प्रधानमन्त्री देउवा तर ओली प्रवृत्तिविरुद्ध संसदलाई स्तब्ध पार्ने भाषण प्रचण्ड-बाबुरामको – Janadesh Daily | ePaper

प्रधानमन्त्री देउवा तर ओली प्रवृत्तिविरुद्ध संसदलाई स्तब्ध पार्ने भाषण प्रचण्ड-बाबुरामको


जनादेश वाच ।

आइतबार राति भएको मतदानपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गरे । उनले संसदमा सम्बोधन गर्दै सरकारका प्राथमिकताबारे पनि चर्चा गरे । तर संसदको मन्तव्यको नेतृत्व भने ५ दलीय गठबन्धनको डिफ्याक्टो नेताकोरुपमा रहँदै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गरे । प्रचण्ड-बाबुरामले संसदमा केपी ओली पक्षका नेताले उठाएका प्रश्नको जवाफ मात्र दिएनन् ओली प्रवृत्तिको चर्चा र खण्डनसहित संसदलाई स्तब्ध पार्ने भाषण गरे । मुलरुपमा गठबन्धनका ‘हिरो’कोरुपमा संसदमा प्रचण्ड-बाबुराम नै देखिए ।

प्रधानमन्त्रीका लागि मत माग्न रोष्टममा उँभिएका प्रचण्डले सुरुमै ओलीले सम्बोधन नगरेकोमा असन्तुष्टि जनाउँदै ओलीको व्यवहार अलोकतान्त्रिक रहेको टिप्पणी गरे । एमालेबाट रोष्टममा सांसद प्रदीप ज्ञवाली बोलेका थिए।

‘मैले यहाँ आएपछि हाम्रो प्रमुख सचेतकलाई तीनपटक सोधेँ- निवर्तमान प्रधानमन्त्री आउनुहुन्छ? बोल्नुहुन्छ? उहाँले आउनुहुन्छ भन्नुभयो,’ प्रचण्डले भने, ‘तर बिरामी भएर हो कि के हो मलाई थाहा छैन उहाँ (केपी ओली) बोल्नुभएन। पुनर्स्थापित पहिलो बैठकमा यो सदन र देशले केपीजीकै मुखबाट आफ्ना कुरा सुन्न चाहेको थियो। निवर्तमान प्रधानमन्त्री ओलीजीले के भन्नुहोला भन्ने देशले सुन्न चाहेको थियो।’ निवर्तमान प्रधानमन्त्री सदनमा अनुपस्थित भएपछि प्रचण्डले यो लोकतान्त्रिक संस्कार हो कि अलोकतान्त्रिक भनेर प्रश्न गरेका थिए।

प्रचण्डले ‘दम्भ र अहंकारले इतिहास निर्माण नहुने’ टिप्पणी गरे । प्रचण्डले गरेको यो टिप्पणी निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित थियो। ज्ञवालीले दलीय व्यवस्था भत्किएकोमा चिन्ता जनाएका थिए। प्रचण्डले उनलाई जवाफ दिँदै पटक-पटक प्रतिनिधिसभा भंग गरेर प्रणाली भत्कियो भनेर गोहीको आँशु चुहाएको टिप्पणी गरे।

प्रचण्डले प्रदीप ज्ञवालीको अभिव्यक्तिप्रति आपत्ति पनि जनाए । ज्ञवालीले ‘युद्ध जित्न नसकेर हारेर आएर लोकतन्त्र मानेका होइनौं’ भनेको भन्दै प्रचण्डले भने, ‘मलाई र शान्ति सम्झौताका सहयात्री सबैलाई चित्त दुख्ने कुरा हो ।’

‘तपाईं एमालेको तीनै नेतामध्ये होइन, जो माओवादी आन्दोलनका नेताहरुसँग संविधानसभा गणतन्त्रमा सहमति गरौं भन्ने तपाईंहरु नै होइन ? तपाईं पनि हुनुहुन्थ्यो नि एकचोटि युद्धमा । टाउको काट्नेमा तपाईं हुनुहुन्नथ्यो र ?,’ ज्ञवालीले आफूलाई यसो भन्न बाध्य बनाएको उनले सुनाए ।

ज्ञवालीले गरेको टिप्पणीले परिवर्तनका लागि भएका आन्दोलनको अपमान गरेको प्रचण्डले शान्ति सम्झौता गर्नु गलत थियो भन्ने आशय व्यक्त गर्नु दुखद भएको बताए ।

