चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण – Janadesh Daily | ePaper

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण


भारतको गुप्चतर एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयल, भारतीय सेनापति मनोजमुकुन्द नरभणे तथा भारतीय विदेश सचित हर्षबर्दन शृङ्गलाको भ्रमणको लगतैपछि चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमणमा आज आउने कार्यले नेपाल छिमेकी राष्ट्रहरुको उच्चस्तरीय भ्रमणले राजनीतिक तथा कूटनीतिक क्षेत्रमा विशेष चर्चा पाएको छ ।

भारतको उच्चस्तरीय सुरक्षाअधिकारीहरुको नेपाल भ्रमण भएको लगतैपछि उत्तरतर्फको छिमेकी राष्ट्र चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणले गर्दा नेपालको सुरक्षाप्रति छिमेकी राष्ट्रहरुको बढ्दै गएको चासो र प्रतिस्पर्धाले कारण चिन्ताको विषय बनेको छ । यद्यपि, चिनियाँ रक्षामन्त्री वेई फेङ्गेको नेपालको औपचारिक भ्रमणले कोरोना  भाइरसको कारण नेपाल–चीनबीच को सम्बन्धमा झन्डै एक वर्ष देखि पारस्परिक सम्बन्ध रोकिएका अवस्थामा यो भ्रमणले उक्त सम्बन्ध खुला हुने औपचारिक रुपमा व्यक्त गरिएको छ ।

तथापि, यो भ्रमण भारत र अमेरिकाबीच भएको सुरक्षा सन्धि ‘प्लस टु’ तथा भारतको उच्च रक्षा अधिकारीको नेपाल भ्रमणभएको लगतैपछि यो चिनियाँ रक्षामन्त्रीको भ्रमण हुनुलाई विशेष अर्थपूर्ण रुपमा हेरिएको छ  ।

यसले गर्दा छिमेकी राष्ट्रहरुको चाँसोको विषय बढ्दै गएको समेत देखिएको छ । भारतको अमेरिकासँग सैनिक सुरक्षा सम्झौता हुनु र इन्डो–प्यासिफिक क्षेत्र चिनियाँ पक्ष विरुद्ध गर्ने नेतृत्व भारतीय पक्षले पाएको अवस्थामा यो चिनियाँ पक्षको भ्रमणले गर्दा यो भ्रमण अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको सुरक्षा समिकरण र प्रतिस्पर्धाको रुपमा रहेको छ । तसर्थ, यस भ्रमणको औचित्य विशेष रहेको छ । र यसले नेपाललाई सुरक्षाको तनावपूर्ण क्षेत्रको रुपमा स्थापित गर्ने काम भएको छ ।

अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको तनावले गर्दा भारतसमेत अब नेपालसँगको सीमा समस्याले गर्दा भईरहेको तनाव शिथिल पार्ने र परिवर्तन गर्ने स्थितिमा पुगेको देखिन्छ । यसैले गर्दा नेपालमा ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको आगमनले नेपालमा रअलाई सक्रिय बनाएको छ । तथा नेपालको सत्तारुढ दलभित्र उत्पन्नभएको विवादको समयमा प्रधानमन्त्रीसँग रातमा भेटेर आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको कुराले नेपालमा रहेको विभिन्न राजनीतिक तत्वहरुमा प्रभाव देखिन थालेको छ ।

यसैले गर्दा सीमा समस्या जस्ता विषयमा भएको राजनीतिक सहमति र भारतले गरेको गुन्डागर्ती, नवउपनिवेशवादी शैलीको विरुद्ध जनमत तयार भईरहेको अवस्थामा शिथिलता पैदा भएको रुपमा अभिव्यक्ति  आएको छ । सीमा सम्बन्धमा भारतसँग शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा वार्ता सुरु भएकाले भारत–नेपाल बीच रहेको सीमा विवादबाट उत्पन्न भएको राजनीतिक मौनतालाई ‘आइस ब्रेक’ गरिदिएको तथा यो समस्या छिट्टै टुङ्गिने देखिएको छ ।

नेपाल–भारतबीच परराष्ट्र सचिव स्तरीय वार्ता भएकोलाई सीमा समस्या अब छलफलबाट समाधान गरिने तथा नयाँ नक्सा र कालापानी–सुस्ता, लिम्पियाधुरा विवादबारे सम्बद्ध मन्त्रालय र निकायबीच छलफल गर्ने समझदारी भएको रुपमा प्रचार गरिएको छ ।

