काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सातवटै प्रदेशका प्रदेश प्रशिक्षण प्रतिष्ठान तथा प्रदेश सुशासन केन्द्रहरूबीच आज भर्चुअल बैठक भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज), जावलाखेलको आयोजनामा सङ्घीय सरकार र प्रदेश सरकारअन्तर्गत प्रशिक्षण प्रतिष्ठानबीच छलफल भएको हो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले प्रदेशका प्रशिक्षण केन्द्र तथा प्रतिष्ठानको क्षमता विकासका लागि आवश्यक प्राविधिक ज्ञान, सीप र दक्षता हस्तान्तरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । बैठकले सहकार्य र समन्वयका क्षेत्र पहिल्याउने प्रयासको शुरुआत गरेको उहाँको भनाइ छ ।
बैठकमा स्टाफ कलेज, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशका प्रमुख सचिव तथा सचिव तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान तथा प्रदेश सुशासन केन्द्रका प्रमुख तथा प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
उहाँहरुले सङ्घीय संरचनाअनुसार प्रदेशमा स्थापना भएका प्रशिक्षण प्रतिष्ठान तथा सुशासन केन्द्रको पाठ्यक्रम निर्माण, गुणस्तर, प्रशिक्षण तथा मूल्याङ्नका विधि तथा प्रक्रियामा एकरूपता र निश्चित मापदण्डअनुसार हुनुपर्नेमा जोड दिनुभएको थियो । स्टाफ कलेजले प्रदेशस्तरका प्रशिक्षण केन्द्र तथा प्रतिष्ठानलाई प्राविधिक सहयोग गर्नुपर्ने पनि उनीहरुले आवश्यकता औँल्याएका छन् । रासस