जीर्ण दरबार पुनःनिर्माण गरिँदै – Janadesh Daily | ePaper

जीर्ण दरबार पुनःनिर्माण गरिँदै


तनहुँ ।

सेनवंशी राजाले शासन गरेको व्यास नगरपालिका–११ तनहुँसुरस्थित ऐतिहासिक ‘तनहुँसुर दरबार’को पुनःनिर्माण थालिएको छ । पुरातत्व विभागले दरबारको उत्खनन गरेर पुनःनिर्माण थालेको हो ।

राजदरबारको पुनःनिर्माणपछि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । रु ७० लाख लागतमा दरबार पुनःनिर्माण भइरहेको नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दरबार जीर्ण अवस्थामा पुगेकाले पुनःनिर्माण गरेर संरक्षण गर्न लागिएको हो ।

तनहुँसुरबाट अपभ्रंश भएर दरबारको नामाकरण भएको भन्ने किंवदन्ती रहिआएको पाइन्छ । तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको किंवदन्ती छ । तनहुँसुरको सेनवंशी राजाको दरबार खड्कमाई मन्दिर, सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौतारालगायतको संरक्षण गरिने नगरपालिकाले जनाएको छ । खड्कमाई मन्दिर संरक्षण समितिका अध्यक्ष वीरबहादुर थापा दरबार तथा खड्कमाई मन्दिरको पुनःनिर्माणका लागि पुरातत्व विभागले चासो दिई उत्खनन गरी पुनःनिर्माण अघि बढाएपछि स्थानीय बासिन्दा खुशी भएको बताउनुभयो ।

दरबारले थप आकर्षण गर्ने र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रचुर सम्भावना रहेको छ । विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेर गएका छन् । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा पर्यटकीय शहर पोखराको समेत अवलोकन गर्न सकिन्छ । विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका छ जनाले सहादत प्राप्त गरेका थिए ।

२१४ वर्ष कैद असुली

जिल्ला प्रहरी कार्यालयले गत साउनदेखि चैत १ गतेसम्म करिब आठ महिनाको अवधिमा ३६६ फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गर्दा २१४ वर्ष कैद असुली हुनका साथै रु ५६ लाख ३४ हजार ६६१ जरिवाना असुली भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार सूचीमा रहेका व्यक्ति पक्राउ परेका हुन् । नाता कायम, सम्बन्धविच्छेद, लेनदेन, हातहतियार, कर्तव्य ज्यान, सवारी ज्यान, बहुविवाह, माना चामल, अंशलगायतका मुद्दाका फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको उहाँले बताउनुभयो । कार्यालय मातहतमा रहेका प्रहरी एकाइ कार्यालयबाट खटिएको प्रहरी टोलीले गत चैत १ गते मात्रै विभिन्न मुद्दामा फरार रहेका छ जनालाई पक्राउ गरेको थियो ।

फरार सूचीमा रहेका अभियुक्तलाई धमाधम पक्राउ गरी कानूनी दायरमा ल्याउन थालिएसँगै जिल्लामा आपराधिक क्रियाकलापमा न्यूनीकरण आएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । गल्ती गरियो भने कानूनले छाड्दो रहेनछ भन्ने कुराप्रति सर्वसाधारण सचेत हुन थालेको उहाँले बताउनुभयो ।

मूल बीउ वितरण

बन्दीपुर गाउँपालिकाले बीउमा आत्मनिर्भर बनाउने उद्देश्यले मूल बीउ वितरण गरेको छ । गाउँपालिकाले अरुण–२ उन्नत जातको १२० किलोग्राम मकैको बीउ मूल बीउका लागि वितरण गरेको हो । गाउँपालिकाभित्रका कृषक बीउका लागि अन्यत्र धाउनु नपर्ने गरी उन्नत बीउमा आत्मनिर्भर बनाउनका लागि मूल बीउ वितरण गरिएको बन्दीपुर गाउँपालिका कृषि शाखाका प्रमुख सुलभ अधिकारीले जानकारी दिनुभयो ।

