प्रचण्डले आन्दोलनको उद्घोष गरेपछि लाग्यो नाराः ‘आदेश देउ प्रचण्ड, हामी लड्न तयार छौ’ – Janadesh Daily | ePaper

प्रचण्डले आन्दोलनको उद्घोष गरेपछि लाग्यो नाराः ‘आदेश देउ प्रचण्ड, हामी लड्न तयार छौ’


जनादेश, काठमाडौँ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुनको पहिलो साताबाट संयुक्त रूपमा ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् ।

आम हड्ताल सफल पार्न सातदोबाटोदेखि कोटेश्वर र कोटेश्वरदेखि पुल्चकोसम्म मार्च गरेका प्रचण्डले सबै राजनीतिक दल, नागरिक समाज, कलाकारहरूले संयुक्त रूपमा बृहत् आन्दोलन गर्ने विषयमा छलफल भइरहेको बताए ।

संवैधानिक आयोगमा बल मिच्याइपूर्वक नियुक्ति गरेको र तानाशाही प्रवृत्ति बढ्दै गएकाले आमहडताल गर्न बाध्य भएको उनले बताए । अहिलेको लडाइँ केपी ओली-प्रचण्ड वा माधव नेपालबीचको नभई लोकतन्त्रवादी र लोकतन्त्रविरोधीबीचमा भइरहेको बुझ्न उनले अपिल गरेका छन् ।

प्रचण्डले सडकमा आउन रहर नहुँदा नहुँदै पनि बाध्यताले आउनु परेको दाबी गरे। ‘७० वर्ष लडेर ल्याएको लोकतन्त्र र गणतन्त्र खतरामा देखेर सडकमा आएका हौं। यो जनताको अधिकार स्थापित गर्ने आन्दोलन हो’ उनले भने ‘जनताले बुझ्नेछन् र सडकमा साथ दिएका छन्।’

दाहालले अब सडकमा पार्टीहरू मात्र नभएको टिप्पणी गरे। ‘हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं। त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ। त्यसपछि केपी ओलीको आयु सकिन्छ,’ उनले भने।

केपी ओलीले गर्ने पञ्च र्‍याली बाहेक केही नभएको उनको दाबी थियो । ‘२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्‍याली गर्थ्यो। अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ,’ प्रचण्डले भने, ‘हामीले जनआन्दोलन गरिरहेका छौं। उहाँहरू पञ्च र्‍याली गर्दै हुनुहुन्छ। मैले त यसलाई जंगली राज भनेको छु।’

प्रचण्ड सहभागी जुलुसमा आएका कार्यकर्ताहरूले ‘आदेश देऊ प्रचण्ड हामी लड्न तयार छौं’ लगायतका नारा लगाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्