उनको धार्मिक होइन दिल्लीको यो रणनीतिसँग जोडिएको छ ओलीको पशुपति यात्रा – Janadesh Daily | ePaper

उनको धार्मिक होइन दिल्लीको यो रणनीतिसँग जोडिएको छ ओलीको पशुपति यात्रा


जनादेश विश्लेषण ।

प्रतिनिधिसभा विघटन गरेपछि धेरैलाई आशंका छ- ओली संघीयता र धर्म निरपेक्ष जस्ता लामो संघर्ष पछि प्राप्त उपलब्धिको विपक्षमा उँभिने छन् ।

त्यस्ता शंकालाई थप बल पुर्‍याउँदै ओली अब धार्मिक अवतारणमा अवतरित हुन थालेका छन् । प्रधानमन्त्री बन्दा ईश्वरको शपथ खान अस्वीकार गरेका र झापा विद्रोहका क्रममा ज्यान मुद्धामा जेल परेका केपी ओलीले अब हिन्दुवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै शैलीमा प्रस्तुत हुने झल्को दिएका छन् ।

ओली सोमबार बिहान सबेरै पशुपति मन्दिर पुगेका थिए । २० मिनेट पूजा र दर्शनमा खर्चिएका उनले थप एक घण्टा पशुपति परिसरमा बिताए । प्रधानमन्त्रीले ओलीले पञ्चामृत पूजा गरे भने विधिअनुसार ओमकार दर्शन गरेका थिए भने संकल्पसहितको पूजा उनले लाखबत्ती पनि बाले ।

कोषको अभिलेखअनुसार गणतन्त्र स्थापनापछि प्रधानमन्त्री पदमा बहाल रहँदा पशुपतिको दर्शन गर्न जाने ओली दोस्रो बहालवाला कार्यकारी प्रमुख हुन् । यस अघि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पशुपति पुगेका थिए ।

ओलीले पहिलो कार्यकालमा पनि सोमबार नै पशुपति पुगेर दर्शन र संकल्प पूजा गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ०७१ मा दक्षिण एसियाली क्षत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा सहभागी हुन आउँदा सोमबार पारेर पशुपतिको दर्शन गरेका थिए ।

संवैधानिक संकटको बीचमा भएको ओलीको पशुपतिगमनलाई राजनीतिक अर्थसमेत लगाउन थालिएको छ । पछिल्ला दिनहरूमा पूर्वीय दर्शन, पूर्वीय सभ्यता, संस्कार तथा रितिरिवाज जस्ता कुरामा ओलीले जोड दिने गरेका छन्। आफ्ना विचार-अभिव्यक्तिमा उनी पूर्वीय समाज र दर्शनको सन्दर्भ बारम्बर पस्किने गर्छन्।

गत असारमा प्रधानमन्त्री ओलीले राम नेपाली भएको र अयोध्या नेपालमै रहेको विवादस्पद अभिव्यक्ति दिएका थिए । भानु जयन्तीका अवसरमा दिइएको यो अभिव्यक्तिको भारतले त खण्डन गर्‍यो नै ओलीकै सत्तारुढ दल नेकपाभित्र समेत आलोचना भएको थियो ।

प्रधानमन्त्रीले गैरसंवैधानिक तरिकाले संसद विघटन गरेपछि त्यसको छिनोफानोबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले संसद पुनर्स्थापना गरेमात्र गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जोगिने अपेक्षा गरिएको छ ।

भारतमा नरेन्द्र मोदी सत्तामा आएपछि हिन्दु धर्मलाई आधार मानेर आफ्नो राजनीतिक वर्चश्व कायम गरेकोले ओलीले समेत सोही बाटो अपनाउन खोजेको स्पष्ट देखिएको छ ।

प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्बन्धबारे विवादित सामग्री प्रसारण गर्ने भारतीय टेलिभिजन जीन्यूजसँगको अन्तर्वार्तामा ओलीले प्राचीन किंवदन्तीको सहारा लिएर धार्मिक विषय उठाएका थिए ।

जनमत आफूतिर तान्न ओली जस्ता नेताहरूले चतुर्‍याइँपूर्वक पाइला चाल्छन् भन्ने यी घटनाक्रमबाट स्पष्ट भएको छ । चुनाव घोषणा गरेका ओलीले हिन्दूहरुको मत लिन पशुपतिप्रति भक्ति देखाएका हुन् ।

डिजाइन भारतकै

धर्म र संस्कृतिलाई समाजको मूल आधार मान्ने एउटा महत्वपूर्ण तप्का छ। नेपालमा राजतन्त्र सकिएपछि त्यो तप्कालाई भरपर्दो नेतृत्व दिन कसैले सकेको छैन। राप्रपामाथि उक्त तप्काको भरोसा कमजोर हुँदै गएको पछिल्ला चुनावहरूले देखाएका छन्। ओली त्यही ‘कन्जरभेटिभ’ तप्कालाई आफूतिर तान्न चाहन्छन्। त्यही ध्येयका साथ प्रधानमन्त्री ओलीले सोमबार पशुपतिनाथको ढोका ढकढक्याएका हुन्। र यो सबका लागि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका गुप्तचर दूत समक्ष कसम पनि खाइसकेको श्रोतले बताएको छ ।

ओलीले संसद विघटन गर्नु अघि आएका बालुवाटार छिरेका भारतीय गुप्तरच संस्था ‘रअ’ का प्रमुख समन्त गोयलसँग ओलीले तत्कालका लागि नेपालको नयाँ नक्शालाई निष्क्रिय तुल्याउने र वर्तमान संविधानको विकल्प खोज्ने अवस्थामा पुर्‍याउने भारतीय रणनीतिलाई सघाउने प्रतिवद्धता जनाएको बताइन्छ ।

नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने शर्त मोदी वृत्तले राखेको छ । जसका लागि भारतले ओलीको सत्ता निरन्तरताका लागि सघाउने तर आगामी चुनावमा हिन्दु राष्ट्रको मुद्धालाई प्रमुख बनाउने सहमति भएको बताइएको छ । आफ्नो अहसमतिमा बनाइएको संविधानलाई असफल तुल्याउनका लागि ओली नै सहि पात्र भएको दिल्लीको ठहर छ र ओलीको पशुपति यात्रा त्यही रणनीतिको अंग बन्न पुगेको छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्