बीज वृद्धिका लागि समूह र सहकारीको मागअनुरुप बीउ उपलब्ध गराइएको हो । उहाँले भन्नुभयो, “मूल बीउबाट उत्पादित बीउ अर्को वर्ष कृषकलाई पुनः वितरण गरिनेछ ।” नेपाल कृषि अनुसन्धान परिषद्बाट उत्पादन गरिएको उन्नत मकैको बीउ उत्पादन गरिएको सो पालिकाले जनाएको छ । कृषकले बीउ खोज्दै हिँड्नुपर्ने समस्यालाई अन्त्य गर्नका लागि पालिकाले यस किसिमको अभियान चालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।

तरकारी खेतीका लागि ४७ घरधुरीका कृषकलाई टनेल निर्माणका लागि ९५ थान प्लाष्टिक वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । गाउँपालिकाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लगानीमा बीउ र टनेल वितरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले धान, सुन्तला र मकै खेतीका लागि पकेट क्षेत्र बनाउनका लागि विभिन्न क्षेत्रलाई प्रस्तावित गरेको छ । धरमपानी क्षेत्रलाई सुन्तला, शेराटारलाई मकै र झप्रीलाई धानखेतीको पकेट क्षेत्र बनाउन प्रस्तावित गरेको हो । उक्त स्थानको छिट्टै अवलोकन तथा अनुसन्धान गरी पकेट क्षेत्र घोषणा गर्ने योजना गाउँपालिकाको रहेको छ ।

दमौलीमा उद्यान र मञ्च निर्माण गरिँदै

व्यास नगरपालिकाले दमौली अस्पताल अगाडि रहेको जिल्ला समन्वय समितिको जग्गामा उद्यान र मञ्च निर्माण गर्न शुरुआत गरेको छ । खेलप्रेमीले उक्त मैदानलाई खेल मैदानका रूपमा प्रयोग गर्दै आएका थिए । बुधबार निर्माण शुरु गरेसँगै सामाजिक सञ्जालमा निर्माण रोकेर खुला चौर नै राख्नुपर्छ जनाउँदै नगरवासीले विरोध जनाएका छन् ।

तत्कालीन जिल्ला समन्वय अधिकारी बद्रीनाथ तिवारीको संयोजकत्वमा बसेको सर्बदलीय बैठकले निर्णय गरिसकेकाले यसलाई कार्यान्वयन गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “कूल जग्गाको ६० प्रतिशत मञ्च र चालीस
प्रतिशत उद्यान निर्माण गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “धेरै सुझबुझ गरी नागरिक र नगरवासीको हकहितका लागि निर्माण गर्न लागिएको हो ।”

स्थायी मञ्च निर्माण गरी खुला राखिने हुँदा बिहान बेलुकाको समयमा वाकिङमा कुनै समस्या नहुने नगरप्रमुख न्यौपानेले बताउनुभयो । पहिलो चरणमा मञ्च निर्माणका लागि गत वर्ष नै रु ४५ लाख बजेट विनियोजन भइसकेको बताइएको छ । बिपी वनबाटिका अगाडि रहेको खुलाचौरलाई खेल मैदानका रूपमा व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

उद्यानमा बालउद्यान, ज्येष्ठ नागरिक बस्नेस्थल, कफीसपलगायत संरचना निर्माण गरेर विकास र प्रवद्र्धन गर्ने गरी काम गर्न लागिएको हो । उद्यान र मञ्च छुट्याउन बीचमा करिब तीन फिट गाह्रो लगाएर मेकाफेरी जाली प्रयोग गरिने हुँदा मञ्चबाट पनि उद्यान सहजरूपमा देख्न सकिने नगरपालिकाका इञ्जिनीयर कमल शर्माले बताउनुभयो । हाल नर्सरी रहेको पर्खाल मर्मतसम्भार गरी जिल्ला समन्वय अगाडि रहेको फेविङ ब्लक बिच्छ्याउनेलगायतका काम गर्ने योजना छ । उद्यान निर्माणका लागि करिब रु तीन करोड बजेट रहेको बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्