पर्यटन प्रवद्र्धनका लागि आँबुखैरेनीमा रिसोर्ट निर्माण – Janadesh Daily | ePaper

पर्यटन प्रवद्र्धनका लागि आँबुखैरेनीमा रिसोर्ट निर्माण


जनादेश तनहुँ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ पृथ्वीराजमार्ग नजिकै बगुवामा करिब रु ६ करोडको लगानीमा रिसोर्ट निर्माण गरिएको छ ।

आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले श्रीकुमार थापा मगरको एकल लगानीमा रोयल होम रिसोर्ट प्रालि निर्माण भएको हो । जिल्लाको छिम्केश्वरी माई मन्दिर र छिमेकी जिल्ला गोरखाको मनकामना माई मन्दिरमा घुम्न जाने पर्यटकलाई मध्यनजर गर्दै रिर्सोट निर्माण गरिएको बताइएको छ ।

सात रोपनीमध्ये छ रोपनीमा विभिन्न किसिमका भौतिक संरचना र एक रोपनीमा सवारी पार्किङस्थल निर्माण गरिएको रिसोर्ट सञ्चालक थापा मगरले बताउनुभयो । रु तीन करोड ५० लाख मूल्य बराबरको सो जग्गामा करिब रु दुई करोड ५० लाखको लागतमा भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।

“आँबुखैरेनी क्षेत्रमा पर्यटकका लागि राम्रो होटल तथा रिसोर्ट नहुँदा समस्या हुने गरेको थियो”, उहाँले भन्नुभयो, “रिसोर्ट निर्माण पश्चात यहाँको पर्यटकीय क्षेत्रमा थप सहयोग पुग्ने विश्वास लिएको छु ।” उक्त भवनमा १६ कोठा रहेको र करिब ३२ जना बस्न सक्ने क्षमताको रिसोर्ट निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । कोभिड–१९ का कारण बन्दाबन्दीले निर्माण कार्य प्रभावित भएकाले आउँदो फागुनदेखि सञ्चालनमा ल्याउने योजना रहेको छ ।

आँबुखैरेनी बजारमा एक दशकदेखि श्री लक्ष्मी ग्रील उद्योग सञ्चालन गर्दै आउनुभएका मगरले छिम्केश्वरी अस्पताल र सहकारी संस्थामा उहाँले शेयर लगानी गर्नुभएको छ ।

स्वीमिङ पुल

रिसोर्ट नजिकै स्वीमिङ पुल निर्माण गरिएको छ । करिब तीन हजार ८०० स्क्वायर क्षेत्रफलमा ८० लाख खर्च गरी स्वीमिङ पुल निर्माण गरिएको हो । उक्त स्वीमिङ पुलमा एकै पटकमा २०० जनाले स्वीमिङ गर्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो । मूलको चिसो पानी भएकै स्थानमा स्वीमिङ पुल निर्माण गरिएकोले स्वीमिङ पर्यटकका लागि आर्कषण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्