बिरालोले पायो सेक्योरिटी गार्डको जागिर – Janadesh Daily | ePaper

बिरालोले पायो सेक्योरिटी गार्डको जागिर


काठमाडौं । अहिले संसारमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण करोडौँ मानिसहरुले आफ्नो जागिर तथा व्यवसाय गुमाएर बेरोजगार बनिरहेका छन् ।

तर मानिसहरुले रोजगारी गुमाइरहेको यो मौकामा अष्ट्रेलियामा चाहिँ एउटा बिरालोले गज्जबको जागिर पाएको छ ।

कसैकोमा पनि नपालिएको अर्थात् भुस्याहा वा छाडा अवस्थामा रहेको एक बिरालोलाई अष्ट्रेलियाको एपवर्थ अस्पतालले सुरक्षा गार्डको जागिर दिएको हो ।

रिपोर्ट अनुसार उक्त बिरालोको नाम एलउड हो । उसलाई रिचमण्ड सहरस्थित एपवर्थ अस्पतालले सेक्योरिटी गार्डको रुपमा भर्ना गरी काममा खटाएको छ ।

अस्पताल प्रशासन उक्त सुरक्षा गार्ड बिरालोलाई बकाइदा एउटा परिचयपत्रसमेत दिएको छ, जसमा उसको फोटो, उसको नाम तथा कामसमेत उल्लेख छ । ड्युटीमा रहेको बेला एलउडले उक्त परिचयपत्र आफ्नो घाँटीमा भिर्ने गर्दछ ।

एपवर्थ अस्पतालमा प्याथोलोजिष्टको काम गरिरहेका च्यान्टेल ट्रोलिपका अनुसार उक्त बिरालो पछिल्लो एक वर्षदेखि अस्पतालको मुख्य गेटको आसपास यत्तिकै घुम्ने गर्दथ्यो । सो बिरालो कसैले पालेको बिरालो नभएको हुँदा त्यसको बस्ने ठेगान पनि थिएन ।

दिनहुँ अस्पतालको मुख्य गेटमा आएर यताउता गर्ने उक्त बिरालोमाथि अस्पतालका कर्मचारीको नजर पर्यो । त्यसपछि त्यसलाई अस्पतालले नै पाल्ने र सुरक्षा गार्डका रुपमा खटाउने आइडिया फुर्यो ।

सुरक्षा गार्डको रुपमा भर्ना गरिएको एलउडले तलब कति पाउला ? उसलाई कुनै नगद तलब भत्ता दिनु पर्दैन । मिठो–मिठो खानेकुरा, मज्जाको हेरचाह र बसोबास नै उसको तलब हो ।

–एजेन्सीको सहयोगमा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्