बुद्ध होलिडेजको सस्तो आकर्षक होलिडे प्याकेज – Janadesh Daily | ePaper

बुद्ध होलिडेजको सस्तो आकर्षक होलिडे प्याकेज


काठमाडौँ ।

बन्दाबन्दीले करिब चार महिना शून्य स्थितिजस्तै भएको मुलुकको पर्यटन क्षेत्र बन्दाबन्दी खुलेसँगै पूर्ववत् अवस्थामा फर्कने आशाका सङ्केत देखिन थालेका छन् ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन व्यावसायिक सक्रियता र गतिविधि पनि बढेको छ ।

आगामी भदौ १५ गतेदेखि होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय क्षेत्र खुल्दैछन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

वायुसेवा प्रदायक कम्पनीले उत्साहपूर्वक उडानको तयारी गरिरहेका छन् । स्वास्थ्य प्रोटोकल बनाएर सुरक्षित उडानको पूर्वअभ्यासका साथै बुकिङ खुलाएर आकर्षक प्याकेजसमेत बनाइरहेका छन् ।

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अहिलेको स्थितिलाई चलायमान बनाउन सस्तो आकर्षक होलिडे प्याकेज सार्वजनिक गरेको छ । बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको कम्पनीले जनाएको हो । बुद्ध एयर, पोखरा तथा चितवनका होटलको सहकार्यमा प्याकेज ल्याएको छ ।

बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो । दुई दिन तीन रातको प्याकेजमा पोखरा रु पाँच हजार ९९९ र चितवनका लागि रु सात हजार ९९९ तोकिएको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको छ ।

यसैगरी चितवनको पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन विमानस्थलबाट सौरहा होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो योजना सीमित अवधिभरका लागि हो ।

प्याकेजको मुख्य उद्देश्य शुरुमा आन्तरिक पर्यटनलाई चलायमान तथा प्रवद्र्धन गरी हाम्रा सेवा सुरक्षित छन् भनी विदेशी पर्यटकलाई समेत भित्र्याउनु रहेको होलिडेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आस्था बस्नेतले बताउनुभयो ।

सङ्क्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुद्ध होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका पनि तयार गरेको छ । यसलाई अक्षरशः पालना गर्दै यात्रु तथा पर्यटकलाई सङक्रमणरहित घुमफिरका लागि पनि बुद्ध होलिडेजले अनुरोध गरेको छ ।

निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटेल, रेस्टुराँ तथा त्यहाँ रहेका कामदारलाई पनि समेटेको सिइओ बस्नेतले भन्नुभयो, “सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी संवेदनशील रहेका छौँ र यसको नियमित अन्तरालमा हामी स्वयंले अनुगमन गर्नेछौँ ।”

बुद्ध एयरले ११ एटिआर जहाजसहित १३ जहाजमार्फत आन्तरिक उडान भर्दै आएको छ । निजी क्षेत्रका यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीले पनि उडान तथा सहुलियतका प्याकेज घोषणा गर्ने जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्