गण्डकी प्रदेशमा ‘हाइ भोल्टेज ड्रामा’: सत्ता जोगाउन पिसिआरदेखि आइसियुसम्म – Janadesh Daily | ePaper

गण्डकी प्रदेशमा ‘हाइ भोल्टेज ड्रामा’: सत्ता जोगाउन पिसिआरदेखि आइसियुसम्म


जनादेश काठमाडौँ ।

गण्डकी प्रदेशमा सत्ता जोगाउन नेकपा एमालेको अनौठो रणनीति देखिएको छ । कोरोनाको बहानामा पिसिआर गरिएपछि पनि नपुगेर सांसदलाई नै आइसियुमा पुर्याइएपछि त्यहाँ चलिरहेको अनौठो रणनीतिबारे खुलासा भएको हो । एमालेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले बहुमत गुमाउने पक्कापक्की भएपछि मंगलबार सत्तारुढ सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए । सबै सांसदहरुलाई लाइन लगाएर पिसिआर जाँच गरियो र बुधबारको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल सुरु भएपनि दुई सांसदलाई भने त्यहाँ देखिएन ।

जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक सम्पर्कविहीन भए । उनीसँगै दीपक मनाङ्गे पनि बैठकमा आएनन् । मनाङ्गे अघिल्लो दिन खिमविक्रमसँगै देखिएको त्यहाँका सांसदले बताएका छन् । सांसद शाही पार्टीको सम्पर्कमा समेत नआएपछि जनमोर्चाले आफ्ना सांसदको खोजी गर्न र उनी अपहरणमा परेको आशंका गर्दै जीवनरक्षा गरिदिन माग गर्यो । जनमोर्चाको मागपछि सभामुखले प्रदेशसभा बैठक स्थगन गरे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेपनि सांसद सम्पर्कविहीन भएपछि सभामुख नेत्रप्रसाद अधिकारीले सभाको बैठक अनिश्चित समयका लागि स्थगित गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका १५ र माओवादीका ११ जना, जनमोर्चाका ३ जना, जसपाका २ समेत गर्दा ३१ हुने अवस्था थियो। तर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका शाही मोबाइल अफ गरेर हिँडेपछि प्रदेशसभामा खैलाबैला मच्चिएको थियो ।

अनौठो घटनाक्रम अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनु अघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिइन् । लगत्तै सभामुखले अर्को सूचना नआउँदासम्म प्रदेशसभाको बैठक स्थगित गरे । संसद बैठक नै स्थगित गरेर खोजी गर्नेक्रममा जनमोर्चाका सांसद शाही चरक अस्पतालको कोभिड वार्डमा आइसीयूमा भर्ना भएर बसेको पत्ता लाग्यो । तत्कालै जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल आफ्ना सांसदलाई भेट्न अस्पतालमा पुगे । तर, अस्पताल प्रशासनले सो पार्टीका नेतालाई शाहीसँग भेट गर्न दिएन । अस्पताल प्रशासनको जवाफ थियो, ‘उहाँलाई गम्भीर रुपमा कोरोनाले सताएको छ, कसैले पनि भेट गर्न मिल्दैन ।’

अपत्यारिलो बिरामी सत्तारुढ दलका सांसदहरुले अघिल्लो दिन पिसिआर जाँचको माग गर्दै बैठक स्थगन गर्नु र भोलिपल्ट सरसाउँदो सांसदलाई कोभिड अस्पतालको आइसीयुमा कसैलाई भेट गर्न नदिई राखिनुमा गडबडी देखिएको जनमोर्चाका नेताहरुले बताएका छन् । सांसद शाही त्यसरी गम्भीर बिरामी परेकोमा उनकै पार्टीका नेताहरु विश्वस्त हुन सकेका छैनन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताएका छन् । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना रिपोर्ट नेगेटिभ भएको सांसदलाई अस्पतालमा बन्दी बनाइएको आरोप लगाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्