अर्को मोर्चामा पनि चीनसँग पछारियो अमेरिका, राष्ट्रसंघले निकाल्यो आश्चर्य लाग्दो आँकडा – Janadesh Daily | ePaper

अर्को मोर्चामा पनि चीनसँग पछारियो अमेरिका, राष्ट्रसंघले निकाल्यो आश्चर्य लाग्दो आँकडा


जनादेश, काठमाडौँ ।

सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी एफडिआई भित्र्याउने मुलुकमा चीनले अमेरिकालाई पछि पारेको छ ।

राष्ट्र संघको वाणिज्य तथा विकास सम्मेलन युएनसीटिएडीले जारी गरेको प्रतिवेदनमा चीन विश्वकै सवैभन्दा धेरै एफडिआई रहेको उल्लेख छ । गत वर्ष अर्थात सन् २ हजार २०मा अमेरिकामा विदेशी कम्पनीको नयाँ लगानी अघिल्लो वर्षको तुलनामा आधाले घटेको छ भने चीनमा ४ प्रतिशतले बढेको छ ।

बढ्दो एफडिआईले विश्व अर्थतन्त्रमा चीनको प्रभाव बढिरहेको देखिएको छ । गत वर्ष चीनमा १ खर्ब ६३ अर्ब डलर एफडिआई आर्कषित भएकोमा अमेरिकामा १ खर्ब ३४ अर्ब डलर भित्रिएको युएनसीटीएडीको तथ्याङ्कमा उल्लेख छ ।

अघिल्लो वर्ष अर्थात सन् २ हजार १९मा अमेरिकामा २ खर्ब ५१ अर्ब डलर बराबरको नयाँ एफडिआई भित्रिएको थियो भने चीनमा १ खर्ब ४० अर्ब डलर भित्रिएको थियो । अमेरिकामा सन् २ हजार १६मा एफडिआई उच्चतम विन्दू ४ सय ७२ अर्ब डलर पुगेको थियो भने चीनमा १ सय ३४ अर्ब डलर पुगेको थियो । त्यसयता चीनको एफडिआईमा लगातार वृद्धि भइरहेको छ भने अमेरिकामा घटिरहेको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्पनीलाई चीन छाड्न र आफ्नै मुलुकमा लगानी गर्न प्रोत्साहित गरेका थिए । विश्व अर्थतन्त्रमा चीनको बढ्दो प्रभावले केही वर्षमा विश्वको सवैभन्दा ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ ।

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण आगामी सन् २ हजार २८मा चीन विश्वको नम्बर वान अर्थतन्त्र बन्ने बेलायतस्थित सेन्टर फर इकोनोमिक्स एण्ड बिजिनेस रिसर्चले प्रक्षेपण गरेको छ ।

कोरोना महामारीका कारण गत वर्ष चीनको अर्थतन्त्र संकुचन भएपनि समयमै संक्रमण नियन्त्रण गरेकोले आर्थिक वृद्धिदर बढेको छ । यद्यपी अमेरिका लगायत विश्वका अधिकांश मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्