चीनको प्रयास ! भेटिएला त नेकपा फेरि जोड्ने राजनीतिक रसायन – Janadesh Daily | ePaper

चीनको प्रयास ! भेटिएला त नेकपा फेरि जोड्ने राजनीतिक रसायन


जनादेश विश्लेषण ।

चिनियाँ कम्युनिष्ट पार्टी नेकपाको उच्चस्तरीय टोली यतिबेला नेपाल भ्रमणमा छ । सबै कुरा गोप्य राखिएको भ्रमणको उद्देश्य र तालिका स्पष्ट नभएपनि चीनको पटक पटकको आग्रहविपरित सत्तारुढ नेकपाका नेताहरु एकीकृत रहन नसकेपछि चीनले नेकपालाई जोड्ने राजनीतिक रसायन खोज्दै काठमाडौं आइपुगेको हो ।

चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी  र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ । आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री र प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जनाएका छन् ।

 

त्यसैगरी चिनियाँ टोलीले सोमबार बिहान ९ बजे नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार निवासमा भेटवार्तागर्ने तय भएको छ। त्यसपछि अर्का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता तय भएको छ। सोमबार बिहान ११ बजे चिनियाँ टोलीले वरिष्ठ नेता झलनाथ खनालसँग डल्लुमा भेट गर्ने कार्यक्रम छ।

नेकपाभित्र विवाद चर्केको र संसद विघटन भएको अवस्थामा नेकपा एकता अघि नेपाल आएको टोलीकै नेतृत्वकर्तासहित चिनियाँ पक्षको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

यसअघि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी थिइन्। उनले राष्ट्रपति भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपालसँग भेट गरेकी थिइन्।

तर नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो । चीनले प्रधानमन्त्री ओलीलाई पार्टी जोगाउन सत्ता छोड्नुपर्ने छोड्न तर नेकपालाई एकीकृत राख्न आग्रह गरेको भएपनि ओलीले सत्ता निरन्तरताका लागि भारतसँग सहकार्य बढाएका थिए ।

चीन कुनै हिसाबले पनि नेकपा नफुटोस् भन्ने चाहन्छ। सोहीबमोजिम उसले अन्तिम कसरत गरिरहेको छ। उपमन्त्री येचौको टोलीमा सन हेयान, लियाङ विआन र झेङ युआ आएका छन् ।

आइतबार साढे १ बजे चीनको चेङ्दुबाट काठमाडौं उत्रेको चार सदस्यीय चिनियाँ टोली विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावास पुगेको थियो।

कोरोना महामारीबाट जोगिन पीपीई लगाएरै काठमाडौं उत्रेको टोली चार दिन नेपालमा रहँदा दूतवासभित्रै बस्ने जनाइएको छ।

के चाहन्छ चीन

चीनले नेपालमा आर्थिक रूपमा लगानी बढाउनका लागि केही वर्षयता राजनीतिक स्थिरतामा जोड दिँदै आएको उनीहरूका सार्वजनिक अभिव्यक्तिबाटै देखिन्थ्यो।

नेकपालाई एक बनाउन र त्यसलाई जोगाइराख्न बेइजिङले थुप्रै प्रयासहरू गरेको भन्ने समेत एक थरीको विश्लेषण पाइन्छ।

यसबीच नेकपामा सीपीसीले सैद्धान्तिक प्रशिक्षण समेत चलाएको थियो जसलाई नेपाली नेताहरूले ‘अनुभव आदानप्रदान’को रूपमा अर्थ्याउने गरेका थिए।

फाइल तस्विर
 फाइल तस्विर

खुलापनपछिको एउटा कालख‌ण्डमा विश्वका ठूला शक्तिसँगको सहकार्यमा केन्द्रित रहेको चीनले विश्वशक्ति बन्ने दौडमा रहेको पछिल्लो समयमा भने ‘चीनको उदयसँग छिमेकीहरू जोडिने’ भन्दै उनीहरूलाई प्राथमिकतामा राख्न थालेको चिनियाँ सरकारी दस्तावेजहरूमा पाइन्छ।

दक्षिण एशियामा समेत चिनियाँ राष्ट्रपति सी जिनपिङ्ले अफगानिस्तानबाहेक अन्य देशमा भ्रमण गरिसकेका छन् जहाँ चिनियाँ सहयोग निकै बढेको पाइन्छ। भुटानसँग चाहिँ उसको दौत्य सम्बन्ध नै छैन।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुँदा देखिएको चिनियाँ चासो पछिल्लो समय सत्तारुढ दलभित्र देखिएको अन्तर्विरोध र त्यसले निम्त्याउन सक्ने परिस्थिति साम्य पार्न लक्षित रहेको विश्लेषकहरूको बुझाई छ ।

यो पनि हेर्नुस्- 

चिनियाँ टोलीले राष्ट्रपतिलाई के भन्यो? यस्तो छ नेपाललाई चिनियाँ राष्ट्रपतिको सन्देश

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्