नयाँ राजनीतिक नक्सा र सीमांकनको आ–आफ्नै अडानका कारण चिसिएको नेपाल–भारत कूटनीतिक तथा राजनीतिक सम्बन्ध सुधार गर्न सिमाना विवादका विषय द्विदेशीय छलफलको प्रक्रियाबाट समाधान गरी यस विषयमा ‘आइस ब्रेक’ गरिने भएको छ । यसै अवस्थामा चिनियाँ रक्षा सचिव वेई फेङ्हेको नेपाल भ्रमणले अहिले नेपालमा भारतले सञ्चालन गरेको गतिविधिले आशंका उत्पन्न भएको देखिएको छ ।  यसैले गर्दा २०२१ को सुरुवातमा भ्रमण गरिने कुरा निर्धारण भएकोमा अहिले नै चिनियाँ रक्षामन्त्री भ्रमणको पछाडि दुई मुलुकको सैन्य सहकार्य, सहयोग र अभ्यास चीनले छिट्टै अगाडि बढाउन चाहेको स्पष्ट हुन्छ ।

अमेरिका र भारतबाट नेपाली सेनालाई प्राप्त भएको सहयोग र पछिल्लो समय भारतका बाह्य गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेको सफल भ्रमणको सन्देशले पनि चीनको रक्षामन्त्री वेईको भ्रमण छिटो हुन लागेको देखिन्छ । रक्षामन्त्री वेई भ्रमणमा अन्य एजेन्डा रहेपनि नेपाली सेनाले यसलाई दुई देशको पारस्परिक सम्बन्ध र डिफेन्स सम्बन्धको हिसाबले महत्वको साथ लिएको देखिन्छ ।

एक वर्ष अगाडि चीनका राष्ट्रपनि सी जिनपिङको भ्रमण भएपश्चात रक्षामन्त्री वेई फेङ्गेको नै नेपालमा दोस्रो चिनियाँ उच्चस्तरीय भ्रमण हो । गतवर्ष २०१९ को जुन मा नेपालको प्रधानसेनापति पूर्णचन्द्र थापाले चीनको भ्रमण गरेका थिए साथै, सोही वर्ष अक्टोबरमा रक्षामन्त्री रहेको ईश्वर पोखरेलको समेत चीन भ्रमण रहेको थियो ।

त्यसपछि नेपाल र चीनबीच सैनिक स्तरको सम्बन्ध शिथिलता आएको थियो । कोभिड–१९ को कारण हरेक वर्ष सेनाको शिवपुरीस्थित स्टाफ कलेजमा चिनियाँ तालिम लिने आउने गरेकोमा उक्त समय आएनन्, नेपाल–चीन बीच सगरमाथामैत्री सैन्य अभ्यास समेत भएन तथा कोभिडको महामारीको समयमा चिनियाँ जनमुक्ति सेना कारोना नियन्त्रणका लागि सामग्री लिएर नेपाल आपनि अन्य सहकार्यका काम भएनन्  ।

नेपाल र भारतबीच सीमा सम्बन्धी विवाद भईरहेको  र लिपुलेकमा सडक निर्माण गरी भारतले कैलाश मानसरोवरसम्म नेपालको भूमिलाई मिचेर भारत जोडेको विरुद्धमा चीनले कुनै प्रकृतिको प्रतिक्रिया नदिई मौनता धारण गरेको थियो भने हुम्लामा चीनले सीमा अतिक्रमण गरेको भनि नेपाल काँग्रेसले लगाएको आरोपले गर्दा यी दुई मुलुकबीच समस्या देखिएको थियो । यसैले गर्दा प्रधानमन्त्री ओलीले संखुवासभाको भ्रमण गरी उक्त क्षेत्रको चीनजाने नाकामा निरिक्षण गरी सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए ।

चीनले पश्चिम नेपालको भारतसँग जोडिएको क्षेत्रको नजिकै एक हजारभन्दा बढी जनमुक्ति सेना तयार गरी क्षेप्यास्त्र समेत तयार गरेको देखिन्छ । यस्तै, लद्दाख क्षेत्रमा चीन र भारतबीच घम्साघम्सी भई उक्त क्षेत्रमा लगभग १५ हजार सेना तैनाथ गरी तनाव बढेको छ । यस्तो अवस्थामा भारतीय सुरक्षा निकायले नेपालमा गतिविधि बढाएको अवस्थामा चिनियाँ रक्षामन्त्रीको हतारमा भ्रमणको आगमनले समेत विशेष अर्थ राखेको छ ।

