नेपाल भित्रियो ओमिक्रोन भेरियन्टः कस्ता हुन्छन् लक्षण, फेरि लकडाउनको सम्भावना कति ! – Janadesh Daily | ePaper

नेपाल भित्रियो ओमिक्रोन भेरियन्टः कस्ता हुन्छन् लक्षण, फेरि लकडाउनको सम्भावना कति !


जनादेश हेल्थ डेस्क ।
सोमबार नेपालमा पहिलोपटक कोभिड–१९ विरुद्धको ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकी मुलुकबाट मसिंर ३ गते नेपाल भित्रिएका एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एक नेपालीमा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा ओमिक्रोन देखिएसँगै संक्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्डहरूको पालना गर्न र सरकारको खोप अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ ।

ओमिक्रोन नेपालमा फैलिएका अरू भेरियन्टजस्तै हो ?
नेपालमा कोभिड–१९ का दुईवटा लहरमा मुख्यत: तीनवटा भेरियन्ट देखिए । त्यसमध्ये सबैभन्दा डेल्टा भेरियन्टले बढी असर गरेको थियो । डेल्टा भेरियन्ट अन्यभन्दा बढी संक्रामक र घातक देखिएको थियो ।

नेपालमा आज ओमिक्रोन पुष्टि हुनुअघिसम्म डेल्टाले नै बढी प्रभाव पारिरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् । ओमिक्रोन कति घातक भन्नेबारे विश्व स्वास्थ्य संगठनले अहिलेसम्म पनि अनुसन्धान गरिरहेकै छ । विभिन्न विश्वविद्यालय र सरोकारवालाहरूले पनि यसबारे अध्ययन गरिरहेका छन् ।

ओमिक्रोनको उद्गमस्थल दक्षिण अफ्रिकी मुलुकका चिकित्सकहरूले ओमिक्रोनको असर डेल्टा भेरियन्टभन्दा ‘माइल्ड’ अर्थात् हल्का किसिमको भएको बताइरहेका छन् । ‘साउथ अफ्रिकन मेडिकल असोसिएसन’ की प्रमुख डा. एन्जेलिक कोएटजीले ओमिक्रोन संक्रमितमा सबै लक्षणहरू एकदमै हलुका किसिमको रहेको र कसैलाई पनि आईसीयूमा भर्ना गर्नु नपरेको बताएकी छन् ।

उनकाअनुसार डेल्टा भेरियन्ट जसरी मानिसहरूमा स्वाद, गन्ध थाहा नपाउने समस्या देखिएको छैन । त्यस्तै अक्सिजनको स्तरमा ठुलो गिरावट पनि नदेखिएको र प्रायः बिरामीहरू घरमै बसेर ठिक हुने गरेको डा. कोएटजीको अनुभव छ । भारतमा पुष्टि भएका ओमिक्रोन संक्रमितहरूमा पनि अस्पताल भर्ना हुनेको दर एकदम कम रहेको भारतीय स्वास्थ्य निकायहरूले जनाएका छन् ।

ओमिक्रोनका कारण हालसम्म कुनैपनि देशमा मृत्यु भएको रेकर्ड छैन । संक्रमणका हिसाबले ओमिक्रोन भेरियन्ट एक जनाले ३५ जनासम्मलाई सार्नसक्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोन डेल्टाभन्दा बढी संक्रामक भएकाले समुदायमा छिटो फैलिनसक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागु गर्न दक्षिण पूर्वी एसियाली मुलुकहरूलाई समेत सजग गराइरहेको छ ।

‘त्रसित नहोऔँ, जनस्वास्थ्यका मापदण्ड पालना गरौँ’
ओमिक्रोन भेरियन्ट कोभिड–१९ कै एक उत्परिवर्तित स्वरूप हो । कोभिडका जुनसुकै भेरियन्ट देखिएपनि त्यसबाट जोगिने उपाय मास्कको प्रयोग गर्नु, भिडभाड नगर्नु, पटक पटक हात सफा गरिरहनु नै भएको विज्ञहरू बताउँछन् ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन ओमिक्रोन पनि जोगिनसक्ने संक्रमण भएकाले पहिलेका दुईवटा लहरमा अपनाइएका उपायहरू नै फलो गर्न सुझाव दिन्छन् । कोभिड–१९ विरुद्धको खोपले पनि सिकिस्त हुनबाट जोगाउने भएकाले सरकारले खोप कार्यक्रमलाई तीव्रता दिनुपर्नेमा डा. पुनको जोड छ ।

जनस्वास्थ्य अनुसन्धानकर्ता डा. समीरमणी दिक्षितको पनि कोभिडको जनुसुकै भेरियन्ट आएपनि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु र खोपको दायरा बढाउनु नै जोगिने उपाय भएको धारणा राख्छन् ।

“सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्‍यो, सरकारले बढीभन्दा बढी खोप वितरण गर्नुपर्‍यो जनुसुकै भेरियन्ट आएपनि त्यसबाट जोगिने उपाय यिनै हुन्,” उनले भने ।

जोखिम वर्गमा परेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई बुस्टर डोज पनि दिएर जोगाउन सकिने डा. दिक्षितको भनाइ छ । सरकारले पूर्ण खोप लगाएका सबैलाई बुस्टर डोज दिने निर्णय गरिसकेको छ । प्राथमिकता क्रम छुट्याएर बुस्टर डोज खोप दिने सूची छिट्टै सार्वजनिक गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी भन्छन्, “लकडाउन विशेष परिस्थितिमा गर्नुपर्ने हुन्छ अहिले नै हामी त्यो अवस्थामा पुगेका छैनौं र जटिलताका हिसाबले हर्ने हो भने पनि हामीले खोपलाई प्रथामिकतामा राख्दै तीव्र गतिमा लगाइहेका छौं, त्यस्तै सबैले पूर्ण रूपमा स्वास्थ्यका मापदण्डहरू पालन गरे भने जनजीवनलाई सहजरू पमा लिएर जान सक्छौं।”

लकडाउनका आर्थिक, सामाजिकलगायत अन्य पाटा पनि रहेकाले त्यसलाई विश्लेषण गरेर मात्र निर्णय लिनुपर्ने उनले बताए।

“सरकारले अहिले निगरानी बढाउने, जनस्वावस्थ्यका मापदण्डहरू पालना गर्ने, गराउने, खोप अभियान तीव्र गतिमा बढाउने मात्र सोचेको छ”, उनले थपे।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्