अझै ल्याउन सकेनन् सिरहाका छ स्थानीय तहले बजेट – Janadesh Daily | ePaper

अझै ल्याउन सकेनन् सिरहाका छ स्थानीय तहले बजेट


लहान।

आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका छ स्थानीय तहले गत असार १० गतेसम्ममा ल्याउनुपर्ने चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्यौलता बढ्ेको छ ।

सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ स्थानीय तहमध्ये छ स्थानीय तहले निर्धारित समयभित्र बजेट ल्याउन असफल भएका हुन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो ।

समयमै बजेट नआएमा सङ्घीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजस्व बाँडफाँटको प्रवद्र्धनमा समस्या पर्ने चेतावनीसहित अर्थमन्त्रालयले पत्राचार गरेपछि भने १७ स्थानीय तहमध्ये ११ स्थानीय तहले मात्रै गाउँ तथा नगरसभामा बजेट पेश गरेको छ । सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । पाँच गाउँपालिका र एक नगरपालिका गरी छ स्थानीय तहले अझै गाउँ तथा नगरसभामा बजेट पेश गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख राधेश्याम गिरीले जानकारी दिनुभयो ।

नरहा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र बरियारपट्टी गाउँपालिका गरी पाँच गाउँपालिकाले गाउँसभा गर्न नसकेको प्रमुख गिरीले बताउनुभयो । उहाँका अनुसार सिरहा नगरपालिकाले पनि नगरसभामा बजेट पेश गर्न सकेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्