अविरल वर्षाका कारण सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा – Janadesh Daily | ePaper

अविरल वर्षाका कारण सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा


सर्लाही, (रासस) :

आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् ।

भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।

सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन ।

निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन् ।

जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिमलगायतका खोलामा जल सतह बढेको छ ।

खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत शुरु गरेको जिल्लाका किसानहरुले बताएका छन ।

गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।

आइतबारकै तुलनामा पानी परिरहे डुबानको समस्या बढ्न सक्ने उहाँको भनाइ छ ।

मनुसन सक्रिय भई केही दिन वर्षा हुने अनुमान गरेकाले नदी तथा खोला किनारका छेउ र चुरेभेगमा बसोबास गरिरहेका नागरिकलाई सचेत हुन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यस्तै वर्षाको पानीले जिल्लाको पूर्व–पश्चिम हुलाकी र अन्य भित्री सडकसमेत हिलाम्मे हुँदा जनजीवन प्रभावित बनेको छ ।

सर्लाहीको कर्णाली भनेर मानिने नारायणखोलामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सवारी आवातजावत ठप्प भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्