अति बढ्यो चिसो, तराईमा शित लहर सुरुः अब केही दिन कस्तो छ मौसमी सम्भावना – Janadesh Daily | ePaper

अति बढ्यो चिसो, तराईमा शित लहर सुरुः अब केही दिन कस्तो छ मौसमी सम्भावना


जनादेश वेदर।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज (आइतबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यतिबेला पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

प्रदेश नम्बर १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्यसम्म बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ। महाशाखाका अनुसार आज दिउँसो मौसम देशभर आंशिक बदली रहनेछ। राति पनि देशभर आंशिक बदली रहने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। यस क्रममा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

जाोडोको सकस अझै बढ्छ
देशभर भएको वर्षा रोकिएर केही सुधार आए पनि मौसम पूर्वानुमान महाशाखाले भने केही दिन मौसममा पूर्ण रूपमा सुधार नदेखिने जनाएको छ। पूर्ण रूपमा वर्षा र हिमपात गराउने प्रणाली नरहे पनि चिसो भने नघट्ने विज्ञहरू बताउँछन्। मध्य जाडोको समय भएकाले अधिकतम तापक्रम अझै घट्छ। हिमपात र हिउँदे वर्षापछिको मौसममा परेको प्रभाव हट्न केही समय लाग्ने विज्ञहरू बताउँछन्।

“बिहीवारसम्म भएको हल्कादेखि मध्यम हिमपात र वर्षाको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव आगामी केही दिनसम्म रहन्छ। तत्काल मौसम सफा हुन्छ भन्न सकिँदैन,” वरिष्ठ मौसमविद् शान्ति कँडेलले सँग भनिन्।

शुक्रवार बिहानैदेखि पूर्वदेखि पश्चिमसम्मका तराई भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्यो। त्यस्तै पहाडी भूभागहरूमा पनि मौसम आंशिक बद्लिएको र पूर्ण रूपमा सफा नभएको मौसमविद् कँडेलले बताइन्। त्यैले जाडो बढेको उनको भनाइ छ। “आगामी केही दिनसम्म मौसमी अवस्था सामान्य देखिँदैन। यद्यपि जनजीवन नै प्रभावित हुने गरीदेशव्यापी वर्षा वा हिमपात चाहिँ हुँदैन।” उद्धार कार्य र मर्मत सम्भारका लागि तत्काल हिउँ पग्लिएर वा बाटो सुख्खा भएर वातावरण सहर्ष नबन्ने उनको तर्क छ।

“मौसम सफा हुँदा पनि न्यूनतम तापक्रम सधैँभन्दा बढी हुन्छ।त्यसैले चिसोबाट बच्न आवश्यक पूर्व तयारी गर्नु उचित हुन्छ,” मौसमविद् कँडेल भन्छिन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ। मौसमविद् शान्ति कँडेलका अनुसार आगामी केही दिनसम्म प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना देखिन्छ। तर अन्य स्थानहरूमा वर्षाको सम्भावना नरहेको बताइन्।

“मौसम चिसो नै रहन्छ र धेरैजसो आंशिक बदली हुने र कहिले काहीँ सामान्यतया बदलीको अवस्था पनि छ,” उनले भनिन्। अबको केही दिन तराई भूभागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने क्रम यथावत् रहने बताइएको छ। बिहान लागेको हुस्सु तथा कुहिरो हट्न समय लाग्ने र दिउँसोसम्मै रहने भनिएको छ।

तराईमा शीतलहर
हरेक वर्षजसो शीतलहरका कारण तराईमा जनजीवन प्रभावित हुने गरेको छ। तुसारो पनि फरक किसिमको हुने विज्ञ इन्दिरा कँडेलको भनाइ छ। कुनै तुसारो बिहान देखिन्छ र घाम लाग्दै गएपछि हराउँछ। केही भने दुई चार दिनसम्म रहन्छन्। यस वर्ष पनि चिसो बढ्दो छ तर शीतलहरबारे भने पूर्वानुमान कठिन भएको बताउँछिन् मौसमविद् शान्ति कँडेल। “शीतलहर कहिलेदेखि सुरु हुन्छ भन्न सकिने अवस्था छैन। तर अबको केही दिनसम्म तराई क्षेत्रमा चिसोका कारण जनजीवन प्रभावित नै रहन्छ। घाम एकदम कम लाग्छ,” उनले भनिन्।

नेपालमा मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्