दमौली डुम्रे सडकखण्डमा सवारी सञ्चालनमा रोक – Janadesh Daily | ePaper

दमौली डुम्रे सडकखण्डमा सवारी सञ्चालनमा रोक


जनादेश तनहुँ

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भाँसिएको सडक मर्मत गर्नका लागि ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको छ ।

निरन्तर परेको वर्षाका कारण मङ्गलबार राजमार्ग भाँसिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ । सडक मर्मतका लागि शुक्रबार र शनिबार ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालबाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।

साथै बिहीबार साँझदेखि नै अवरुद्ध भएको डुम्रे–दमौली सडकखण्डमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भाँसिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको जानकारी दिनुभयो ।

“वैकल्पिक मार्गलाई बलियो नबनाएसम्म सवारी साधन सञ्चालनमा समस्या आउने भयो”, उहाँले भन्नुभयो । घर क्षति भएकालाई राहत बन्दीपुर गाउँपालिकाले बाढीपहिराबाट घर क्षति भएकालाई राहत दिने भएको छ ।

केही दिनदेखि परेको वर्षापछि आएको बाढी र पहिराले पूर्ण र आंशिकरुपमा घर क्षति भएकालाई गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पूर्णरुपमा घर क्षति भएकालाई प्रति घर रु ३० हजार र आंशिक घर क्षति भएकालाई प्रतिघर रु १० हजारका दरले राहत दिइने जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष थापाका अनुसार बाढीले खेत बगर भएका किसानलाई प्रतिरोपनी रु दुई हजारका दरले राहत दिइनेछ । “पहिराले घर पूर्णरुपमा क्षति भएर २० घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ, पूर्ण तथ्याङ्क आइसकेको छैन”, उहाँले भन्नुभयो, “प्रत्येक वडा कार्यालयमार्फत तथ्याङ्क लिने काम भइरहेको छ ।”

अध्यक्ष थापाका अनुसार २० घर आंशिकरुपमा क्षति भएको छ । पहिराबाट विस्थापित भएका छिमेकी र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् । बाढीले बन्दीपुर गाउँपालिकाभित्रका धेरै खेत बगर भएका छन् । बगर भएका खेतको अनुगमन गरी क्षति भएका किसानलाई राहतस्वरुप क्षतिपूर्ति दिइनेछ ।

“खेतमै पुगेर कति भएको छ, त्यसको निरीक्षण गर्छांै, त्यसपछि कृषकलाई प्रतिरोपनी रु दुई हजारका दरले राहत रकम दिन्छौँ”, उहाँले भन्नुभयो । वर्षाका कारण बन्दीपुर गाउँपालिकाका सबै शाखा मार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । “यहाँका बाटाघाटा ध्वस्त भएका छन्, शेराटार, धरमपानी जाने बाटो त अत्यन्तै नराम्रोसँग बिग्रिएको छ,” अध्यक्ष थापाले भन्नुभयो, “शाखा मार्गको हालत पनि उस्तै छ ।” रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्