तीन फरार प्रतिवादी पक्राउ – Janadesh Daily | ePaper

तीन फरार प्रतिवादी पक्राउ


कृष्ण न्यौपाने, 
दमौली । विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो ।
म्याग्दे गाउँपालिका–३ ठूलाचौर बस्ने ३१ वर्षीय सूर्य सुनार र व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने ३० वर्षीय रविन मगरलाई निजहरुको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
जिल्ला अदालतको विसं २०७२ भदौ २३ गतेको फैसलाले निजहरुविरुद्ध जनही एक वर्ष कैद र रु ३०० जरिवानाको फैसला गरेको थियो ।
निजहरुले गरेको पुनरावेदनले उक्त फैसलाउपर जनही छ महिना कैद र रु ३०० जरिवाना तोकिएको थियो । कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दुई जनालाई अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी शुक्लागण्डकी नगरपालिका–७ बस्ने नवीनलाल श्रेष्ठलाई निजकै घरबाट पक्राउ गरिएकोे छ । उनीविरुद्ध जिल्ला अदालतको विसं २०६८ वैशाख २१ गतेको फैसलाले एक महिना कैद र रु एक हजार जरिवानाको फैसला गरेको थियो । उनलाई पनि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ ।
गतअसार तेस्रो सातादेखि मात्रै जिल्लामा २३ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन् । सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसार लगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्