प्रचण्ड-माधवलाई झट्का लाग्ने संकेत, ओली भन्छन्- कांग्रेस जसपाले साथ दिन्छन्, राजीनामा दिन्न – Janadesh Daily | ePaper

प्रचण्ड-माधवलाई झट्का लाग्ने संकेत, ओली भन्छन्- कांग्रेस जसपाले साथ दिन्छन्, राजीनामा दिन्न


जनादेश मिडिया वाच ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा राजेन्द्र बानियाँसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदरको फैसला सुनाएपछि पनि प्रधानमन्त्री ओलीले सर्वोच्चले प्रधानमन्त्रीबाट राजीनामा देऊ नभनेको अन्तरवार्तामा ओलीले जिकिर गरेका हुन् ।

सर्वोच्चको फैसलाले संवैधानिक हार त भयो नि भन्ने प्रश्नमा प्रधानमन्त्रीले प्रतिप्रश्न गरे,‘केमा हरायो ? राजीनामा देऊ भन्यो ? अदालतले यस्तो अवस्थामा राजीनामा दिनुपर्छ भन्यो ?’

उनले राजीनामा दिए सर्वोच्च अदालतको फैसलाले अस्थिरता निम्त्याएको देखिने दाबी गरे। उनले भने, ‘मैले गरेको निर्णयले यो स्थिति होइन, देश चुनावतिर जान्थ्यो । समस्याको समाधान हुनेतिर जान्थ्यो ।’

आफू राजीनामा पत्र नलेख्ने भन्दै उनले भने, ‘ राजनीनामा पत्र चाँहि म लेख्दिनँ। मैले लेख्नुपर्ने अवस्था होइन, छैन ।’

उनले आवश्यक परे विश्वासको मत लिने लगायतका बाटो समाउन सक्ने दाबी गरे। उनले भने, ‘..मैले अरु बाटा समाउनसक्छु । आवश्यक परे विश्वासको मत लिन सक्छु । विश्वासको मतमा मलाई हराउन पर्‍यो नि’, ओलीले भने, ‘विश्वासको मत पनि लिइन भने अर्को पनि मेरो बाटो हुनसक्छ।’

संकटकाल लगाउनुहुन्छ भन्‍ने प्रश्‍नमा प्रधानमन्त्री ओलीले हाँस्दै भने, ‘अर्को पनि बाटो छ, अविश्वासको प्रस्ताव पारित गरेर मलाई हटाउने संसदीय र संवैधानिक बाटो छ ।’

संसदमा आफूसँग अझै पनि ६४ प्रतिशत सांसद रहेको भन्‍दै र आफू त्यहीँको प्रधानमन्त्री भएको भन्दै उनले अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए।

यसका साथै आफूलाई कांग्रेस र जसपाको साथ पाउने उनको दाबी छ। उनले भने, ‘कांग्रेस र मधेसवादी दलले राजनीति गरेको, पार्टी खोलेको कुनै अमुक महत्वकांक्षी व्यक्तिलाई प्रधानमन्त्री बनाउन हो ? लोकतन्त्रका लागि लड्ने आफूहरुको पुरानै समझदारी छ।’

ओलीको यो दाबीले जसपा र कांग्रेससँग सहकार्य गरेर ओलीलाई विस्थापित गर्ने दाबी गरिरहेका प्रचण्ड-नेपाल समूहका नेताहरुलाई झट्का लाग्ने संकेत देखिएको छ ।

केही दिनपछि संसद बैठक बस्ने तयारी गरिरहेको छ । विगतका संसद विघटन र पुनःस्थापनापछिका अधिवेशनभन्दा यो संसद अधिवेशन फरक देखिन्छ। पुनःस्थापित यो संसदमा नेता र दलहरु नैतिक, राजनीतिक, संवैधानिक र कानुनी संकटमा जेलिएका छन्।

प्रधानमन्त्री परिवर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकको छैन । प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण सबै पक्ष अलमलमा छन् ।

यो पनि हेर्नुस् – ओलीलाई बाबुरामको चेतावनीः विगार्न जान्ने पनि के नेता, अतिले खति गर्छ !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्