नेवारी क्वाटी पर्व : स्वस्थ्य भोजनमा नयाँपन – Janadesh Daily | ePaper

नेवारी क्वाटी पर्व : स्वस्थ्य भोजनमा नयाँपन


जनादेश दैनिक :

आज क्वाटी पर्व । नेवार समुदायको स्वास्थ्यसम्बन्धी नयाँ खोज र प्रचलनको दिन । क्वाटी पर्वमा विभिन्न प्रकारका गेडागुडी भिजाएर टुँसाउन थालेको बेला विभिन्न परिकार बनाएर खाइन्छ । यो प्रायः तातो झोल बनाएर खाने चलन छ । यो धार्मिक मान्यतामा आधारित छ । यसमा नौ थरीका गेडागुडीको मिश्रण गरी टुसा उमारेर प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाको रातमा खाने गरिन्छ । क्वाटी जनै पूर्णिमाको अर्को विशेषता पनि हो ।

असार पन्ध्रमा दही चिउरा, साउन पन्ध्रमा खीर भनेजस्तै जनै पूर्णिमाको दिन खाइने विशेष खान्की हो, क्वाटी । क्वाटीमा मास, मुँग, भटमास, चना, सीमी, बकुल्ला, बोडी, सानो केराउ, ठूलो केराउजस्ता गेडागुडी मिसाइन्छ । क्वाटीलाई भिजाएर अंकुराउन थालेपछि यसको झोल बनाएर खाने परम्परा छ । क्वाटी चार दिनअघिदेखि भिजाएर तयार पारिन्छ ।

यो पनि वर्षायामको खेती किसानीको बेला मनाइने पर्व हो । वर्षायाममा खेती किसानी गर्नेलाई श्रम तथा मेहनतका कारण बढी पौष्टिक आहार चाहिने भएकाले पनि क्वाटीको प्रचलन आएको अनसमान गर्न सकिन्छ । क्वाटीबाट पूर्ण प्रोटिन पाइने पोषणविदको भनाइ छ । यसलाई शक्तिवर्दक खान्कीको रुपमा लिइन्छ ।

क्वाटी क्वाटी रेसादार खानाको स्रोत भएकाले पनि यो खाँदा पेट सफा भई कब्जियत हुनबाट जोगाउँछ । बालबालिकाका लागि यो त अमृत समान नै हुन्छ । क्वाटीले मधुमेह, पायल्स जस्ता समस्या भएकाहरुलाई समेत फाइदा गर्ने वताइन्छ । क्वाटीमा भिटामिन ए, भिटामिन वि, भिटामिन सि, भिटामिन इ तथा खनिज पदार्थ पर्याप्त मात्रामा पाइन्छ ।

क्वाटीले रोगी, बालबालिका तथा बृद्धमा हुने कुपोषणबाट समेत बचाउँछ । टुसाएको गेडागुडीमा क्षरीय गुण बढी हुन्छ । त्यसैले क्वाटी खानाले एसिडिटी तथा मूत्रनलिको संक्रमण जस्ता समस्याबाट पनि छुटकारा मिल्छ । यसले पाचन शक्तिमा सुधार ल्याउँछ । गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरीरले लिने भएकाले यसले शक्ति र सौन्दर्य दुबै दिन्छ । क्वाटी खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्