अब एमाले जुटतिर कि झनै विवाद र फुटतिर ! माधव, घनश्याम र ईश्वरको प्रतिक्रियाले गरेको संकेत – Janadesh Daily | ePaper

अब एमाले जुटतिर कि झनै विवाद र फुटतिर ! माधव, घनश्याम र ईश्वरको प्रतिक्रियाले गरेको संकेत


जनादेश वाच ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि एमालेको आन्तरिक संकट झन् चुलिएको छ । एमाले संस्थापनले तटस्थसमेत नबस्न ह्वीप जारी गरे पनि ११ सांसद अनुपस्थित भए पनि २२ जनाले देउवाको पक्षमा मतदान गरेपछि एमालेको विवाद झनै गिजोलिएको छ ।

देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल समूहका १४ र ओली समूहका ८ जना छन् । अन्य ११ जना संसद् भवनमा उपस्थित भए पनि मतदानका बेला बैठक छाडेर हिँडेका थिए । ओली समूहबाट देउवालाई मत दिनेमा प्रेम आले, धनबहादुर बुढा, कृष्णकुमार (किसन) श्रेष्ठ, गोपाल बम, पार्वती विशंखे, हिराचन्द्र केसी, बिना बुढाथोकी र समिना हुसेन छन् । आले यसअघि ओली सरकारमा वनमन्त्री र बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विषयले विपक्षी दल एमालेको एकता बचाइराख्ने प्रयासमा गम्भीर संकट आएको नेताहरूले बताएका छन् । देउवाले विश्वासको मत पाएपछि ओली पक्ष रुष्ट देखिएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषकबारे भ्रममा नपरौं, सबैले राम्ररी चिनौं ।’

तर एकता कार्यदलका सदस्य तथा माधव नेपाल पक्षका नेता नेता घनश्याम भुसालले संसद् बचाएको र अब पार्टी बचाउने दाबी गरेका छन् ।

आफू मतदानमा सहभागी नभएका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद् जोगाउनुपर्थ्यो, जोगिएको छ, अब पार्टी जोगाउनुपर्नेछ, जोगाइनेछ,’ उनले भनेका छन्, ‘हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोही पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धूलो टक्टक्याउँछौं र अगाडि बढ्छौं ।’

 

आफ्नो समूहले विश्वासको मत दिने निर्णयकै कारण धर्म संकटमा परेका नेपाल पक्षका नेता एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरे । उनले मतदातासँग क्षमा याचना पनि गरेका छन् ।
प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको केहीबेरमा ट्वीट गर्दै उनले भनेका छन्- ‘जनता, विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु । अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’

जसरी पनि ओलीको निरंकुशता तोड्ने कसम खाएका एमालेका वरिष्ठ नेता मावधकुमार नेपालले देउवाले विश्वासको मत पाउँदा नरंकुश प्रवृत्तिमा अंकुश लागेको बताएका छन् । उनले सदनमा देउवाले विश्वासको मत पाउनु जनताको जित भएको बताए । ‘सर्वोच्चको फैसलाअनुसार प्रधानमन्त्री बनेपछि उहाँले विश्वासको मत पाउनुभयो । यो जनताको जित हो । उहाँले विश्वासको मत प्राप्त गरेपछि निरंकुश प्रवृत्तिमा अंकुश लागेको छ,’ उनले भने । सरकारमा जाने नजानेबारे उनले केही खुलाउन चाहेनन् ।

देउवाको सत्ता सुरक्षित हुनेक्रममा एमालेमा देखिएको अराजकता र बढेको तिक्तताले अब यो पार्टी पुनः एक ढिक्का हुनेमा गम्भीर शंका देखिएको छ । ओली पक्षधरहरुले माधव नेपालले जसरी पनि पार्टी फुटाउने र त्यसका लागि देउवा सरकारबाट अध्यादेश समेत आउने सक्ने अनुमान गरेका छन् ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्