उनले भने, ‘तपाईंले शान्ति सम्झौता गलत थियो भन्न खोज्नुभएको हो ? माओवादीले लोकतन्त्रको पक्ष लिनहुन्न भन्न खोज्नुभएको ? माओवादीले चाहीँ संविधानको पक्षमा बोल्न हुन्न ? बरु मैले के देख्छु भने नेपालको इतिहासमा जो जति पछि हतियार उठाएर शान्ति प्रक्रियामा आए ती लोकतन्त्रप्रति उदार देख्या छु मैले त ।’

प्रचण्डपछि सबैभन्दा वाकपटुतासहितको भाषण बाबुरामले गरे । जनता समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई भस्मासुरको संज्ञा दिदै आँशिक रुपमा भएपनि राम्रो संविधानलाई विघटन गर्न खोजेको बताए ।

डा. भट्टराईले भने, ‘यस पटकको सर्वोच्च अदालतको फैसलालाई यति सुन्दर ढंगले तपाई हामीले गर्न नसकेको काम गरिदिएको छ । संविधान पूर्ण थिएन । मैले भन्ने गरेको छु आधा गिलास भरी आधा खाली । हामी यसलाई बचाएर बाँकि गिलास् भराउन चाहन्थ्यौँ तर भष्मासुर प्रबृत्तिले आधा गिलासलाई पनि घोप्ट्यायो । यहाँ संविधान बनाउने केही साथीले भनेको सुनें । उहाँहरुको ब्रम्हले पनि यही भनेको छ कि ? यो संविधानको हत्या हुनै लागेको थियो । नर्क जाने बाटो पनि असलै नियतले बनाईएको हुन्छ भन्ने भनाई छ । नियत नाप्ने अस्त्र अहिले सम्म आविस्कार भएको छैन । तर परिणामले भन्छ, संसदको पटक –पटक हत्या हुदै थियो । प्रतिगमन तिर देश गएको थियो । त्यसलाई अदालतले बचाउने काम भएको छ । अव अघि बढौं । संविधानको धारा ७६ (५) हामीले थाहा नपाएको विषय हो ?’

बाबुराम भट्टराईले अभागीलाई खाने बेलामा रिस उठ्ने भन्दै अध्यक्ष महन्थ ठाकुरलाई व्यङ्ग्य पनि गरे । ठाकुरले अन्तिम समयमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि विगतमा केपी ओलीलाई समर्थन गरेर समस्या निम्त्याएको भट्टराईको भनाइ थियो ।

ठाकुरलाई ब्यंग्य गर्दै भने, ‘जनता समाजवादी पार्टी, एक ढिक्का, एक मत र एक बिचार रहेको भए यति दुःख भोग्नै पर्दैनथ्यो । अरू पार्टीभित्र पनि विग्रह आउँदैनथ्यो । जसपा आफैले निकास दिन सक्थ्यो । तर हामीलाई खाने बेलामा रिस उठ्यो ।’

भट्टराईले प्रतिगमनकारीहरूको खड्ग प्रहारबाट प्रतिनिधिसभा मुर्छित हुनुपरेको पनि बताएका छन् । उनले प्रतिनिधिसभा विघटन बदर भएपछि पुन सदनमा उपस्थित हुन पाउनु खुसीको कुरा भएको बताए ।

‘प्रतिगमनकारीहरूको पटक पटकको खड्ग प्रहारपछि मुर्छित बनेको प्रतिनिधिसभा र दुई पटक मुर्छित बनाइएका हामी यहाँ उपस्थित हुने अवसर प्राप्त गरेका छौँ, त्यसको लागि आवाज उठाउने सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु’, भट्टराईले प्रतिनिधिसभालाई सम्बोधन गर्दै भने । भट्टराईले सर्वोच्च अदालतको फैसला आफूले पटक पटक पढेको भन्दै सो फैसलामा सुन्दर ढङ्गले व्याख्या गरिएको बताए ।

संसदमा केपी ओली र उनको प्रवृत्तिको आलोचना गर्दै उनको पक्षले उठाएका एक-एक प्रश्नको जवाफ बाबुराम र प्रचण्डले नै दिएका थिए । पछिल्लो समय फेरि नजिकिएका दुई नेताले ओलीले सम्बोधन गर्न डराएको संसदमा भाषण गर्दै नेपाली समकालीन राजनीतिका सबैभन्दा अब्बल र वाकपुटुता भएका नेता हुन् भन्ने पनि पुष्टि गरे ।

यो पनि हेर्नुस्- अब एमाले जुटतिर कि झनै विवाद र फुटतिर ! माधव, घनश्याम र ईश्वरको प्रतिक्रियाले गरेको संकेत

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्