साउने झरीसँगै उपत्यकामा सफाइ अभियान जारी – Janadesh Daily | ePaper

साउने झरीसँगै उपत्यकामा सफाइ अभियान जारी


काठमाडौँ ।

राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको र बिहानै साउने झरीका बाबजुद उपत्यकामा सफाइ अभियानले भने निरन्तरता पाएको छ ।

वाग्मती सफाइ महाअभियानको ३७७ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको नदी सफा भए पनि आर्यघाट, भष्मेश्वरघाटलगायत क्षेत्रमा भने फोहर भेटिएको उहाँले बताउनुभयो ।

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरियो । यसक्षेत्रको वाग्मती किनार दायाँबायाँ उम्रिएको झार उखेलेर पसलअघि जम्मा भएको फोहर उठाउन व्यवसायीलाई सचेत गराइएको अभियानकर्मी किशोरसिंह शाहीले बताउनुभयो । सफाइमा स्थानीयवासी, टोल सुधार समितिका पदाधिकारी एवं सदस्य, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका सदस्यको सक्रियता थियो । सफाइपछि कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

बन्दाबन्दी खुले पनि राजधानीमा कोरोना सङ्क्रमण उच्चरुपमा बढ्न थालेकाले भौतिक दूरी कायम राखेर सफाइ अभियानमा जुट्नसमेत सफाइ महाअभियानले आह्वान गरेको छ । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३३७औँ हप्तामा गोठाटार पुलमुनिको प्रतीक्षालय क्षेत्रमा सफाइ गरिएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा भएको सफाइमा अधिकार सम्पन्न वाग्मतीका सफाइ अभियानकर्मीको पनि सहभागिता रहेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो । कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । नदी किनारमा फोहर फाल्ने र फोहरी संस्कृतिमा रमाउने प्रवृत्तिको अन्त्य गरी सफाइ संस्कृति निर्माण गरिनुपर्नेमा मञ्चले जोड दिएको छ ।

विष्णुमती सफाइ अभियानको ३०५औँ हप्तामा टोखा नगरपालिका– ९ आनन्द टोलबाट मनमैजु पुलसम्मको नदी किनारमा ८० वटा बिरुवा रोपिएको छ । कपुर, कल्की, पारिजात, असारे, पैँयु, बैँस जातका बिरुवा रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो । रातिदेखि साउने झरी परिरहे पनि आलोकनगर क्षेत्रको चौतारी र त्यहाँको शिव मन्दिरमा सफाइ गरिएको छ । सफाइका क्रममा सार्वजनिकस्थलमा जम्मा भएको दुई डोको प्लाष्टिक टिपेर व्यवस्थापन गरिएको थियो । आलोकनगर सफाइको १७६औँ हप्तामा भौतिक दूरी कायम गर्दै सफाइ गरिएको संयोजक प्रमीला पौडेलले राससलाई जानकारी दिनुभयो ।

गोदावरी सफाइ अभियानको ७४औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरिएको छ । महिला र बालबालिकाको विशेष पहलमा शुरु भएको यहाँको सफाइमा विशेषगरी महिलाको उपस्थिति रहेको अभियानकर्मी बेबी राजभण्डारीले बताउनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान वर्षे झरी, हिउँदे जाडो, चाडपर्व, भूकम्प जस्ता प्राकृतिक प्रकोप एवं कोरोना जस्ता रोगको सङ्क्रमणकाबीच पनि जारी छ । चैत ११ गतेदेखि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण असारसम्म नदी किनारमा निवास भएका अभियानकर्मीले मात्र नदीमै गएर सफाइ अभियानलाई निरन्तरता दिनुभएको थियो ।
बन्दाबन्दीको अन्त्य भएसँगै अभियानकर्मी बढ्न थाले पनि भौतिक दूरी कायम गरेर नै सफाइ भइरहेको छ ।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर चैतसम्म देशा मुख्य शहर र नदीमा गरी १०६ स्थानमा सफाइ भइरहेको छ । सफाइले देशभर जागरणस्वरुप ग्रहण गरे पनि आशातीत सफलता प्राप्त गर्न नसकेको सार्वजनिक टिप्पणी हुने गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्