भारतीय विदेश सचिवलगत्तै चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुने भएपछि भारतमा असन्तुष्टि – Janadesh Daily | ePaper

भारतीय विदेश सचिवलगत्तै चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुने भएपछि भारतमा असन्तुष्टि


जनादेश वाच ।

नेपालमा तीन दिनको फरकमा चीन र भारतका उच्च अधिकारीको भ्रमण हुँदैछ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङला नोभेम्बर २६ का दिन नेपाल आउँदैछन् भने त्यस लगत्तै अर्थात नोभेम्बर २९ (मंसिर १४) गते चीनका रक्षामन्त्री वाङ यी आउन लागेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक राजनीति निकै तात्तिएको बेला दुई उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

श्रृङला विदेश सचिवको पद सम्हालेपछि पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी नेपाल आएपछि पहिलो दिन परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेट्ने छन् भने त्यसपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्ने छन् । त्यसको भोलीपल्ट प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छट्टाछुट्टै भेटेर स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

भारतीय विदेश सचिव श्रृङलाले केही राजनीतिक दलका नेताहरुलाई भेट्ने कार्यक्रम पनि रहेको छ । उनको भ्रमण मुलत दुई देशबीच पछिल्लो समय बिग्रिएको सम्बन्ध सुधारमा केन्द्रीत हुने बुझिएको छ ।

भारतका विदेश सचिव आएको तीन दिनमै चिनियाँ रक्षामन्त्रीको भ्रमण गराउने तयारी नेपालले गरेपछि भारतमा असन्तुष्टि देखिएको छ ।

नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले नेपालले सन्तुलनका लागि यस्तो भ्रमण गराउन खोजेको भए गलत हुने बताएका छन् । भारतीय सचिव लगत्तै चीनबाट उच्चस्तरीय भ्रमण गराउनुले नेपालले भारतीय संवेदनशीलतामा ख्याल नगरेको देखिएको उनको भनाई छ ।

एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल रिलेसन–एआईडीआईएले भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसनसँगको सहकार्यमा सोमबार आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध’ वेबिनारमा पूर्वराजदूत रेले यस्तो टिप्पणी गरेका हुन् ।

भारतीय सेनाप्रमुख नरवणे कात्तिक २१ गते (नोभेम्बर ६) का दिन स्वदेश फर्केका थिए । नरवणे स्वदेश फर्केको २३ दिनपछि चिनियाँ रक्षामन्त्री वाङ आउन लागेका हुन् । उनी एक दिनका लागि मात्र नेपाल आउन लागेका हुन् । भारतीय सेनाप्रमुख नरवणेपछि चिनियाँ रक्षामन्त्री वाङ आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपामा देखिएको विवादको बीचमा रक्षामन्त्री वाङको यो भ्रमणलाई सो पार्टीका लागि महत्त्वपूर्ण मानिएको छ ।

चिनियाँ रक्षामन्त्री वाङ सबैलाई भेटघाट गरी सोही दिन बंगलादेश र त्यहाँबाट पाकिस्तान जाने कार्यक्रम रहेको बुझिएको छ । चिनियाँ रक्षामन्त्री वाङको यो भ्रमणलाई सुरक्षा रणनीतिको रुपमा लिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्