एकल महिलालाई सोलार – Janadesh Daily | ePaper

एकल महिलालाई सोलार


जाजरकोट।

गरिब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ ।

तेह्र वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुई÷दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

एकल महिलासँग उपप्रमुख कर्यक्रमअन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताउनुभयो । एकल महिलाले अर्थाभावमा छोराछोरी पढाउन सल्लीको दियालो प्रयोग गर्ने अवस्थालाई अन्त्य गर्न विपन्नलाई सोलार वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रत्येक वडामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको सहभागितामा सोलार वितरण गरिएको हो । अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो भर पर्नुपर्ने अवस्था रहेको छ । आर्थिकरूपमा पछि परेका एकल महिलालाई छोेराछोरीको पढाइ, पालनपोषणमा तथा आधारभूत आवश्यकता पूरा गर्न समस्या परिरहेको छ ।

घरघरमा झण्डा गर्भवतीलाई पोषिलो खाना र पहिचानका लागि घरघरमा झण्डा राखिएको छ । नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा राखेर अण्डा , भाले तथा तेल सहयोग गरिएको छ ।

नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाडिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडी भालेपोथी कुखुरासमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराउन लागिएको छ ।

गरिब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेका महिलालाई मात्र यो सुविधा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । प्रत्येक वडाबाट ३५ जना पर्ने गरी सो सामग्री वितरण गरिएको छ ।

अझै पनि सामाजिक चेतनाको अभावले घरमै सुत्केरी हुने, आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्तो अभियान थालिएको उहाँले जानकारी दिनुभयो । उक्त अभियानलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत स्वास्थ्य समूहलाई सचेतना कक्षा सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बर्थिङ सेन्टरबाट टाढा रहेका र विपन्न गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराइने भएको छ । झण्डा अभियानले गर्भवतीले खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग राख्नसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

उहाँले स्वास्थ्य संस्था वा बर्थिङ सेन्टरमै सुत्केरी गराउने यो एउटा सशक्त अभियान भएको भन्दै सबै गर्भवती महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको तथ्याङ्क बनाउन पनि सजिलो हुने बताउनुभयो ।

उहाँले स्वास्थ्य संस्थामा बच्चा जन्माए राज्यले उपलब्ध गराउँदै आएको एक हजार ४०० र न्यानो झोलावापत रु एक हजारसहित गाउँपालिकाले सुत्केरी पोषणभत्तावापत रु एक हजार दिने भएकाले सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुनसमेत आग्रह गर्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्