ललितपुरमा भेटियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’, भारतीयका कारण हवाई प्रतिबन्धको खतरा – Janadesh Daily | ePaper

ललितपुरमा भेटियो कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’, भारतीयका कारण हवाई प्रतिबन्धको खतरा


जनादेश हेल्थ डेस्क ।

नेपालमा पहिलो पटक कोरोना भाइरसको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भेटिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशमै पहिलोपटक कोरोनाको डबल म्युटेन्ट भेरएन्ट फेला परेको हो।

ललितपुरबाट संकलित नमुना परीक्षण गर्दा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ देखिएको महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्।

‘भारतमा पत्ता लागेको र भारतले भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा नगरिसकेको डबल म्युटेन्ट भेरिएन्ट ललितपुरबाट संकलन गरिएको नमुनामा पुष्टि भएको छ,’ स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार डा. पौडेलले भने, ‘पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि बेलायतमा पत्ता लागेको भेरिएन्ट मुख्य रूपमा जिम्मेवार छ।’

उनका अनुसार एउटै भाइरस परिवर्तन भएर दुई स्वरूप देखापर्नु डबल म्युटेन्ट भेरिएन्ट हो। यो भेरिएन्ट तीव्र गतिले फैलिने तथा कडा संक्रमण गर्ने खालको हो। कोरोनाको यो नयाँ प्रजाति खासगरी स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएको पौडेलले बताए।

निर्देशक पौडेलका अनुसार शंका लागेर जिनोम सिक्वेन्सिङका लागि १५ वटा नमुना हङकङस्थित प्रयोगशालमा पठाइएको थियो। त्यस क्रममा एक जनामा डबल म्युटेन्ट भेरिएन्ट भेटिएको हो।

ललितपुरका ती व्यक्तिले एक महिनाअघि स्वाब संकलन गराएका थिए। हकङकबाट रिपोर्ट आउन ढिला हुँदा ती व्यक्ति अहिले सम्पर्कमा नरहेकाले तुरुन्त उनको कन्ट्याक्ट ट्रेसिङ थालिने उनले बताएका छन्।

भारतीयहरुका कारण हवाई प्रतिबन्धको खतरा

भारतमा बढेको कोरोना नेपालमा पनि देखिने क्रम बढेको बेला भारतीय श्रमिकले नेपाली विमानस्थल प्रयोग गरेर रोजगारीका लागि तेस्रो मुलुक जान थालेका छन् । यस्तो भएपछि ती मुलुकले नेपालमाथि हवाई प्रतिबन्ध लगाउने जोखिम बढेको छ।

कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न देशले भारतसँगको उडानमा प्रतिबन्ध लगाएका छन्। आफ्नो देशको उडान रोकिएसँगै भारतीय नागरिकहरु नेपाल भएर तेश्रो मुलुक जान थालेका छन्।

पछिल्ला दुई सातामा नेपालबाट सयौँको संख्यामा भारतीय नागरिक साउदी, यूएई लगायतका देशमा पुगेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जोखिम बढ्दै गए नेपालमा पनि हवाई सेवा प्रभावित हुने बताए।

सरकारले नेपालमा दैनिक ११ हजारसम्म कोरोना संक्रमित हुने आकलन गरेको छ। अहिले भारतीय नागरिक पीसीआरको नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने र नेपालबाट पनि जाने बेलामा पीसीआरको रिपोर्ट पेस गर्ने प्रवक्ता क्षेत्रीले बताए। अझै पनि जोखिम हुने भएकाले पीसीआर र क्वारेन्टिनमा राख्ने विषयमा कडाइ गर्नुपर्ने प्राधिकरणको सुझाव छ।

भारतमा स्थिति भयावह बन्दै जाँदा सिमानामा कडाइ गर्नुपर्ने सुझाव विज्ञहरुले दिँदै आएका छन्। तर, अहिले बिनारोकटोक मानिसहरु ओहोरदोहोर गरिरहेका छन्। सरकारले नेपालमा भीडभाड नगर्न आग्रह गरिरहँदा नेपालस्थित भारतीय दूतावासमा नो अब्जेक्सन लेटर लिनेको भीड लागेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्