‘खबरदार ! केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनौँ’ – Janadesh Daily | ePaper

‘खबरदार ! केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनौँ’


जनादेश, काठमाडौँ।

नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिनुभएको छ ।

संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने उल्लेख गर्नुभयो ।

बिहीबार बुटवलमा र केही दिनअघि काठमाण्डुको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो । ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गर्नुभयो । केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाएन आदेश दिएको खबर सुनेको भन्दै पुनले आपत्ति जनाउनुभयो ।

सेना र प्रहरी जस्ता संस्था जनताले तिरेको करबाट चलेको भन्दै पुनले लोकतन्त्र र जनताको रक्षाका लागि विश्वास गरेर हतियार राख्न दिएको तर्क गर्नुभयो । ‘सेनाका बख्तरबन्द गाडी र ट्याङकर निकालेर जनता तर्साउन खोजिएको छ । हामी सबै लडेर आएका छौं । जनता लडेर आएको छ’, पुनले भन्नुभयो, ‘खबरदार, केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनन् । पदबाट झरेको भोलिपल्ट उठाएर ल्यायो भने के हुन्छ ? कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ ? ’ पुनले मुलुकमा राजतन्त्र र सैन्य शासन नभएको र जनता धेरै शिक्षित, प्रशिक्षत र सचेत रहेकाले धम्कीसँग नडराउने बताउनुभयो ।

राज्य शक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै पुनले धम्की बन्द गर्न चेतावनी दिनुभयो । ‘ज्ञानेन्द्र देशैभरि र्‍याली गर्दै हिंडे । लाखौं जनता महाराज भन्दै जान्थें । बुझें, सुनें भन्दै टाउको हल्लाएर हिंडेका थिए । आज कहाँ टाउको हल्लाउँदै सहिंडेका छन् थाहा छ कि छैन ?’, पुनले भन्नुभयो, ‘जसले राज्यशक्तिको दुरुपयोग गर्छ त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुन्छ ।’ निरंशुक सत्ता चलाउन खोज्दा बाउबाजेको पालादेखि २ सय ४० वर्षसम्म शासन गरेको सेना, पुलिस मेरै हो, राज्य मेरै हो भनेर हिंडेका ज्ञानेन्द्रको हविगत स्मरण गर्न पुनले ओलीलाई सुझाव दिनुभयो ।

आफूहरुको आन्दोलन केपी ओलीका एकपछि अर्को असंवैधानिक कदम, निरंशुकता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि भएको बताउनुभयो । तर, सत्ताका लागि आन्दोलन भन्ने आरोप लगाइएकामा आपत्ति जनाउनुभयो । ‘म ओली सरकारमा मन्त्री थिएँ, तर, लोकतन्त्र बचाउन राजीनामा दिएर सडकमा आएको हुँ । सत्ताको लडाईं होइन, लोकतन्त्रका लागि हो ।’

नेता पुनले आवश्यक परे आफूहरु युवा, मजदुर, किसानको हित तथा लोकतन्त्र र संविधानको रक्षाका लागि जेल जानसमेत तयार रहेको उल्लेख गर्नुभयो । तर आफूहरु दमन सहन र आत्मसमर्पण गर्न तयार नरहेको बताउनुभयो । ‘हामीले आत्मसमर्पण या झुक्न र भाग्न जानेका छैनौं । हिजो ज्ञानेन्द्रसँग पनि भागेको होइन, कुनै निरंकुश सत्तासँग पनि भागेको होइन’, पुनले भन्नुयो, ‘केपी र रामबहआदुर थापा त अस्ति भर्खरै देखेका, के सोच्छन्, कसरी चल्छन् सबै थाहा छ । ३० वर्ष, ४० वर्षदेखि देखिराखेका मान्छेहरुले आज वरिपरि सेना, प्रहरी राखे, स्कर्टिङमा हिंडेर एक छिन महाराज भएको जस्तो कल्पना नगरे हुन्छ ।’ आन्दोलन र आमहड्ताल रहर नभएको भन्दै देशको नेतृत्वको गरिराखेको प्रधानमन्त्रीबाटै संविधान र लोकतन्त्रमाथि प्रहार भएकाले बाध्य हुनुपरेको उहाँको भनाइ थियो । पुनले प्रधानमन्त्री ओलीले निर्वाचनका कुरा गरे पनि असंवैधानिक रुपमा नियुक्त सदस्यहरु सहभागी भएर गरिने निर्वाचन कसरी निश्पक्ष हुनसक्छ भन्ने प्रश्न गर्नुभयो ।

सरकारमा बसेर प्रदर्शन र प्रतिरोध गर्न छाडेर अस्पताल बनाउन, चिकित्सकहरुको नियुक्ति गर्न, कोरोनाको औषधि निःशुल्क वितरण गर्न पुनले सुझाव दिनुभयो । ‘सरकारले कबाम गर्ने हो । सडकमा प्रदर्शन गर्र्दै हिंड्जे होइन । राम्रो काम गर देखाउनु जनता जुलुस लिएर अभिनन्दन गर्न आउँछ’, पुनले भन्नुभयो, ‘बलात्कारीर्लाइ कारबाही गर्नु, हामी छोरी भएका अभिभावकहरु केपी ओली र रामबहादुर थापालाई निवासमै जुलुससहित अभिनन्दन गर्न आउँछौं, जनताले रथ यात्रा गराउँछ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्