यवस्था विधानमा भएको तर्क गरेका थिए ।

जुगाँको धाक
नेपाल पक्षलाई ओलीले आफ्नो शारीरिक अवस्थाको वर्णन गर्दै धाक लगाउने कोशिस पनि गरे । स्रो पटक मिर्गौला प्रत्यारोपणपछि आफू पूर्ण स्वस्थ रहेको, हाछ्यूँ पनि नआउने अवस्था मात्रै होइन, अब त सेतो जुँघा पनि आधाआधा कालो आउन थालेको बताएर ओलीले आफ्नो स्वस्थ र सक्रिय अवस्थाको बखान गरेका थिए । राजनीतिक लडाइका लागि तन्दुरुस्त र तयार रहेको सन्देश नेपाल पक्षलाई दिएर उनले पूर्वएमाले मिल्नुपर्नेमा जोड दिएको बताइएको छ ।

बहुमतको चुनौति दिने प्रचण्ड-नेपाल पक्षको तयारी
सचिवालयका बहुमत सदस्यले लिखित आग्रह गर्दा पनि ओलीले बैठक नबोलाए उनले संसदीय दलमा बहुमत सिद्ध गर्नुपर्ने स्थिति उत्पन्न हुने चेतावनी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मानव नेपाल पक्षका नेताहरुले दिएका छन् ।

ओलीले बैठक नराखे कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउने र सो बैठकले संसदीय दलमा बहुमत सिद्ध गर्न उनलाई निर्देशन दिइने उनीहरुको भनाइ छ। सोमबारसम्म बैठक नबोलाए थप कदम चाल्ने तयारी भएको नेताहरुको भनाइ छ।

यो पनि हेर्नुस्- 

द्वन्द चर्काउने ओलीको मुड, टेलिभिजनमा भने- हामी बिदा लिउँ, नयाँ पुस्तालाई जिम्मा दिउँ

पूर्वमाओवादी नेता तान्ने ओलीको दाउ बुझेपछि विच्किएका थिए प्रचण्ड

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्