विघटनको बचाउ गर्ने वकिलः प्रधानन्यायाधीशले प्रश्न सोधेपछि पानी खान्छन्, जवाफ आउँदैन – Janadesh Daily | ePaper

विघटनको बचाउ गर्ने वकिलः प्रधानन्यायाधीशले प्रश्न सोधेपछि पानी खान्छन्, जवाफ आउँदैन


जनादेश वाच ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा विघटनको बचाउमा सरकारको तर्फबाट बहस भैरहेको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले दुई दिन बहस गरिसकेका छन् । सोमबारबाट सुरु भएको उनको बहस मंगलबार दिउँसो मात्र सकियो । मंगलबार वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सुरु गरेका छन् ।

मंगलबार दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको ‘प्रतिरक्षा’ गर्न उभिएका महान्यायाधिवक्ता खरेलले न्यायाधीशका अधिकाँश प्रश्नपछि पानी खान्थे तर स्पष्ट जवाफ दिँदैनथे । उनले बहस अवधिमा एक जग पानी रित्त्याए । हरेक प्रश्नपछि उनी भन्थे, ‘श्रीमानको जिज्ञासामा म एकछिनमा आउँछु ।’

न्यायाधीशका एक दर्जन बढी प्रश्‍नको जवाफ नदिई पानीको घुट्कोमा निलिदिएका खरेलले संवैधानिक दायित्वले बहसमा उभिएको भन्दै आत्मसमर्पणको भाषा बोलेका थिए ।

एउटै तर्क दोहोर्‍याइरहेका खरेललाई न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्‍न गरे, ‘अर्को सरकार बन्न सक्ने अवस्था छैन भन्ने कुराको प्रमाणीकरण प्रधानमन्त्रीज्यूले आफैँ गर्ने हो कि, संसदको अधिवेशन बोलाएर संसदभित्र त्यसको प्रमाणीकरण गर्ने हो ?’

जवाफमा खरेल २०५२ सालको विघटनको सन्दर्भ सुनाउन थाले । हरेक प्रश्‍नलाई २०४७ सालको संविधान र पुराना विघटनसँग जोड्दै ‘जबरजस्ती’ अर्थ्याउने प्रयास गरिरहेका खरेललाई सिन्हाले पटक पटक रोकेर भनेका थिए, ‘हरेक कुराको जवाफ २०५२ सालमा फर्केर हुँदैन ।’ खरेल नाजवाफ भए ।

चिया विश्रामपछि वरिष्ठ अधिवक्ता सुशील पन्त बहसमा आएका थिए । बहसमा उभिएका पन्तले आधा अंग्रेजी आधा नेपाली भाषामा चर्को स्वरमा बोल्दै बहस सुरु गरे । बेञ्चबाट आएको प्रश्‍नलाई उनले पनि खरेलको सिको गर्दै ‘म एकछिनमा आउँछु श्रीमान,’ भन्दै पन्छाए ।

प्रधानमन्त्रीलाई मन लागेको बेलामा विघटन गर्न पाउने दाबी गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई मन लाग्यो भने प्रतिनिधिसभा विघटन गर्न पाउँछ । कसरी, किन भन्ने कुरा भएन नि !’

प्रश्न हिजो, जवाफ आज
पन्तलाई न्यायाधीशहरुले थुप्रै प्रश्न सोधेका थिए । तर, जवाफ उनले दिन पाएनन् । ‘ल अब बाँकी भोलि गरौं,’ चार बजेपछि संवैधानिक इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने।

प्रधानन्यायाधीशले त्यसो भन्नु पहिलेसम्म न्यायाधीशहरु उनलाई प्रश्न थपिरहेका थिए। ती प्रश्नको जवाफ उनले बुधबार अर्थात् आजमात्रै दिने भएका छन्।

सोमबारदेखि प्रधानमन्त्रीको पक्षबाट बहस सुरु भएको हो। तर दुई दिनमा दुई जनाको पनि बहस सकिएको छैन।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्