रक्षामन्त्री वेईले नपालभ्रमण गरिसकेपछि दुईदेशबीच भएको डिफेन्स सम्झौतामा कुन–कुन क्षेत्रमा कसरी काम गर्ने भन्नेबारे योजनामा सहकार्य गर्ने भएको छ । कोभिडकै सम्बन्धमा औषधि खरिद गर्न नेपाली सेनालाई अधिकार दिइएको अवस्थामा चीनबाट खरिद गरी ल्याउँदा अत्यन्त महँगोमा परेको भनि भ्रष्टचारको आरोप लागेको अवस्थामा समेतबारेमा यो भ्रमणमा वार्ता हुन सक्ने अवस्था रहेको छ ।

 चिनियाँ विदेशमन्त्री वेई को भ्रमणको समयमा भ्रमणको नेतृत्व परराष्ट्र मन्त्रालयद्वारा गरिने भएतापनि नेपाली सेनाले उनलाई सैनिक मुख्यालयमा जंगी अड्डामा गार्ड अफ अनरले सम्मान गर्ने र रक्षामन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापाको एक्लाएक्लै भेट गर्ने कार्यक्रम रहेकाले पनि यो भ्रमणले सैनिक सम्बन्ध बारेमा विशेष महत्व राख्ने देखिन्छ ।

चीनमा हालै सम्पन्न १९ औँ केन्द्रीय समितिको बैठकले दक्षिण एसियामा राजनीतिक पक्षलाई समेत बढावा दिने प्रस्ताव पारित गरेको सम्बन्धमा रक्षामन्त्रीको यो भ्रमणको उद्देश्य यही प्रस्तावलाई अगाडि बढाउनु रहेको छ । भारतीय पक्षले रअको माध्यम र सैनिक सम्बन्ध सम्म विस्तार गरीरहेको अवस्थामा नेपालमा विदेशमन्त्री आउनुले गर्दा पनि विशेष अर्थरहेको देखिन्छ । साथै, नेपालको वर्तमान ओली सरकारले चीनलाई घेराउँ गर्न अमेरिकाले प्रस्तावित गरेको सम्झौता एमसीसीमा प्रवेश गर्न लागेको कुराले पनि चीनलाई चिन्तित तुल्याएको हुनपर्दछ ।

चीनसँगको बिआरआई परियोजनालाई अगाडि नबढाउनु तर, अमेरिकासँगको एमसीसीलाई अगाडि बढाउने कार्य गर्नुले गर्दा चीन पहिलेदेखिँनै शसंकित रहेको छ । चीनसँगको सीमा विवाद रहेको भनि गरिएको प्रचारलाई पनि यसको आधारमा लिइएको छ र चीनसँग जोडिएको १५ जिल्लामा कनेक्टीभिटी बढाउने र विकासको लागि रकम छुट्याइएको भएतापनि यो कार्य अगाडि नबढेको अवसथाले गर्दा चीन र नेपालबीच सम्बन्ध राम्रो भनिएतापनि क्रियाकलापले भने यो कुरालाई गलत सावित गरिदिएको छ ।

लामो समयदेखि लिम्पियाधुरा बारेमा गरिएको भारतसँगको सम्झौता बारेमा चीनले यो विषयलाई खारेज नगरी भारतसँगको यो समझदारीलाई कार्यान्वयन तहमा लैजाने कार्य भएकाले समेत नेपाल र चीनको सम्बन्धमा असर परेको अवस्थामा रक्षामन्त्रीबाट हुने यो भ्रमण ले यी कुराहरुलाई समेत प्रष्ट पार्ने देखिएको छ ।

बीआरआई परियोजनाअन्तर्गत ९ वटा परियोजनाको प्रस्ताव नेपालले राखेकोमा कुनैपनि प्रस्तावलाई चिनियाँ पक्षले समावेश नगरेको हुँदा चीन र नेपालबीच विश्वासमा विस्तारै कमी आएको देखिन्छ । नेपाल चीनभन्दा पनि भारत र अमेरिकासँग नजिक हुन थालेको हुँदा चीनमा अविश्वासको स्थिति पैदा भएको छ । यस्तै, चीन र नेपालबीचको सुरक्षाको सहकार्य कोभिडको कारण शिथिलता पैदा भएकाले यसलाई अघिल्लो चरणमा बढाउन पनि यो भ्रमण महत्वपूर्ण रहेको छ ।

चीनका रक्षामन्त्री वेई फेङ्वे भारतको विदेशसचिव हर्षवर्दन शृङ्गला नेपालको दुई दिनेभ्रमण गरी फर्किएनसाथ हुन लागेको रक्षामनत्री जनरल वेई फेङ्वेको नेपाल भ्रमणपछि बंगलादेश जाने भएको छ । यो भ्रमणलाई नेपाली पक्षले गोप्य राखेको छ । खाली परराष्ट्र तथा रक्षामन्त्रीलाई जानकारी गराई कार्यक्रम अगाडि बढाईएको छन् ।

नेपालको सत्तारुढ दल नेकपाभित्र अन्तरविरोध उच्च भईरहेको अवस्थामा यो विवादको आन्तरिक विषयलाई लिएर चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्ला–बेग्लै भेट गरेकी छन् । यो कुरालाई नेपालको आन्तरिक मामिलामा चिनियाँ पक्षको आन्तरिक हस्तक्षेप बढ्दै गएको रुपमा हेरिएको छ ।

चीनको यसअघि नेपालको आन्तरिक मामिलामा कुनै कीसिमको खुला कूटनीतिक हस्तक्षेप नीति रहँदै आएकोमा यसमा समेत परिवर्तन भएको छ । यो भ्रमणलाई शक्ति, प्रभाव र भूमिका बढाउन चीन र भारत सक्रियत भएको अर्थको रुपमा यो भ्रमणलाई लिइएको छ । सात दशकदेखि दक्षिणी छिमेकी भारत चासो र क्रियाशीलताले थिलल्यिाएको नेपाली राजनीतिमा अब उत्तरी छिमेकी चीन पनि उत्तिकै सक्रिय हुन  थालेको देखिन्छ । यसले गर्दा वल्ल घरको नरे पल्लो घरमा सरे समान भएको छ । घरझगडा मिलाउन महामहिम राजदूतको सक्रियताले यसै कुरालाई इकिंत गरेको छ ।

यसले  विषयले नेपालभित्र  प्रभाव पार्न भारत र चीनबीच होड चलेको स्पष्ट हुन्छ । पाँचवर्षअघिको भारतले गरेको नाकाबन्दीपछि नेपाल भारतको प्रभाव घट्नगई  चीनले आफ्नो स्थान ओगटेर आफ्नो प्रभाव जमाएको छ । यसर्थ, भारतले आफ्नो गुमेको स्थान फिर्ता पलिन जोड गरिरहेको छ भने नाकाबन्दीसँगै नेपामला पाएको स्थान कायम राख्ने चीनको जोबीच होडबाजी चलिरहेको अवस्था छ । भारतीय विदेशमन्त्री तथा चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण एकै पटक संयोगवश हुनु कुनै कागताली होइन, चिनियाँ रक्षामन्त्रीको आकस्मीक भ्रमण कूटनीतिक र सुरक्षाभन्दा पनि राजनीतिक कारणमा अभिप्रेरित रहेको देखिन्छ ।

अमेरिकामा जो बाइडेन राष्ट्रपतिमा विजय भएपनि अमेरिकाको चीनलाई घेर्ने रणनीतिमा भारत पनि सम्मिलित भएको अवस्थामा यो भ्रमण हुन पुगेको हो । यसले नेपालमा चीनले आफ्नो भूमिका अरु प्रभावकारी बनाउन चाहेको देखिन्छ । भारतसँग चीनको सम्बन्ध चिसिँएको अवस्थामा नेपालमा चीनको प्रभाव बढ्नुले नेपालको स्वतन्त्र अस्तित्वको लागि पनि महत्वपूर्ण हुन जान्छ ।

अहिलेको अवस्थामा नेपालको प्रधानमन्त्री जसरी पनि आफ्नो सत्तामा टिकिराख्नका निम्ति भारतलगायतसँग जे पनि गर्न तयार भएको अवस्था छ तथा रअको निर्देशन र योजनाअन्तर्गत जस्तो पनि काम गर्न सक्ने अवस्थामा पुगेको छन् । प्रधानमन्त्री पद जोगाउनका लागि आफू जतापनि ढल्कन सक्ने अस्थामा चिनियाँ रक्षामन्त्रीको यो भ्रमणले अत्यन्त महत्व राख्ने देखिन्छ । यसले नेपालको स्वतन्त्रता र सार्वभौमिकताको रक्षाको लागि समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ ।

अहिलेको स्थितिमा भारत, चीन र अमेरिकासँगको सम्बन्ध पनि नयाँ भू-राजनीतिक स्थितिमा प्रवेश गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्